आहा ! मनै लोभ्याउने पुनहिल

  • १० कार्तिक २०८२, आईतवार
  • 37 पटक पढिएको

गण्डकी । झिसमिसेमै नपुगे पुनहिलको यात्रा अधुरो हुन्छ । पुनहिल गएर सूर्योदय नहेरी के फर्कनु  । घोरेपानीमा रात काटेका आगन्तुकहरू सूर्योदय नियाल्न सखारै पुनहिलको उकालो लाग्छन् । पूर्वमा लाली चढ्दै गर्दा पुनहिल सेरोफेरो आगन्तुकले ढाकिइसकेको हुन्छ । सबै सूर्योदय नियाल्न व्यग्र देखिन्छन् ।

चराहरूको चिरबिरसँगै बिस्तारै हिमाल खुल्न थाल्छ । घामको पहिलो झुल्का हिउँचुचुरोमा पर्दाको दृश्यले मोहित तुल्याउँछ । छिनभरमै घामका कलिला किरण पुनहिलमा छाइसक्छन् । हिमालको काखबाट सूर्य उदाएको दृश्यले कसलाई पो नलोभ्याउला र सूर्योदयको मनप्रिय दृश्यलाई आँखादेखि क्यामेरासम्म कैद गर्नेहरूको तछाडमछाड देखिन्छ । विदेशीहरू आफ्नै देशको झण्डा ओडेर तस्बिर खिचिरहेका भेटिन्छन् भने नेपालीहरू चन्द्र-सूर्य अङ्कित झण्डासहित ।

पुनहिल पुग्दाको क्षणलाई कतिपयले आत्मिक र भावनात्मक रूपमा पनि तस्बिरमा कैद गरिरहेका हुन्छन् । यसरी पुनहिल प्रकृतिप्रेमीमाझ एक अनुपम छटाका रूपमा परिचित छ । सूर्योदयपखको पुनहिलले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘सुनको बिहान’को झझल्को दिलाउँछ ।

‘सुनको दिन एक उदाउँछ रे
यस देश खुलीकन आउँछ रे…१’

शरद र वसन्तयाममा पुनहिलको सौन्दर्य बिछट्टै खुल्छ । चैत–वैशाखतिर लालीगुराँसले राताम्मे देखिने घोरेपानी-पुनहिल क्षेत्र हिउँदमा हिउँसँग लुकामारी खेल्छ । न धेरै जाडो न गर्मी शरदयाममा पनि उसैगरी आगन्तुकलाई लोभ्याइरहेको हुन्छ घोरेपानी–पुनहिलले । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित यस गन्तव्यमा बर्सेनि हजारौँ देशीविदेशी पर्यटक पुग्ने गर्छन् । पर्यटकीय राजधानी सहर पोखरादेखि नजिक पर्ने भएकाले पहुँच र प्रवर्द्धनका हिसाबले पनि घोरेपानी–पुनहिल क्षेत्र अगाडि छ ।

यतिबेला मौसम खुलेको छ । दिन घमाइला छन् । चाडबाडको याम छ । यहीबेला मुख्य पर्यटकीय याम चलिरहेको छ । पर्यटकहरू कोही सडकमार्ग त कोही पदमार्ग भएर पुनहिल पुगिरहेका छन् । प्रकृतिको भव्यतामा रमाउने जोकोहीका लागि यो एक आकर्षक थलो हो । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोरेपानी–पुनहिल छोटो दूरीको पदयात्राका लागि बढी लोकप्रिय रहेको पर्यटक पथप्रदर्शक दिवस गुरूङले बताए।

उनका अनुसार तीनदेखि चार दिनसम्ममा घोरेपानी–पुनहिलको पदयात्रा गर्न सकिन्छ । सडकमार्ग पनि प्रयोग गरेमा दूरी अझै घट्ने गुरुङले बताए। हालै म्याग्दी र कास्कीतर्फबाट सडक मार्ग त्यस ठाउँमा जोडिएको छ । “कम खर्चमा छोटो अवधिको पदयात्राका लागि पुनहिल उत्कृष्ट गन्तव्य मानिन्छ”, उनले भने, “अहिले सडकले गर्दा कतिपय ठाउँमा पदमार्ग छोटिएको छ ।” सडक बनाउँदा परम्परागत पदमार्ग नासिँदै गएकाले पदयात्राको अवधि छोटिएको उनको भनाइ छ ।

