डाँडाखेत सब स्टेसनको पूर्वाधार निर्माण सकियो

  • २९ श्रावण २०८२, बुधबार
  • 3 पटक पढिएको

म्याग्दी,  साउन२८ गते ।  म्याग्दीको मालिका गाउँपालिका–७, डाँडाखेतमा विद्युत् सब स्टेसनको पूर्वाधार निर्माण सकिएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत–राहुघाट प्रशारणलाइन आयोजनामार्फत सब स्टेसनको पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको हो । आयोजना प्रमुख रोशन अग्रवालले डाँडाखेत सब स्टेसनमा उपकरण राख्ने जग्गा र भवन तयार भएको जानकारी दिनुभयो ।

“एकाउन्न रोपनीमा निर्माण भएको डाँडाखेत सब स्टेसनमा १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान अन्तिम चरणमा पुगेको छ,” उहाँले भन्नुभयो, “म्याग्दी नदी र सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय ग्रीडमा जोड्ने उद्देश्यले सब स्टेसन निर्माण हुन लागेको हो ।”  डाँडाखेतदेखि रघुगङ्गा गाउँपालिका–३, राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर १३२ केभी क्षमताको प्रशारण लाइन र दुवै ठाउँमा सब स्टेसन निर्माणका लागि सन २०२१ को डिसेम्वर ३१ मा तीन अर्ब ५७ करोडमा लार्सन एन्ड टुयुब्रो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो । गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद आगामी कात्तिक २९ गतेसम्म थप भएको छ ।

“समग्रमा ७९ दशमलव १७ प्रतिशत भौतिक प्रगति भएको छ”, आयोजना प्रमुख अग्रवालले भन्नुभयो, “राहुघाटमा कमजोर भूबनोट र विपद्को जोखिम, वन क्षेत्रमा टावर निर्माणका लागि अनुमति पाउन भएको ढिलाइ र केही टावर निर्माणस्थलमा समुदायको विवादका कारणले आयोजना निर्माणको समय बढेको हो ।”

१३२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइनको हालसम्म ५९ वटा टावरको जग राखिएकोमा ४५ वटा टावरको काम पूरा भएको छ । चार वटा बाहेक सबै टावरमा ठेकेदारले काम थालेको छ । प्रशारणलाइन र सब स्टेसनको ८५ प्रतिशत उपकरण आयात भइसकेको छ ।

२२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सब स्टेसनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको फाउन्डेसन सकेर संरचना निर्माण थालिएको छ । अम्बाङमा सबस्टेसन बनाउन छ वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो ।

निर्माण कम्पनीले पछिल्लो पटक केही दिनअघि भारतबाट करिब एक सय जना जनशक्ति ल्याएको छ । कुल चार अर्ब ८८ करोड लागत अनुमान गरिएको आयोजना निर्माणका लागि एक अर्ब पाँच करोड विद्युत् प्राधिकरण र  तीन अर्ब ८२ करोड एसियाली विकास बैँकको ऋण लगानी छ ।

 

रघुगङ्गा गाउँपालिका–३, बेनी नगरपालिकाको ९, १०, मङ्गला गाउँपालिका–१, मालिकाको वडा नम्बर ६ र ७ मा प्रशारणलाइनको टावर निर्माणस्थल हुन् । टावर रहने निजी जग्गाधनीलाई एक करोड ५० लाख मुआब्जा वितरण र वन क्षेत्र प्रयोग गरेवापत चार करोड ५० लाखमा जग्गा खरिद गरेर सरकारलाई उपलब्ध गराएको छ ।  म्याग्दी नदीमा १७२ दशमलव आठ मेगावाट क्षमताको चार वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । राहुघाटमा ३५ दशमलव पाँच मेगावाटको चिमखोला–राहुघाट–मङ्गले र २१ दशमलव तीन मेगावाट क्षमताको ठुलोखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेका छन् ।

कुल ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट, ४० मेगावाट क्षमताको राहुघाट र २३ दशमलब पाँच मेगावाट क्षमताको माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुदी पावरले बताएको चिमखोला–राहुघाट–मङ्गले र संयुक्त ऊर्जाको ठुलोखोला जलविद्युत् आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रशारणलाइनमा विद्युत् आपूर्ति गराउन थालेका हुन् । रासस