मगर खाम भाषा पठनपाठन गराउन प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
- ३ जेष्ठ २०८३, आईतवार
- 163 पटक पढिएको
म्याग्दी ३ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा मगर खाम भाषाको पठनपाठनको तयारी गरिएको छ । मगर समुदायको बाहुल्यता रहेका विभिन्न १५ वटा विद्यालयमा यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम अन्तर्गत मगर खाम भाषाको पाठ्यपुस्तक पठनपाठन सुचारु गराउने तयारी गरिएको हो ।
मगर खाम भाषा पठनपाठन गराउनका लागि नेपाल पुन मगर समाज रघुगंगा गाउँपालिका समितिले एक साता लामो प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ ।
रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा कक्षा १ को मगर खाम भाषा किताब समेत प्रकाशन गरेको समाजले विद्यालयमा खाम भाषामा पठनपाठन गराउने जनशक्ति तयार गर्न प्रशिक्षक प्रशिक्षण तालिम दिएको पुन मगर समाज रघुगंगाका अध्यक्ष टिका पुर्जा पुन मगरले जानकारी दिनुभयो ।

तालिममा १५ विद्यालयका शिक्षकहरुको सहभागीता रहेको थियो भने मगर भाषा विज्ञ कर्णबहादुर बुढा मगरले खाम भाषा सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । सयौँ बर्षदेखि हराएर जाने अवस्थामा पुगेको मगर खाम भाषाको संरक्षण, पुनरुत्थान र अन्तरपुस्ता हस्तान्तरणको लागि विद्यालयका शिक्षकहरुलाई प्रशिक्षकको रुपमा तयार गर्न तालिम फलदायी भएको रघुगंगा गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी पुनले बताउनुभयो ।

नेपाल एकिकरणको समयदेखि तत्कालिन रिडीखोला÷कालीगण्डकी नदीदेखि पूर्वका १२ र पश्चिमका १८ मगर राज्यहरुको अस्तित्व मेटिएसंगै मगर खाम भाषा र लिपीको समेत इतिहास मेटिदै गएको मगर समुदायका जानकारहरु बताउँछन् ।