म्याग्दीका नविन खत्रीलाई प्रलोभनमा पारी स्याउ भन्दै मृगौला निकालेको खुलासा !

मिर्गौला झिकिएपछि पनि दलालले प्रतिबद्धताअनुसार रकम नदिएपछि बोले पीडित

  • ३१ भाद्र २०७४, शनिबार
  • 9387 पटक पढिएको

काठमाण्डौ १० असोज । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ । मिर्र्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा पारेका विपन्न व्यक्तिको मिर्गौला शिक्षण अस्पतालमा झिकिएको हो । यसमा अस्पतालका दुई कर्मचारीको समेत मिलेमतो रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिन गरिरहेको छ ।

२० पुस ०७३ मा म्याग्दीको बेनी नगरपालिका–११ घर भएका नवीन खत्रीको मिर्गौला निकालेर बिक्री गरिएको हो । गोरखा घर भएका शम्भुलाल श्रेष्ठमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । कागजी प्रक्रिया पूरा गर्न दलालहरूले खत्रीको नक्कली नागरिकता बनाएका थिए ।

पोखरामा घर निर्माणको काम गर्ने खत्रीलाई स्थानीय नारायण जिसीले एउटा स्याउ (मिर्गौला) दिए १० लाख नगद, ऋणमा गाडी र जागिर उपलब्ध गराउने आश्वासन दिएर काठमाडौं ल्याएका थिए । जिसीले उनलाई भक्तपुरका प्रकाश बस्नेतको जिम्मा लगाए । उनले मृगौला प्रत्यारोपण गरिएका शम्भुलालसँग चिनजान गराए । मृगौला झिकिनुअघिको चार महिना खत्री उनकै घरमा बसे । तर, सहमतिअनुसार तस्कर समूहले रकम नदिँदा एक वर्षपछि खत्रीले घटना बाहिर ल्याएका हुन् । सुरुमा आफुलाई मिगौला निकालिने जानकारी नै नभएको, अन्तिम समयमा थाहा पाउँदा मृगौला निकाल्न नदिए ज्यान मार्ने धम्की समेत तस्करहरुको समुहले दिएको उनको दाबी छ ।

अप्रेसन गरेपछि तस्कर श्रेष्ठले नवीनलाई एक लाख २५ हजार रुपैयाँ दिएका थिए । सहमतिअनुसार पैसा नदिए मिडियामा जाने चेतावनी दिएपछि खत्रीले पुनः पाँच लाख पाएका थिए । उनी ‘पोखरामा घर बनाउने काम गर्दै आएको थिएँ ।

खाजा खाने क्रममा पोखराका नारायण जिसीसँग चिनजान भयो । नजिकिँदै जाँदा उनले एउटा स्याउ (मिर्गौला) दिए १० लाख नगद, गाडी र जागिर उपलब्ध गराउने भन्दै काठमाडौं लिएर आए,’ खत्रीले भने ।

फर्जी नागरिकता बनाएर मिर्गौला निकालियो
रक्त समुह मिलेमा परिवारका सदस्यबीच मात्रै मिर्गौला प्रत्यारोपण गर्न पाइने कानुनी प्रावधान छ । परिवार बाहिरका व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्न नमिल्ने भएकाले दलालहरुले खत्रीको नक्कली नागरिकता बनाएर अस्पतालमा पेस गरेका थिए । जसमा अस्पतालका कर्मचारीहरु धनबहादुर गुरुङ र कुमार खनालले पनि उनीहरुलाई सघाएको आशंका छ ।

मिर्गौला निकालिएको विषयमा शम्भुलाल श्रेष्ठ र प्रकाश बस्नेतलाई फोन गर्दा उनीहरू सम्पर्कमा आउन चाहेनन् । शिक्षण अस्पतालले खत्रीलाई २३ र शम्भुलाललाई २५ पु’स ०७३ मा डिस्चार्ज गरेको थियो ।

