जलजला क्षेत्रको दिगो पर्यटन विकासका लागि ‘जलजला घोषणापत्र जारी

  • ११ जेष्ठ २०८३, सोमबार
  • 3 पटक पढिएको

म्याग्दी, ११ जेठ । म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका – २ मा पर्ने पर्यटकीय गन्तव्य जलजलाको दिगो पर्यटन विकास, पर्यावरण संरक्षण तथा बृहत्तर पूर्वाधार विस्तारका लागि ‘जलजला घोषणापत्र’ जारी गरिएको छ । धवलागिरी गाउँपालिकाले आयोजना गरेको दुई दिने पर्यटन प्रवद्र्धन अन्तक्र्रिया कार्यक्रमबाट सात बुँदे जलजला घोषणा पत्र जारी गरिएको हो ।


पर्यावरणमैत्री पर्यटन (इको–टुरिजम) मार्फत स्थानीय नागरिकको जीवनस्तर उकास्दै जलजलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित घोषणापत्र सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष प्रेम पुनले जानकारी दिनुभयो । उहाँका अनुसार घोषणा पत्रमा ढोरपाटन शिकार आरक्षसंग जोडिएको जलजलाको एकिकृत विकास र प्रवद्र्धनका लागि सरोकारवालाहरुको समर्थन र सहयोग जुटाउन घोषणापत्र मार्फत प्राथमिकता निर्धारण गरिएको छ ।


प्रदेश सांसद, म्याग्दी तथा छिमेकी जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख, विषयगत कार्यालयका प्रमुख, जनप्रतिनिधि, पत्रकार, पर्यटन व्यवसायी र स्थानीय सरोकारवालाको सहभागितामा सम्पन्न अन्तरक्रिया तथा स्थलगत अवलोकन कार्यक्रमपछि उक्त घोषणापत्र सार्वजनिक गरिएको छ। घोषणापत्रमा जलजला क्षेत्रको दिगो विकासका लागि पूर्वाधार विस्तार, ढोरपाटन शिकार आरक्षसँग पर्यटन आवद्धता, जैविक विविधता संरक्षण, एकीकृत पर्यटन सर्किट निर्माण, स्थानीय अर्थतन्त्र प्रवद्र्धन, डिजिटल ब्रान्डिङ तथा बजेट व्यवस्थापनलगायत विषय समेटिएका छन् ।


घोषणापत्रअनुसार बेनी–दरबाङ–मुना–जलजला–ढोरपाटन–तक्सेरा सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने गरी स्तरोन्नति गर्न पहल गरिने भएको छ । साथै पर्यटक सूचना केन्द्र स्थापना तथा पर्यटन पूर्वाधार निर्माणमा जोड दिइने उल्लेख गरिएको छ । जलजलालाई ढोरपाटन शिकार आरक्षको प्रवेशद्वारका रूपमा विकास गर्दै शिकार आरक्ष र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसंग समन्वय गरी संयुक्त पर्यटन प्याकेज सञ्चालन गर्ने तथा ‘जलजला–ढोरपाटन सर्किट ट्रेक’ विकास गरी पर्यटकको बसाइ अवधि लम्ब्याउने नीति लिइने जनाइएको छ ।


घोषणापत्रमा लालीगुराँस, चिहमालको वन, जडीबुटी तथा रेड पाण्डा, डाँफेजस्ता दुर्लभ वन्यजन्तुको संरक्षणलाई प्राथमिकता दिइएको छ । साथै जलजला क्षेत्रलाई ‘शून्य प्लास्टिक तथा वातावरणमैत्री क्षेत्र’ घोषणा गर्न पहल गरिने उल्लेख गरिएको छ । त्यसैगरी म्याग्दी, बागलुङ र रुकुम पूर्वका स्थानीय तहबीच समन्वय गरी ‘धौलागिरी हिमाल आधारशिविर–गुर्जा–जलजला–ढोरपाटन–तक्सेरा’ समेटिएको बृहत्त पश्चिम नेपाल पर्यटन सर्किट निर्माण गर्ने लक्ष्य राखिएको छ । स्थानीय कला, संस्कृति, सामुदायिक होमस्टे, कृषि उत्पादन, भेडापालन, हस्तकला तथा अर्गानिक उत्पादनलाई पर्यटनसँग जोडेर प्रवद्र्धन गरिने जनाइएको छ । साथै मोबाइल नेटवर्क र इन्टरनेट सेवा विस्तार गरी ‘चिनौं जलजला, घुमौं जलजला’ डिजिटल अभियान सञ्चालन गरिने घोषणापत्रमा उल्लेख छ ।


जलजला क्षेत्रको एकीकृत पर्यटन गुरुयोजना निर्माण गरी संघीय तथा प्रदेश सरकारबाट विशेष बजेट विनियोजन गराउन पहल गर्ने प्रतिबद्धता समेत घोषणापत्रमा व्यक्त गरिएको छ । समुद्री सतहदेखि तीन हजार ४१८ मिटर उचाइमा रहेको जलजलाबाट गुर्जा, धवलागिरि, चुरेन, पुथा, अन्नपूर्ण हिमालका दृष्य अवलोकन गर्न सकिन्छ ।
पर्यटन प्रवद्र्धन कार्यक्रमलाइ सम्बोधन गर्दै गण्डकी प्रदेश सभा सदस्य एंव पूर्वमन्त्री रेशम जुग्जालीले गुर्जा, जलजला र ढोरपाटनलाई जोडेर ‘ग्रेटर ढोरपाटन’को अवधारणामा यस क्षेत्रको पर्यटन पूर्वाधार निर्माण, प्रचार प्रचार र प्रवद्र्धन अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले राज्यले विकासका आधारभूत पूर्वाधार बनाउने र नीजि क्षेत्रले होटललगायतका सुविधा विस्तार गरेमा पर्यटन क्षेत्रमा विकास हुने धारणा राख्नुभयो ।


कार्यक्रममा प्रदेश सभा सदस्य हरिबहादुर भण्डारीले जलजला क्षेत्रलाई पर्यटन, कृषि र पशुपालनको हबको रुपमा विकास गनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका कार्यबहाक प्रमुख डिलकुमारी खत्री, निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ति, तमानखोला गाउँपालिकाका उपाध्यक्ष हिराकुमारी छन्त्याल, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी क्षेत्री, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा जलजला क्षेत्रको पर्यटन प्रचार प्रसारमा योगदान दिएको भन्दै नेपाल पत्रकार महासंघ म्याग्दी, पत्रकार सन्तोष गौतम, मोटो भलगर विविदजंग थापा, कन्टेन्ट क्रियटर सपना रोका मगर, सन्दिप शर्मा र सिर्जना सिर्जुलाई सम्मान गरिएको थियो । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरको स्वागत र पत्रकार अमित विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।