शान्त तथा हरियाली वातावरण, हिमाली दृश्य, स्थानीय संस्कृति र जनजीवन, प्राकृतिक सम्पदा आदिले घोरेपानी–पुनहिलको शोभा बढाएको गुरूङले बताए । समुद्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा अवस्थित पुनहिल सूर्योदयसँगै हिमशृङ्खला अवलोकनका लागि पर्यटक आउने गरेको घोरेपानीका पर्यटन व्यवसायी जुली पुनले बताउनुभयो । “मुख्य याममा दिनमै चारपाँच सयसम्म विदेशी पर्यटक आउँछन्”, उनले भने, “पछिल्लो समय आन्तरिक पर्यटकको पनि रोजाइमा परेको छ, प्राय: यहाँ आउने पर्यटक पदयात्रा गर्न रूचाउँछन् ।”

यो याममा भने पर्यटक आगमनमा केही गिरावट आएको छ । अहिले दैनिक दुई सय जति विदेशी पर्यटक पुनहिल पुग्ने गरेका छन् । आन्तरिक पर्यटकको आउजाउ बिस्तारै बढ्दै छ । ‘जेनजी’ आन्दोलन, प्रतिकूल मौसम आदि कारणले गत वर्षको तुलनामा पर्यटक आगमन प्रभावित भएको हो । पुनहिल प्रवेश टिकट कक्षका अमृत पुनले अहिले दैनिक दुई सयको हाराहारीमा विदेशी पर्यटक आएको बताए । “कात्तिक महिना अझै बाँकी छ, पर्यटक बढ्ने आशा छ”, उनले भने, “मुख्यगरी असोज–कात्तिक र चैत–वैशाखमा यहाँ पर्यटकीय चहलपहल बढ्छ ।”

घोरेपानीका पर्यटन व्यवसायी डमबहादुर पुनले मुख्यगरी सूर्योदय, सूर्यास्त र हिमशृङ्खला अवलोकनका लागि पर्यटक पुनहिल आउने गरेको बताए । अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका उनले पुनहिलबाट एकैसाथ लमजुङदेखि गुर्जा हिमालसम्मको ‘पानोरमा भ्यू’ देख्न सकिने बताए । पुनहिलबाट विश्वका दश अग्ला हिमालमध्येमा पर्ने अन्नपूर्ण, धवलागिरि, मनास्लुलगायत दजनौँ हिमाल एकसाथ देख्न सकिने उनले जानकारी दिए । घोरेपानी–पुनहिलको प्रकृतिमय भूगोलले पनि पर्यटकलाई लोभ्याउने गरेको उनको भनाइ छ ।

घोरेपानी र पुनहिल क्षेत्र हरेक ऋतुकालमा भिन्न विशेषतामा खुल्ने गरेको छ । पहिलोपल्ट त्यहाँ पाइला राख्दा जोकोहीको मन फुरुङ्ग हुन्छ । सहरको कोलाहल र पट्यारलाग्दो दैनिकी छलेर पुनहिल पुग्नेले तनाव भुल्छन् । प्रकृतिमा नजर अडाउँछन् र मन शान्त पार्छन् । आँखैअघि दन्तलहरझैँ खुलेका हिउँचुचुरोका दृश्य चित्ताकर्षक लाग्छ । घोरेपानीबाट पुनहिल आधा घण्टाको पदयात्रामा पुगिन्छ ।

