रघुगंगा गाउँपालिकाद्वारा प्रहरी चौकीहरुलाई विपद् व्यवस्थापन सामाग्री हस्तान्तरण

  • ५ जेष्ठ २०८३, मंगलवार
  • 7 पटक पढिएको

म्याग्दी, ५ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाले प्रहरी चौकीहरुलाई विपद् व्यवस्थापन तथा उद्धारको क्रममा प्रयोग हुने सामाग्री प्रदान गरेको छ । गाउँपालिकामा रहेका पाँच वटा प्रहरी चौकीलाई रु ३ लाख बराबरको विपद् व्यवस्थापन तथा उद्धारको क्रममा उपयोग हुने सामाग्री प्रदान गरिएको हो ।
मौवाफाँट, पाखापानी, चिमखोला, भगवती र तिप्ल्याङ प्रहरी चौकीमा कार्यरत प्रहरीहरुले विपद्को समयमा उपयोग गर्ने गरी चेन्सा मेसिन, फायर एक्ससेन्टर, डोरी, झाेला, रेनसेट, गमबुट, ग्लोब्भस, सेफ्टी हेलमेट, लाइफ ज्याकेटलगायतका सामाग्री उपलब्ध गराईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो ।


गाउँपालिकाको केन्द्र मौवाफाँटमा मंगलवार आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत पौडेलले प्रहरी चौकीका इन्चार्जहरुलाई विपद् व्यव्स्थापनका सामाग्री हस्तान्तरण गर्नुभएको थियो । सामाग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष भण्डारीले नागरिकको सुरक्षाका लागि विपद्को समयमा सुरक्षा निकायलाई उपयोगी हुने सामाग्रीहरु प्रदान गरिएको बताउनुभयो ।


विपद्को समयमा नागरिकको सुरक्षामा खटिने प्रहरीलाई आबश्यक स्रोत र साधनयुक्त बनाउने उदेश्यले गाउँपालिकाले विगतदेखि नै पालिका मातहतका प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयलाई सहयोग गर्दै आएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । रघुगंगा गाउँपालिकाले गत बर्ष पालिकाभित्रका प्रहरी चौकीहरुलाई बेल्चा, गैँची, गल, हाते आरी,हसिया,बन्चरोलगायतका विपद् व्यवस्थापन सामाग्री उपलब्ध गराएको गाउँपालिकाका विपद् व्यवस्थापन शाखाका फोकल पर्शन दयाराम पौडेलले जानकारी दिनुभयो ।
यस बर्ष प्रहरीले नागरिकको घरदैलोमा टाँस गर्ने सुरक्षा सन्देशमुलक स्टिगर छपाईमा समेत गाउँपालिकाले सहयोग गरेको थियो । गाउँपालिकाले आफ्नै भवन नभएका पाखापनी र तिप्ल्याङ प्रहरी चौकीको घरभाडा समेत तिर्दै आएको छ ।