वन्यजन्तुलाई खानेपानी सहज बनाउन जङ्गलभित्र पोखरी निर्माण

  • २८ बैशाख २०८०, बिहीबार
  • 579 पटक पढिएको

म्याग्दी,२८ वैशाख । वन्यजन्तु र चराचुरुङ्गीहरुलाई पिउने पानीको व्यवस्थापन गर्नका लागि म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालयले दुई आर्थिक वर्षमा गरेर १६ वटा पोखरी निर्माण गरेको हो । पोखरी निर्माण भएपछि वनजङ्गलका जनावर र चराचुरुङ्गीहरुका लागि पानी खान सहज हुने विश्वास गरिएको छ । साथै पोखरी निर्माण भएपछि जङ्गलमा लागेको आगलागी नियन्त्रणमा समेत सहयोग पुगेको छ ।

अघिल्लो आर्थिक वर्षमा १० र चालु आर्थिक वर्षमा छ गरी १६ वटा सामुदायिक वनमा वन्यजन्तुका लागि जङ्गलभित्र पोखरी निर्माण गरिएको सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्माण गरिएको पोखरीहरुमा नजिकमा रहेको पानीको स्रोतबाट पानी ल्याएर पोखरी भरिएको छ । वनजङ्गलमा रहेका वन्यजन्तुहरु पानीको खोजीमा मानव वस्तीमा नआउन भनेर जङ्गलभित्र पोखरी निर्माण गरिएको अधिकृत क्षेत्रीले बताउनुभयो ।

‘‘पानीको खोजीमा वन्यजन्तुहरु मानव वस्तीमा आउनेक्रम वढेका कारण जङ्गल भित्र पोखरी निर्माण योजना अगाडि बढाएका हौं,’’ सहायक वन अधिकृत क्षेत्रीले भन्नुभो, ‘‘वन्यजन्तुले सहज रुपमा पानी पिउन सक्ने गरी पोखरी निर्माण भएका छन् ।’’

पोखरी निर्माणका लागि छनौट भएका सामुदायिक वन उपभोक्ता समितिहरुलाई प्रतिपोखरी एक लाखका दरले बजेट उपलब्ध गराएको उहाँले बताउनुभयो ।

वन कार्यालयका अनुसार यसवर्ष बेनी नगरपालिका–७ को बराहपाखो, धवलागिरी–७ को भगवति महिला, अन्नपूर्ण–८ को घुमाउने कोखे, मंगलाको खुम्लीय, मालिका–६ को दह र रघुगंगा–१ को बाँदुक भुमेबराह सामुदायिक वनमा पोखरी निर्माण गरिएको वन कार्यालयले जानकारी दिएको छ ।

पोखरी निर्माणले जैविक विविधता संरक्षण, जलवायु अनुकुलन तथा वनजन्तु मानव वस्तीमा प्रवेश कमी हुने विश्वास गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत मनोज रानाभाटले बताउनुभयो । जङ्गलभित्र रहेका पानी पोखरीले वनक्षेत्रमा लागेको डढेलो नियन्त्रणमा समेत उपयोगी हुने उहाँको विश्वास छ ।