निर्वाचन प्रकृयामार्फत छानियो विद्यालयमा क्याप्टेन

  • ८ जेष्ठ २०८३, शुक्रबार
  • 5 पटक पढिएको

म्याग्दी, ८ जेठ । म्याग्दीको मालिका गाउँपालिका–१ मा रहेको निस्कोट माध्यमिक विद्यालयमा निर्वाचन प्रकृया मार्फत विद्यार्थीहरुको क्याप्टेन र उप क्याप्टेन चुनिएको छ । शुक्रवार विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले चालु शैक्षिक सत्रका लागि आफ्नो क्याप्टेन र उप क्याप्टेन मतदानबाट चुनेका हुन् । निर्वाचनबाट क्याप्टेनमा देवश पुन र उप क्याप्टेनमा श्रृष्टी पुन निर्वाचित हुनुभएको विद्यालयका शिक्षक नविन पुनले जानकारी दिनुभयो । क्याप्टेन र उप क्याप्टेनमा ५/५ जनाको उम्मेदवारी परेपछि उनीहरुलाई चुनाब चिन्ह प्रदान गरी मतदान प्रकृया मार्फत बिजेता घोषणा गरिएको उहाँले बताउनुभयो ।

क्याप्टेनले ३० र उप क्याप्टेनले ३६ मत ल्याएर बिजेता बन्नुभएको हो । मतदानमा विद्यालयका ११४ जना विद्यार्थीहरुले भाग लिएका थिए । कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरुले मतदानमा सहभागी भएका थिए । मतदानका लागि विद्यालयका सहायक प्रअ बिरबहादुर खड्का निर्वाचन अधिकृत र अन्य शिक्षकहरु निर्वाचन कर्मचारीको रुपमा कटिनुभएको थियो भने विद्यार्थीहरु नै निर्वाचन प्रहरीको रुपमा परिचालन गरिएको थियो ।

एक दिन अघि नै मनोनयन दर्ता गरी उम्मेदवारहरुलाई चुनाब चिन्ह प्रदान गरी सबै कक्षाकोठामा पुगेर आफुलाई मतदानका लागि अपिल गर्ने समय समेत उपलब्ध गराईएको थियो । विद्यार्थीहरुलाई निर्वाचन प्रकृयाको बारेमा व्यवहारिक ज्ञान दिने र प्रतिस्पर्धी क्षमताको विकास गराउन निर्वाचनको झल्को दिने गरी क्याप्टेन र उप क्याप्टेन चुनिएको विद्यालयका प्रधानध्यापक बुद्धिबहादुर पुनले बताउनुभयो । कक्षा १० को सामाजिक बिषयमा निर्वाचन र मतादन प्रकृयाको बारेमा अध्ययन गराउनुपर्ने भएकाले पाठ्यपुस्तकको बिषयलाई व्यवहारिक रुपमा बुझाउन समेत विद्यालयमा भएको मतदानले सहयोग पुग्ने विद्यालयले जनाएको छ ।