रघुगंगा गाउँपालिकामा बजार अनुगमन सुरु
- ७ जेष्ठ २०८३, बिहीबार
- 5 पटक पढिएको
म्याग्दी ७ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाले बजार अनुगमन सुरु गरेको छ । उपभोक्ताको स्वास्थ्य सुरक्षा, गुणस्तरीय वस्तु तथा सेवाको सुनिश्चितता र व्यापार व्यवसायलाई व्यवस्थित गराउन बजार अनुगमन अभियान सञ्चालन गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी पुनको संयोजकत्वमा गठित अनुगमन टोलीले पालिकाभित्रका व्यापार व्यवसाय सञ्चालन भएका बस्ती र बजारक्षेत्रमा पुगेर अनुगमन गर्न सुरु गरेको हो । 
बुधवार वडा नम्बर १ तिप्ल्याङ, बेगखोला, वडा नम्बर २ को बैँसरी, वडा नम्बर ३ को राहुपारे, तिलकेनीलगायतका क्षेत्रमा रहेका पसल, होटललगायतको अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, अनुगमनको क्रममा दर्ता नगरी पसल सञ्चालन भएको, वडामा दर्ता भएका पसलहरु प्यानमा दर्ता नभएको, मूल्य सूचि टाँस नभएको पाईएको थियो भने केहि पसलहरुमा म्याद नाघेका सामाग्रीहरु समेत फेला परेको थियो ।
त्यस्ता व्यवसायीलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ। म्याद गुज्रिएका सामग्रीहरू जफत गरी नष्ट गरिएको र आवश्यक कागजात अद्यावधिक गर्न निश्चित समयसीमा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरणको अवस्था, मूल्यसूचीको प्रदर्शन, तौल तथा नाप उपकरणको प्रयोग, म्याद गुज्रिएका खाद्य सामग्रीको बिक्री–वितरण, सरसफाइको अवस्था, उपभोक्तालाई दिइने बिल तथा रसिद, खाद्य सामग्रीको भण्डारण व्यवस्था र करसम्बन्धी कागजातहरूको परीक्षण समेत गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत पदम भण्डारीले जानकारी दिनुभयो ।
बजार अनुगमनको उद्देश्य व्यवसायीलाई दुःख दिने नभई उपभोक्ताको अधिकार संरक्षण गर्नु र स्वस्थ तथा प्रतिस्पर्धी बजार वातावरण कायम गर्नु रहेको उहाँले बताउनुभयो। अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, उद्योग बाणिज्य संघ रघुगंगा गाउँपालिका इकाईका, पत्रकार महासंघ, गाउँपालिकाका प्रशासन शाखा, कृषि शाखा, पशु सेवा शाखा, नेपाल प्रहरीका प्रतिनिधि र जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।
गाउँपालिकाले आगामी दिनमा सबै वडामा चरणबद्ध रूपमा बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ। साथै व्यवसायीलाई कानुनी प्रक्रिया पूरा गरी व्यवसाय सञ्चालन गर्न, अनिवार्य रूपमा मूल्यसूची राख्न, म्याद नाघेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई बिल उपलब्ध गराउन आग्रह गरिएको छ।