भकिम्लीमा पशुपालक कृषकको घरदैलोमै पुगेर औषधि उपचार
- ३ जेष्ठ २०८३, आईतवार
- 1 पटक पढिएको
म्याग्दी, ३ जेठ । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा पशुपालन गर्ने कृषकहरुको घरदैलोमा पुगेर पशुपंक्षीहरुको उपचार गरिएको छ । सदरमुकाम बेनीबाट भौगोलिक रुपमा टाढाको दुरीमा पर्ने भकिम्लीमा निःशूल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सञ्चालन गरेर नगरपालिकाले घरदैलोमै पशुपंक्षीहरुको उपचार गरेको हो ।
आइतवार आयोजित शिविरमा ७७ जना कृषकहरुको करिब ३ हजार पाँच सय पशुपंक्षीहरुको लागि औषधि वितरण गरिएको नगरपालिकाका सहायक पशु चिकित्सक प्रदिप गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार, शिविरमा गाई, भैँसी, बाख्रा, कुखुरालगायतको लागि औषधि वितरणका साथै घरदैलो गरी पशुपंक्षीहरुको स्वास्थ्य चेकजाँच तथा उपचार समेत गरिएको छ ।
शिविरमा नगरपालिकाका पशु चिकित्सक डाक्टर सुदिप पौडेल, सहायक पशु चिकित्सक गौतम, प्राविधिक सूर्यलाल नेपाली, हरिकृष्ण पौडेल, महित मल्लिक सहित प्रशिक्षार्थी प्राविधिक करुणा पुन र भूमिका पुनले पशुपंक्षीको उपचार तथा कृषकहरुलाई औषधी वितरण गर्नुभएको थियो ।
ग्रामीण भेगमा पशुपालन गर्ने कृषकहरुलाई घरदैलोमा औषधी उपचार सेवा दिन शिविर सञ्चालन गरी सेवा प्रदान गरिएको नगरपालिकाका पशु चिकित्सक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, शिविरमा कृषकहरुलाई पशुपालनको सम्बन्धमा प्राविधिक परामर्श समेत प्रदान गरिएको छ ।
शिविरमा आन्तरिक तथा बाह्य परजिवी नियन्त्रण तथा बाँझोपन निवारणको औषधी वितरण गर्नुका साथै पाचक, क्याल्सियम, मिनरललगायतका औषधीहरु वितरण गरिएको थियो । शिविरको क्रममा भकिम्लीका विभिन्न टोल बस्तीमा पशु प्राविधिकहरुको टोलीद्धारा घरदैलो गरी पशुहरुको स्वास्थ्य उपचार, गर्भ परिक्षण, गाइभैँसीको पेटमा किल्लाकाँटीको परिक्षणका साथै गाइ भैँसी र बाख्राहरुमा जुम्रा, किर्ना, उपियाँ, लुतो लगायतको समस्याको समेत औषधी उपचार गरिएको थियो ।
भकिम्लीमा व्यावसायिक रुपमा बाख्रा, कुखुरा, गाइभैँसी पालन हुँदै आएको छ । नयाँ कृषकहरु प्राविधिक ज्ञान नहुँदा पशुपंक्षीहरुको स्वास्थ्य उपचारमा अनविज्ञ भएको अवस्थामा शिविरबाट पशुपंक्षीहरुको औषधी उपचार संगै प्राविधिक परामर्श सेवाबाट लाभान्वित बनेको वडा अध्यक्ष पदमबहादुर पुनले बताउनुभयो । बेनी नगरपालिकाले पशु सेवा शाखा मार्फत वडा तहमा पशु स्वास्थ्य शिविर सञ्चालन गरेर पशुपालक कृषकहरुको समस्यामा सहजीकरण गर्दै आएको छ । नगरपालिकाले पशुपालन गर्ने कृषकहरुलाई उत्पादनमा आधारित नगद अनुदान समेत वितरण गर्दै आएको छ ।
