हाटबजारमा देखिन छाडे तरकारी, भेटिन थाले भैसीँ

  • १५ श्रावण २०७४, आईतवार
  • सन्तोष गौतम
  • 3578 पटक पढिएको

 

म्याग्दी,१५ साउन । म्याग्दीको सदरमुकाम बेनीबजारमा रहेकोे कृषि उपज स्थल बेवारीसे बनेको छ । साप्ताहीक हाटबजार सञ्चालन हुन छाडेपछि कृषकको सुबिधाका लागि निर्माण भएको पूर्वाधारको दुरुपयोग भएको छ ।

कृषी उपजको खरिद बिक्री गर्ने ठाउँ पशु गोठमा परिणत भएको छ । कृषि बजार स्थलको टहरामा मासु ब्यवसायीले भैसी बाँध्न थालेका हुन् । बेनीको बहुउद्देश्यीय मैदानमा वि.स २०६७ देखि सञ्चालन हुदै आएको साप्ताहीक हाटबजारले निरन्तरता पाउन छाडेपछि लाखौ लगानीमा निर्माण भएका पूर्वाधार अलपत्र परेको हो । कृषकहरुले उचित मूल्य नपाउने र उपभोक्ताले महँगोमा खरिद गर्नुपर्ने समस्या भएपनि हाटबजार र संकलन केन्द्र प्रयोगमा ल्याउन सरोकारवालाको ध्यान पुगेको छैन् । बजार स्थल परिसर झाडीले भरीएको छ भने हिलो र ढलले दुर्गन्धीत बनेको छ ।

कृषक र उपभोक्ता जागरुक नहुनु, सरोकारवालाको बेवास्ता, कमजोर व्यवस्थापन, ब्यवसायीको असहयोग, फोहोर र ढल व्यवस्थापन नहुँदा हाटबजार अलपत्र परेको हो । बेनी र असापासका क्षेत्रका कृषकले उत्पादन गरेको तरकारी, फलफुल, पशुजन्य बस्तुको बजारीकरण गर्ने तथा उपभोक्ताहरुले उत्पादक बाटै सिधै खरिद गर्न पाउने सुबिधाका लागि प्रत्येक शनिबार हाटबजार सञ्चालन हुदै आएको थियो ।

सुरुवातका केही समय राम्रोसंग सञ्चालन भएको हाटबजारमा पछिल्लो समय पूर्वाधार थपिएपनि व्यवस्थित र नियमित रुपमा सञ्चालन हुन सकेको छैन् । ब्यवस्थापकीय कमजोरीका कारण हाटबजार सञ्चालन हुन छाडेपछि भैसीको भकारो बन्न पुगेको बेनी बजारको ईन्द्रेणीटोलका राजु राम्जालीले बताउनुभयो ।

“कृषि उपजको खरिद बिक्री गर्न बनाइएको ठाउँ भैसी गोठमा परिणत हुँदा समेत कसैले वास्ता गरेका छैनन्” राम्जालीले भन्नुभयो “हाटबजार सञ्चालन भएमा कृषक र उपभोक्तालाई धेरै राहत मिल्ने थियो ।” तरकारीमा बिचौलीयाको प्रभाव कम गर्ने हाटबजार सञ्चालन गर्नुको प्रमुख उद्देश्य थियो ।

कृषकले महत्व बुझ्न नसक्नु हाटबजार सञ्चालन हुन नसक्नुको प्रमुख कारण भएको म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुबिरकुमार श्रेष्ठले बताउनुभयो । “हाटबजार सञ्चालन गर्न कृषि कार्यालयले पहल, कृषक सचेत र उद्योग वाणिज्य संघले सहयोग गर्नुपर्छ” श्रेष्ठले भन्नुभयो “लाखौ लगानीमा निर्माण भएका पूर्वाधार प्रयोगमा ल्याएर कृषक र उपभोक्तालाई सुबिधा दिनु सबैको दायीत्व हो ।”

हाटबजार टहरा र कृषि उपज संकलन केन्द्र निर्माणका लागि कृषि विकास कार्यालयले वि.स २०६५ देखि ७१ सम्म १९ लाख रुपैया लगानी गरेको छ । गैरसरकारी संस्था सहमती, लघुउद्यम विकास कार्यक्रम, धौलागिरी सामुदायीक स्रोत विकास केन्द्र (डिसीआरडिसी)ले दुईदुई लाख र तत्कालीन जिल्ला विकास समितिले एक लाख पचास हजार रुपैया पूर्वाधार निर्माणमा सहयोग गरेका थिए ।

