कोरोना लकडाउनको प्रभाब ‘भैँसीको दुध भैसीलाई नै खुवाउनुपर्ने बाध्यता’

  • २६ चैत्र २०७६, बुधबार
  • 2189 पटक पढिएको

कमल खत्री
बेनी, २६ चैत । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरको संक्रमण फैलन नदिन जारी भएको लकडाउनको कारण दुध उत्पादन गर्ने गाईभैँसीपालक कृषकहरु समस्यामा परेका छन् । लकडाउनसंगै बजार क्षेत्रमा बसोबास गर्ने मानिसहरु गाउँ फर्किएको र बजार सुनसान भएको कारण खपत हुन छाडेसंगै उत्पादन भएको दुध गाइभैसीलाई नै खुवाउनुपर्ने बाध्यता आएको कृषकहरुको गुनासो छ ।
१८ बर्षदेखि व्यवसायिक रुपमा भैँसीपालन गर्दै आएका बेनी नगरपालिका–६ बाँसबोटका कृषक दुर्गाप्रसाद पौडेलले दैनिक रुपमा १ सय लिटर बढी दुध खेर गएको दुखेसो पोख्नुभयो ।

१७ वटा भैँसी पालेका बरदान पशुपंक्षी फार्मका सञ्चालक रहेका पौडेलले साढे २ सय लिटर बढी दुध उत्पादन हुने गरेकोमा खपत घटेपछि दुधलाई व्यवस्थापन गर्ने समस्या आएको बताउनुभयो । विहान उत्पादन भएको दुधमध्ये दैनिक ८० लिटर दुध बजारमा ल्याएर विक्रि गर्ने गरेपनि बाँकी १ सय लिटर बढी दुध दैनिक रुपमा खेर जाने गरेको उहाँले बताउनुभयो । ‘‘केही दुधलाई कुराउनी, पनिर बनाएर सदुपयोग गर्ने कोसीस गरेको छु, तर त्योपनि विक्रि गर्न कठिनाई छ, विक्रि नहुने दुधलाई पाडापाडी र भैसीलाई नै खुवाउने गरेको छु’’–पौडेलले भन्नुभयो ।


कृषकहरुले आफुले उत्पादन गरेको दुधलाई बजारमा डेरीमा प्रतिलिटर १ सय फुटकर १२० रुपैयाँमा विक्रि गर्दै आएका छन् । व्यबसायिक रुपमा गाईभैँसी पालन गर्दै आएका अर्थुङ्गेका युवा कृषक कमल पौडेलले उत्पादन भएको आधा भन्दा बढी दुधलाई खेर फाल्नुपर्दा ठुलो नोक्सानी व्यहोर्नुपरेको बताउनुभयो । ‘‘ मेरो फार्ममा एउटा गाई र ९ वटा भैँसी छन्, दैनिक ८० लिटर सम्म दुध उत्पादन गर्छु, आधापनि खपत हुन्न, बाँकी दुध भैसीलाई नै खुवाउने र खेर फाल्नुपर्ने बिडम्बना आएको छ’’– उहाँले भन्नुभयो ।

बेनी बजार आसपासका कृषकहरुले दैनिक उत्पादन गर्ने दुधको ६० प्रतिशत उत्पादन खेर गएको बेनी नगरस्तरीय एकता दुग्ध उत्पादक तथा गाईभँैसी स्रोत केन्द्र विकास समितीका अध्यक्ष जिवनप्रसाद पौडेलले बताउनुभयो । ‘‘ बजार बन्द जस्तै छ, दुध लैजान समस्या त छैन, तर खपतै नहुने भएपछि कहाँ लगेर विक्रि गर्नु ? ’’ उहाँले भन्नुभयो । बजारमा केही डेरी पसलहरु सञ्चालनमा आएपनि माग न्यून भएकाले उत्पादन भएको सबै दुध विक्रि गर्न नसकिएको पौडेलको भनाई छ ।

६ वटा भैँसी पाल्दै आउनुभएका कृषक पौडेलले दैनिक रुपमा ६० लिटर बढी दुध उत्पादन हुने भएपनि त्यसको आधा पनि बजारीकरण गर्न नसकेको बताउनुभयो । बेनी नगरक्षेत्रमा मात्रै करिब २ दर्जनबढी कृषकहरुले व्यवसायिक रुपमा दुध उत्पादन गर्ने गरि गाईभैँसी पालन गर्दै आएका छन् । समितिका अनुसार, सामान्य अबस्थामा बेनी बजारमा मात्रै दैनिक १५ सय लिटरको हाराहारीमा दुध खपत हुने भएपनि अहिले त्यसको ४० प्रतिशत मात्रै खपत हुने गरेको छ । बेनी नगरपालिकासंगै जिल्लाको रघुगंगा, मंगला र मालिका गाउँपालिकामा समेत व्यवसायिक रुपमा गाईभैँसी पालन हुँदै आएको छ ।
तस्बिर नेत्रराज सुवेदी