कुनैबेलाको ‘लुङटुङ’ डाँडा अहिले पुनहिलका रूपमा विश्व पर्यटन बजारमा स्थापित छ । चार दशकअघिसम्म उक्त क्षेत्र खिवाङ गाउँका किसानको चरन क्षेत्र थियो । भारतीय सेनाबाट सेवा निवृत्त स्वर्गीय मेजर टेकबहादुर पुनले पुनहिलको नामकरण गरेका थिए। त्यस क्षेत्रको पर्यटन विकासको जग हालेको श्रेय पनि पुनलाई दिइन्छ । उनको स्मृतिमा पुनहिलमा भ्यूटावर बनाइएको छ । मेजर टेकबहादुरले लुङटुङ डाँडालाई पुनहिलको नामले चिनाएकै कारण यसको पहिचान देशविदेशमा फैलिएको र पर्यटकीय गतिविधि सुरु भएको घोरेपानीका पर्यटन व्यवसायी बताउँछन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा समेटिएपछि यस क्षेत्रको बारेमा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार भएको थियो । यस क्षेत्रमा वार्षिक ३० हजारको हाराहारीमा विदेशी पर्यटक भित्रिने गरेका गरेका छन् । पुनहिल भ्रमण गर्ने पर्यटकबाट प्रवेश शुल्क उठाउन र चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आवमा रु ५४ लाखमा ठेक्का सम्झौता गरेको छ । विदेशीले प्रतिव्यक्ति रु एक सय ५० र नेपालीले रु ५० का दरले प्रवेश शुल्क तिर्नुपर्छ । घारेपानीमा हाल दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्ने क्षमताका २३ वटा सुविधासम्पन्न होटलहरु छन् ।

समुन्द्री सतहदेखि दुई हजार ८१० मिटर उचाइमा पहाडको टाकुरामा अवस्थित घोरेपानीका अधिकांश होटलका कोठाबाटै हिमाल देख्न पाउनु अर्को विशेषता हो । कास्कीको नयाँपुलबाट उल्लेरी हुँदै पुनहिल आउने पदमार्ग बढी प्रचलित छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पोखरेबगरबाट पनि त्यहाँ पुग्न सकिन्छ । अधिकांश पर्यटक पुनहिलबाट टाडापानी, घान्द्रुक, नयाँपुल हुँदै पोखरा फर्कने गर्छन् । कतिपय म्याग्दीको पोखरेबगर हुँदै भुरुङ तातोपानी पुग्छन् । त्यो मार्गबाट मुस्ताङतर्फको यात्रा पनि तय गर्न सकिन्छ ।

पर्यटक पथप्रदर्शक गुरुङका अनुसार पुनहिलबाट मोहरे, कोखेडाँडा हुँदै उल्लेरी निस्केर नयाँपुल फर्कने र पर्वततर्फ जाने अर्को पदमार्ग पनि छ । पुनहिलबाट स्वातँ हुँदै म्याग्दीको अर्को पर्यटकीयस्थल खोप्रा लेक जाने अर्को पदमार्ग पनि सञ्चालनमा छ । पर्यटकीय नगरी पोखरादेखि नयाँपुल हुँदै एकैदिनमा घोरेपानी पुग्न सकिन्छ । कास्कीको घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी र मोहरेडाडाँ भएर पनि घोरेपानी पुग्न सकिन्छ । कास्कीको वीरेठाँटी–उल्लेरी–घोरेपानी, नयाँपुल–घान्द्रुक–घोडेपानी, म्याग्दीको नागी–महरे–फूलबारी–घोरेपानी र तातोपानी–घार–शिख हुँदै घोरेपानी पुग्न सकिने गरी पदमार्गहरु सञ्चालनमा छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुँदै घार, शिख हुँदै सडकको प्रयोग गरेर पनि घारेपानी पुग्न सकिन्छ । नयाँपुलदेखि वीरेठाँटी, उल्लेरी हुँदै घारेपानीसम्मै पदयात्रा पनि गर्न सकिन्छ ।

घोरेपानी–पुनहिललगायत अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने गन्तव्यस्थल प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृतिलगायत कारणले पर्यटकको रोजाइमा पर्ने गरेका छन् । पर्यटकले कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायतका मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्छन् । सडक मार्ग हुँदै पनि यस क्षेत्रका विभिन्न गन्तव्यस्थलमा पुग्न सकिन्छ । रासस