संकलन केन्द्रको पूर्वाधार अपुग भएपछि छुट्टै टहरा बनाइएको थियो । कृषकले सामान ल्याउन छाड्नु, शनिबार बजारका पसल खुल्नु, उपभोक्ता सचेत र कृषक जागरुक नहुनु, बिक्री नभएको सामानको व्यवस्थापन गर्न नसक्नु, नजिकै फालीने फोहोर र ढलको दुर्गन्धका कारण हाटबजार सञ्चालनमा समस्या भएको सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

“आफै तरकारी खेती र पसल सञ्चालन गरेका हामी केही कृषकले हाटबजार धानेका थियौ” कार्कीले भन्नुभयो “स्थानीय तहको चुनावले ब्यापार हुन छाड्यो । अहिले बर्खा भएकाले सञ्चालन गर्न सकेका छैनौ । असोज लागेपछि सञ्चालन गर्ने योजना छ ।” हाटबजारमा कृषक भन्दा ब्यापारी हावी हुदै गएपछी समस्या भएको हो ।

सुरुमा हाटबजारमा राम्रो ब्यापार हुने गरेको थियो । धेरै बजारबासी सामान किन्न हाटबजारमा पुग्ने गरेका थिए । कृषकले तरकारी, च्याउ, टुसा देखि खसी कुखुरा बेच्न हाटबजार आउँथे । हाटमा चहलपहल बढेपछि बजारका तरकारी तथा फलफूल ब्यवसायीले कृषकलाई असहयोग गरे । हाटमा बेच्ने कृषकको सामान ब्यापारीले किन्नै छाडे । कृषकहरुले दिनभरी हाटमा सामान बेच्न ग्राहक कुरेर बस्न पाउने समय भएन् । उनिहरुले अन्तत् ब्यापारीलाईनै सामान जिम्मा लगाउन बाध्य भए् ।

हाटमा कृषि उपजको मात्र नभएर फेन्सी, खाद्यान्नको पनी ब्यापार हुन थाल्यो । पसल र हाट एउटै भयो । बजारका ब्यापारीले बिरोध र उद्योग वाणिज्य संघलाई दवाव दिए । शनिबार बजारका पसल बन्द गर्ने संघको नियम कडाईका साथ कार्यान्वयन हुन सकेन् । अन्तत् हाटको प्रभावकारीता घट्यो र बन्द हुन पुगेको सरोकारवालाको भनाई छ । भैसी बाँध्ने मासु ब्यवसायीलाई हटाउन अनुरोध गरेपनी अटेर गरेको अध्यक्ष कार्कीले गुनासो गर्नुभयो ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिबनबहादुर विश्वकर्माले उद्देश्य अनुसार सञ्चालन हुन नसक्दा हाटबजार प्रभावकारी बन्न नसकेको बताउनुभयो । “कृषक र उपभोक्ताको सुबिधाका लागि जसरी हाटबजार खुल्यो त्यसरी सञ्चालन हुन सकेन्” अध्यक्ष विश्वकर्माले भन्नुभयो “तरकारी, फलफुल भन्दा फेन्सी र खाद्यान्नको ब्यापार हावी भयो । बजार र हाटमा सामान किन्दा कुनै फरक नहुने अवस्था आएपछि प्रभावकारी भएन् ।”

सरोकारवालाले अनुगमन, कृषकले हाटको महत्व बुझ्न र सञ्चालकले सरसफाईमा ध्यान दिनुपर्ने अध्यक्ष विश्वकर्माले बताउनुभयो । जिल्ला कृषि विकास कार्यालयका बागबानि विकास अधिकृत भोजबहादुर थापाले कृषक, उपभोक्ता, ब्यापारी र उद्योग वाणिज्य संघबीच समन्वय गरेर हाटबजार सञ्चालन गर्न पहल गर्ने बताउनुभयो ।

तरकारी बल्क आयोजना मार्फत हालै खरिद भएको गाडी मार्फत कृषकको घरदैलोमै पुगेर कृषि उपज ढुवानी गर्न सकिने भएकाले हाटबजार सञ्चालनका लागि समन्वय गर्ने थापाले बताउनुभयो ।

बेनी नगरपालीकाले हालै आयोजना गरेको सार्वजनीक सुनुवाई कार्यक्रममा नगर प्रमुख हरिकुमार श्रेष्ठले हाटबजारलाई व्यवस्थित रुपमा सञ्चालन र नजिकैको बधस्थल स्थानान्तर गर्न पहल गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

बेनीको मात्र नभएर बाबियाचौर, भुरुङ तातोपानी, घार, हिस्तानको महभिर, सिंगा तातोपानीमा रहेको कृषि उपज संकलन केन्द्रका पूर्वाधार उपयोगमा आउन सकेको छैन् । स्थानीय तहमा निर्वाचनी जनप्रतिनीधी र सरोकारवालाहरुले कृषि पूर्वाधारको उपयोग र संरक्षणमा प्राथमिकता दिनुपर्ने देखिन्छ ।

 

सन्तोष गौतम