मिर्गौला निकाल्न नदिए मार्छु भन्ने धम्की आयो

नवीन खत्री, पीडित

म पोखरामा घर बनाउने काम गर्थेँ । सोही क्रममा नारायण जिसी भन्ने व्यक्ति सम्पर्कमा आउनुभयो । उहाँले ‘तपाईंको शरीरमा एउटा स्याउ छ, मलाई दिनुस्, म १० लाख, ऋणमा एउटा गाडी र जागिर दिन्छु’ भन्नुभयो । मलाई स्याउ भनेको थाहा भएन । मिर्गौला होला भन्ने पनि सोचिनँ । स्याउ दिँदा यति ठूलो रकम पाउने भएपछि दिउँ न त भन्ने लाग्यो । जिसीले मलाई काठमाडौं ल्याएर भक्तपुरका प्रकाश बस्नेतलाई जिम्मा लगाए । उनले मलाई काठमाडौंकै शम्भुलाल श्रेष्ठसँग भेट गराए । मैले चार महिना श्रेष्ठकै घरमा बसेर काम गरेँ । समय–समयमा स्वास्थ्य परीक्षण पनि भयो ।

अप्रेसन गर्ने वेला चिकित्सकहरूको बोर्ड बैठक बस्दोरहेछ, त्यसवेला मात्र मैले थाहा पाएँ मेरो मिर्गौला निकालिँदै छ भनेर । यो थाहा पाएपछि भाग्ने सोच बनाएँ । त्यही वेला प्रकाश भन्ने दलालले फोन गरेर मलाई धम्क्यायो । ‘भाग्यो भने मार्छु’ भन्नेसम्मको धम्की आएपछि बोल्न सकिनँ र बाध्य भएर मिर्गौला निकाल्न दिएको हुँ ।

उनीहरुले सुरुमा मलाई एक लाख २५ हजार दिए, अहिले मिडियामा जान्छु भनेपछि पाँच लाख थप दिएका छन् । तर, हामी कानुनी प्रक्रियामा जाने तयारीमा छौैँ । सिआइबीले बाहिर मिल्नुस्, हामीसँग कुनै सम्बन्ध छैन भनेकाले कानुनी रूपमा जान समस्या देखिएको छ । मेरो नागरिकता नै मिल्दैन । हामी फरक–फरक जातका मानिस भएकाले उनीहरूले दाजुभाइ देखाउन मेरो नक्कली नागरिकता बनाएका रहेछन्, तर मैले त्यो नागरिकता देख्न पाएको छैन ।

प्रमाण जुटे कर्मचारीलाई विभागीय कारबाही हुन्छ

प्रा.डा. दीपकप्रकाश महरा
निर्देशक, शिक्षण अस्पताल

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नवीन खत्रीको नागरिकताका विषयमा अनुसन्धान गरिरहेको छ । यसअघि हामीले निर्णय गर्ने कुरा आउँदैन ।

मिर्गौलाको अवैध कारोबारमा नाम जोडिएर आएका शिक्षण अस्पताल प्रशासनका कर्मचारी धनबहादुर गुरुङ र कुमार खनाललाई औपचारिक पत्र पठाएका छौँ । गोरखाका मिर्गौला प्रत्यारोपी शम्भुलाल श्रेष्ठ र मिर्गौला दिने नवीन खत्रीको घटनामा उनीहरूको नाम जोडिएर आएको छ । यो गम्भीर विषय हो ।

अस्पतालको इज्जतसँग जोडिएको विषय भएकाले यसलाई अस्पतालले त्यत्तिकै छाड्ने कुरा हुँदैन ।

यदि नवीनले थर परिवर्तन गर्न नक्कली नागरिकता बनाएको र त्यसमा अस्पतालका कर्मचारीले सहयोग गरेको देखिए त्यस्ता कर्मचारीलाई विभागीय कारबाही गरिने छ । यस्तो घटनामा संलग्न दोषीलाई कुनै हालतमा माफी हुन सक्दैन ।  साभार  : www.enayapatrika.com