म्याग्दीमा ट्राफिक सप्ताह मनाउन सुरु (तस्बिर/भिडियो)

  • २५ बैशाख २०८१, मंगलवार
  • 267 पटक पढिएको

म्याग्दी, २५ वैशाख । म्याग्दीमा सचेतनामुलक कार्यक्रम गरेर ट्राफिक सप्ताह–२०८१ मनाउन सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको आयोजनामा मंगलवारदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको पालनालाई प्रभाबकारी बनाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

 

वैशाख ३१ गतेसम्म विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरेर मनाउन सुरु गरिएको ट्राफिक सप्ताहको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको छ । बेनीमा बाजागाजा, झाँकी र प्लेकार्ड सहित प्रभातफेरी ¥याली गरेर सप्ताहको सुभारम्भ गरिएको छ ।
सप्ताहको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख थापाले सडकलाई सुरक्षित बनाउन र दुर्घटना न्यूनीकरण गर्न सवारी चालक, पैदलयात्री र सरोकारवालाहरु सबै सचेत बन्नुपर्ने बताउनुभयो । उहाँले ट्राफिक प्रहरीले मात्रै दुर्घटना न्यूनिकरण गर्न नसक्ने भएकाले सप्ताहव्यापी रुपमा मनाईने ट्राफिक सचेतनामुलक कार्यक्रमले दुर्घटना न्यूनिकरणमा सघाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक भरत श्रेष्ठले सवारी चालक, पैदलयात्री र यात्रु समेतले सडक नियमको पालना गर्न सकेमा मात्रै दुर्घटना न्यूनिकरण हुनेमा जोड दिनुभयो । दिवसको अवसरमा जिल्लामा सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको बारेमा व्यापक जनचेतना जगाउने गरि कार्यक्रम तय गरिएको छ । मंगलवार गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकै साथ ट्राफिक सप्ताहलाई सुभारम्भ गरिएको छ ।
सप्ताहलाई यात्रु, चालक, र प्रहरीबिचको सम्वन्धलाई नजिक बनाउने, सडक यात्रालाई सुरक्षित बनाउने र दुर्घटना न्यूनिकरणमा केन्द्रित गरिएकोे जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी बरिष्ठ नायब निरिक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।
ट्राफिक सप्ताह अन्तरगत लामो दुरीका सवारी साधनमा दुई जना चालक राख्ने नियमको कार्यान्वयनको अनुगमन गर्ने, सवारी साधनमा सचेतनामूलक स्टिगर टाँस गर्ने, सर्वसाधारण र सरोकारवालाहरुलाई ट्राफिक सचेतना फैलाउने, पर्चा वितरण गर्ने, माइकिङ गर्ने, सवारी साधनको भाडा अनुगमन गर्ने, यात्रु आरक्षण सिटको कार्यान्वयनबारे अनुगमन गर्ने, सडक प्रयोग सम्वन्धी चालक, यात्रु र सर्वसाधारणलाई प्रशिक्षण गर्ने कार्यक्रम तय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरि उक्त अवसरमा प्रहरी संगसंगै विभिन्न संघ संस्था र विद्यालयबाट स्वंमसेवक परिचालन गरेर ट्राफिक सचेतना अभिवृद्धि गर्ने, शहरी क्षेत्रमा पार्किङ व्यवस्थापनमा सहजीकरण गर्ने, लघु सचेतना कार्यक्रम गरेर यात्रु , चालक र सर्वसाधारणलाई ट्राफिक नियमको बारेमा जानकारी गराउने, चालकको निःशूल्क स्वास्थ्य परिक्षण गर्ने, सञ्चारकर्मी र सरोकारवालासंग अन्तरक्रिया संगै रक्तदान र दिप प्रज्वलन लगायतका कार्यक्रम आयोजना गरिएको कार्यालय प्रमुख केसीले जानकारी दिनुभयो ।
उद्घाटन समारोहमा म्याग्दी यातायात प्रा.लिका अध्यक्ष लालबहादुर थापाले मन्तव्य राख्नुभएको थियो भने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कुमार गुरुङले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।