धार्मिक ऐतिहासिक स्थल जगन्नाथ मन्दिरमा रथयात्रा (फाेटाे फिचर)
- २२ श्रावण २०८२, बुधबार
- कमल खत्री
- 49 पटक पढिएको
म्याग्दी , २१ साउन । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको जगन्नाथ मन्दिरमा बुधवार रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर जगन्नाथ मन्दिरमा रहेका भगवान जगन्नाथको मुर्तिलाई रथयात्रा मार्फत सार्वजनिक गरी भक्तजनको लागि प्रत्यक्ष रुपमा अवलोकन र दर्शन गराईएको हो ।
तत्कालिन बाइसे चौविसे राज्यको पालामा तत्कालिन राजा दिलिपबम मल्लले गजन्नाथ मन्दिर बनाएर भगवान जगन्नाथको प्राण प्रतिष्ठा गरेपछि हरेक बर्ष सरकारी भोज र भगवानको मुर्तिको साफा परिवर्तन गर्ने चलन सुरु गरेको इतिहास छ । सरकारी भोज संगै भगवान जगन्नाथको साफा परिवर्तन गरि मुर्ति सार्वजनिक कार्यलाई विगत करिब १ सय बर्षदेखि स्थानीयबासीले रथयात्रा सहित निरन्तरता दिन थालेको जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ शर्माले जानकारी दिनुभयो ।
‘‘ जगन्नाथ भगवानको मुर्तिलाइ बर्षको ३६४ दिन रथमा राखेर मन्दिर भित्र राखिन्छ, श्रावण शुक्लपक्ष द्वादशी तिथिका दिनमा मात्रै रथयात्रा गरी सार्वजनिक गर्ने प्रचलन रहेको छ, एक दिनमात्रै भगवानको मुर्तिलाई प्रत्यक्ष अवलोकन गर्न पाइने भएकाले यस दिन भक्तजनको भिडभाड हुने गर्छ’’– उहाँले भन्नुभयो । जगन्नाथको मुर्तिको रथयात्रामा सहभागी हुन सयौँ भक्तजनहरुको भिड लागेको थियो । म्याग्दीको बेनी नगरपालिकाका, रघुगंगा, मंगला गाउँपालिकाको साथै छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाबाट रथयात्रामा सहभागी हुन ठूलो संख्यामा भक्तजनहरु जगन्नाथ मन्दिरमा पुगेका थिए ।
भक्तजन, जनप्रतिनिधि र स्थानीयबासीको उल्लेख्य सहभागीतामा भजन कृतन सहित रथयात्रा गरिएको थियो भने भक्तजनहरुलाई भगवान जगन्नाथको मुर्तिलाई प्रत्यक्ष रुपमा अवलोकन समेत गराईएको थियो । यस दिन जगन्नाथ मन्दिरमा सरकारी भोजको समेत आयोजना गरी सबै भक्तजनहरुलाई खिरको प्रसाद खुवाउने चलन रहेको आयोजकले जनाएको छ । जगन्नाथ मन्दिर आसपासका बासिन्दाहरुको सहभागीतामा मात्रै रथयात्रा हुँदै आएकोमा पछिल्लो समय जगन्नाथको महिमाको कारण टाढा टाढाबाट समेत भक्तजनहरुको आगमन बढेको गुठी सञ्चालन तथा व्यवस्थापन समितिका सचिब रामचन्द्र पौडेलले बताउनुभयो ।
जगन्नाथ पुग्नका लागि सदरमुकाम बेनीदेखि पुलाचौर नयाँ गाउँ हुँदै जागने र बेनीदेखि तोरीपानी, ढोलथान हुँदै नयाँगाउँ भएर जगन्नाथ पुग्न सकिने सडकको ट्याक निर्माण भएको छ । रथयात्रा तथा सरकारी भोज कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले यस क्षेत्रको पूर्वाधार निर्माण र प्रचार प्रसारमा नगरपालिकाले पहल गर्ने बताउनुभयो । उहाँले धार्मिक र ऐतिहासिक महत्वका हिसावले जगन्नाथ क्षेत्रको महिमा अत्यन्तै धेरै भएकाले यस क्षेत्रलाई देश विदेशमा प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन सकिनेमो जोड दिनुभयो ।
कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, बेनी नगरपालिका ५ नम्बर वडाका वडा अध्यक्ष गोविन्द बानियाँले वडा र नगरपालिकाबाट धार्मिक क्षेत्रसम्म पुग्ने सडक सञ्जाल विस्तार तथा स्तरोन्नतिलाई जोड दिइएको बताउनुभयो । कार्यक्रममा नेकपा एमाले म्याग्दीका प्रतिनिधि रामप्रसाद सुवेदी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष प्रकाश पौडेल, पण्डित भीमनाथ पराजुली र बेनी नगरपालिका–७ बेनीका पूर्व वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्दै नगर क्षेत्रमा रहेका जगन्नाथधामसहित धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम जथन्नाथ मन्दिरका अध्यक्ष निलकण्ठ शर्माको अध्यक्षता, सचिव रामचन्द्र पौडेलको सञ्चालन र कोषाध्यक्ष प्रविन पौडेलको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रमको अवसरमा जगन्नाथ मन्दिरलाई आर्थिक सहयोग गर्ने चन्दादातालाई दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो ।
वि.सं. १५५० मा राजा दिलिपबम मल्लले जगन्नाथको स्थापना गरी आफू सोही ठाउँमा अलप भएको किम्बदन्ती रहेको छ । ५ सय ३१ वर्ष पुरानो जगन्नाथ मन्दिरलाई नेपालमै फरक स्वरुपमा पुननिर्माण गरिएको छ भने मन्दिरभित्र जगन्नाथ, डिम्ब महाराज, गणेश, रामलक्ष्मण, कृष्ण, बलराम, नृसिंह, चतुर्बाहुका मूर्तिहरु राखिएका छन् । तत्कालिन राजा मल्लले भारतको उडिसा राज्यबाट जगन्नाथको मूर्ति ल्याएर स्थापना गरेको बताइन्छ । जगन्नाथकै कारण गाजने गाउँमा कुखुरापालन र मदिरा उत्पादन निषेध गरिएको छ । यस मन्दिरमा पुजाआजा र दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास समेत रहेको छ ।

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l