बालविवाहले सामाजिक विकास र स्वास्थ्यमा चुनौती

  • २१ श्रावण २०८२, मंगलवार
  • 1 पटक पढिएको

कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले गत आवमा २० वर्ष मुनिका १६१ जना सुत्केरी हुँदा सुरक्षित गर्भपतन सेवा लिने सो उमेर समूहका किशोरी तथा युवतीको सङ्ख्या २९ रहेको जानकारी दिनुभयो । बीस वर्ष माथिका ५२८ जना सुत्केरी भएका र ६६६ जनाले सुरक्षित गर्भपतन सेवा लिएका सूचना अधिकारी सुवेदीले बताउनुभयो । आव २०८०/८१ मा म्याग्दीमा सुत्केरी हुने र सुरक्षित गर्भपतन सेवा लिने एक हजार ४६५ जनामध्ये २० वर्ष मुनिको सङ्ख्या १० दशमलव शून्य सात प्रतिशत थियो । बीस वर्ष मुनिका १३२ जना र २० वर्ष पुगेका ५९७ जना सुत्केरी भएका थिए ।

अघिल्लो वर्ष गर्भपतन गराउने २० वर्ष मुनिकाको सङ्ख्या ३३ जना थियो भने २० वर्ष बढीका ८६८ जना थिए । विसं २०६८ को जनगणनाअनुसार म्याग्दीमा प्रजननयोग्य उमेर समूहका महिलाको सङ्ख्या २१ हजार १८३ जना छ । जिल्लाका ४७ प्रतिशत दम्पतीले मात्र परिवार नियोजनका साधनको प्रयोग गर्ने स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।  म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक रेखाकौशल रेग्मीले समाजमा शैली फेरिए पनि बालविवाह कायम रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले पुष्टि गरेको बताउनुभयो । बालविवाह, असुरक्षित र अनिच्छुक गर्भधारणका प्रमुख कारण समस्या हुने गएको उहाँको भनाइ छ ।

रेग्मीले भन्नुभयो “गरिबी, अभिभावकको निगरानी नहुने, असल अभिभावकत्व र संरक्षण नपाउने, भावनात्मक परिबन्धमा परेर किशोरी बालविवाह गर्न र अनिच्छुक गर्भधारण गर्न बाध्य भएका देखिन्छन् ।” शारिरिक तथा मानसिक रूपमा परिपक्क नभएका किशोरी, युवती आमा र गर्भवती हुँदा उच्च शिक्षा, रोजगारीको अवसरबाट बञ्चित हुने र सामाजिक रूपमा पछि गर्ने गरेका उपप्रध्यापक रेग्मीले बताउनुभयो ।

बीस वर्षभन्दा कम उमेरमा विवाह दर्ता नहुने, विवाह दर्ता नभइकन जन्मदर्ता नहुने भएकाले बालबालिकालाई विद्यालय भर्ना गर्न, राज्यले दिने सेवासुविधा उपभोग गर्न र अन्य सरकारी कागजात बनाउन समस्या हुन थालेको छ । उमेर नपुगी विवाह गरेका दम्पतीले जिम्मेवारी पूरा गर्न नसक्ने र पारिवारिक विचलन आउने गरेको छ । पारिवारिक विचलनका कारण सम्बन्धविच्छेद बढेको छ । जिल्ला अदालतमा आव २०८१/०८२ मा दर्ता भएका ५७२ मध्ये ३३३ वटा सम्बन्धविच्छेदका मुद्दा रहेका स्रेस्तेदार भोलाराज रेग्मीले बताउनुभयो ।

पछिल्ला केही वर्षयता म्याग्दी अदालतमा दर्ता हुने आधाभन्दा बढी मुद्दा सम्बन्धविच्छेदका हुने उहाँले बताउनुभयो । अदालत र प्रहरीमा बालविवाहसम्बन्धी मुद्दाको सङ्ख्या भने शून्य छ । प्रादेशिक अस्पताल बेनीका प्रमुख डा रविरञ्जन प्रधानले परिवार नियोजनका साधनको प्रयोग कम हुनु, सुत्केरी हुनेभन्दा गर्भपतन गराउनेको सङ्ख्या बढी र २० वर्षभन्दा कम उमेर समूहका सुत्केरी र गर्भपतन गराउनेको सङ्ख्या बढ्नुले मातृशिशु प्रजनन स्वास्थ्यमा चुनौती थपेको बताउनुभयो । चौध÷पन्ध्र वर्षका किशोरीसमेत आमा बनेका उहाँले जानकारी दिनुभयो ।

“सुरक्षित गर्भपतन सेवाको पहुँचसँगै सेवा लिने बढ्नुलाई सकारात्मक मानिए पनि धेरैपटक गर्भपतन गराउँदा स्वास्थ्यलाई राम्रो गर्दैन”, उहाँले भन्नुभयो, “शारीरिक र मानसिक रूपमा सक्षम भइनसकेका किशोरी आमा बन्दा उनीहरूको प्रजनन स्वास्थ्यमा जोखिम हुन्छ ।” बालविवाह न्यूनीकरणका लागि राज्यका निकायले जिम्मेवार भएर सचेतनामूलक अभियान चलाउने, अभिभावकले सन्तानप्रतिको जिम्मेवारी निभाउने र स्वयं किशोरी तथा युवती सचेत हुने, मेलाजात्रालाई नियमन गर्नुपर्ने उपप्रध्यापक रेग्मीको भनाइ छ । रासस