रघुगंगा गाउँपालिकामा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार

  • ६ जेष्ठ २०८३, बुधबार
  • 17 पटक पढिएको

म्याग्दी ६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाले स्थानयि पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार गरेको छ । चालु शैक्षिक सत्रदेखि कक्षा १ देखि ३ सम्म पठनपाठन हुने गरी गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक ‘हाम्रो रघुगंगा’ तयार गरेको हो । गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक तयारका लागि जनता मावि दग्नामका प्रधानध्यापक गुन पुनको नेतृत्वमा गठन गरेको शिक्षकहरु सम्मीलित कार्यदलले पुस्तक तयार गरी प्रकाशन गरेका हुन् ।


१०० पूर्णाङ्कको पठनपाठन हुने गरी स्थानीय पाठ्यपुस्तकको रुपमा पालिकाभित्रका ३३ सामुदायिक र १ संस्थागत विद्यालयमा अध्ययन गर्ने कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुलाई उक्त पुस्तक पठनपाठन गराइने गाउँपालिकाका शिक्षा शाखा प्रमुख नहेन्द्र आचार्यले जानकारी दिनुभयो । उक्त पाठ्यपुस्तकको बुधवार एक कार्यक्रमका बिच बिमोचन गरिएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेल, शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख विदुर चापागाईले पुस्तक विमोचन गर्नुभएको थियो ।


विद्यालय तहका बालबालिकाहरुलाई पालिकाभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, कला, स्थानीय सीप र प्रविधि, कृषि, पुशपालन लगायतको बारेमा जानकारी गराउन स्थानीय पाठ्यपुस्तकले सहयोग पुग्ने गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँले पालिकाले छिटै कक्षा ४ र ५ को समेत पाठ्यपुस्तक तयार गर्ने जानकारी दिनुभयो । स्थानीय पाठ्यपुस्तकले विद्यार्थीलाई आफ्नै पालिकाको समग्र चिनारी गराउने जनाइको छ।


पुस्तक निर्माण कार्यदलका संयोजक गुन पुनले पालिकाका सबै बस्तीमा पुगेर आबश्यक विवरण तथा तस्बिर र सुझाब संकलन गरी पालिकाको चिनारी हुने गरी पाठ्यपुस्तक तयार गरिएको बताउनुभयो । पुस्तक विमोचन गर्ने कार्यक्रममा पुस्तक निर्माण तथा लेखन कार्यदलका संयोजक गुन पुन, सदस्यहरु अर्जुन पौडेल, भगवान बहादुर खत्री, बिजय शर्मा, कुसुम पुर्जा, भाषा सम्पादन गर्ने दुर्गादक्त रिजाल, रामचन्द सुवेदी, तस्बिर संकलन गर्ने कमल खत्री, याम घर्तिमिरे र राजन बानियाँलाई प्रसंसापत्रद्धारा सम्मान गरिएको थियो ।