महासंघद्धारा उपाध्यक्ष श्रेष्ठलाई पदमुक्त: कानुनी उपचारमा जान्छु श्रेष्ठ

  • ८ असार २०७४, बिहीबार
  • 3843 पटक पढिएको

म्याग्दी,८असार । नेपाल उद्योग वाणिज्य महासंघले जिल्ला/नगरतर्फका उपाध्यक्ष प्रमोद श्रेष्ठलाई पदमुक्त गर्दै अर्को निर्वाचन गर्ने भएको छ । म्याग्दीको बेनी नगरपालिकाको मेयर पदमा एमालेका तर्फबाट उम्मेदवारी दिएपछि उनलाई महासंघको विधानअनुसार उपाध्यक्षबाट पदमुक्त गरेको हो ।

सोही कारणले श्रेष्ठको पदमुक्त गर्दै मंगलबार बसेको महासंघ कार्यकारिणी समितिको बैठकले अब उक्त पदमा अर्को निर्वाचन गर्ने निर्णय गरेको हो ।

‘महासंघको उद्योग वाणिज्य संघ समूहको उपाध्यक्ष पद रिक्त भएको निर्णयसहित उक्त पदमा महासंघ विधानको दफा ५६ (३) अनुसार सम्बन्धित क्षेत्रबाट रिक्त उपाध्यक्ष पदपूर्ति गर्ने,’ निर्णयमा भनिएको छ ।

श्रेष्ठले एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएकाले उक्त दफा प्रयोग गरी उनलाई पदमुक्त गरिएको महासंघले जनाएको छ । श्रेष्ठ नेपाली कांग्रेसका उम्मेदवार हरिकुमार श्रेष्ठसंग झिनो मत अन्तर (४४ मत) ले श्रेष्ठ बेनी नगरपालिकाको मेयर पदमा पराजित भएका हुन् । मेयरमा निर्वाचित भए महासंघ उपाध्यक्ष पद छाड्ने सोच बनाएर स्थानीय तहको निर्वाचनमा होमिएका उनले दुवैतिरको पद गुमाउनुपरेको छ ।

पराजित भए पनि राजनीतिक रूपमा उम्मेदवारी दिएकाले ‘सक्रिय राजनीतिमा लागेको’ भन्दै उनलाई महासंघको विधानअनुसार उपाध्यक्ष पदबाट हटाइएको हो । ‘अब बढीमा तीन महिनाभित्र उपाध्यक्ष पदमा निर्वाचन हुनेछ,’ महासंघका एक सदस्यले भने, ‘त्यसका लागि आन्तरिक गृहकार्य सुरु भइसकेको छ ।’ निर्वाचन गर्ने निर्णयसँगै निजी क्षेत्रका समूह समूहबीच उक्त पदमा कसले उम्मेदवारी दिने भन्नेबारे चर्चासमेत सुरु भइसकेको छ ।

यो निर्वाचनका लागि जिल्ला/नगरतर्फका प्रतिनिधिहरूले मात्रै मतदान गर्नेछन् । ‘सम्भवत: काठमाडौंमै निर्वाचन हुनेछ,’ ती सदस्यले भने । महासंघका अनुसार जिल्ला/नगरमा १ सय ५ मतदाता छन् । उनीहरूको मतदानबाट नयाँ उपाध्यक्ष निर्वाचित हुने हो । पदमुक्तको निर्णय गरिएको बारे श्रेष्ठले पत्रिकामार्फत जानकारी प्राप्त भएको बताउँदै अब कानुनी उपचार खोजिने प्रतिक्रिया दिए । ‘सक्रिय राजनीतिबारे विधानमा स्पष्ट व्यवस्था छैन,’ उनले भने, ‘एउटा बुँदामा एक कुरा छ अर्को बुँदामा अर्कै छ ।

जसले दुई अर्थ लाग्ने छ ।’ २०६० देखि महासंघमा लगातार सक्रिय भएको भन्दै उनले पदमुक्तको निर्णय अन्यायपूर्ण रहेको जनाएका छन् । ‘एउटा दलले मेयरमा उठ्नुपर्‍यो भनेर अनुरोध गरेपछि गएको हुँ,’ उनले भने, ‘निर्वाचित/नियुक्त भएको छैन ।’ स्वच्छ व्यवसायलाई पाखा लगाउने कालो व्यवसायलाई प्रवद्र्धन गर्ने गरी उक्त निर्णय भएको उनले बताए ।

हाल महासंघका अन्य दुई उपाध्यक्ष छन् । एसोसिएटतर्फ चन्द्र ढकाल र वस्तुगततर्फ उमेशलाल श्रेष्ठ महासंघका उपाध्यक्ष हुन् । महासंघमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र एक कोषध्यक्ष हुने व्यवस्था छ । अब जिल्ला नगरतर्फको उपाध्यक्ष पदमा मात्रै निर्वाचन हुनेछ ।

कार्यकारिणी समितिको कार्यकाल सकिन तीन महिना बाँकी रहेमा रिक्त भएको पदमा निर्वाचन गर्न नपर्ने व्यवस्था छ । तर, तीनवर्षे कार्यकालका लागि निर्वाचन भएको तीन महिना नबित्दै जिल्ला नगरतर्फको उपाध्यक्ष पद रिक्त भएको हो । महासंघको निर्वाचन गत चैत २९ गते भएको थियो ।

‘रिक्त उपाध्यक्षहरू जुन क्षेत्रबाट निर्वाचन गरिएको सोही क्षेत्रबाट निर्वाचनको माध्यमबाट पूर्ति गरिनेछ । तर, यस्तो कार्यकाल ३ महिनासम्मको मात्र भएमा निर्वाचन गराइरहनु पर्ने छैन,’ महासंघको विधानमा भनिएको छ ।

राजनीतिक रूपमा सक्रिय भएका कारण उपाध्यक्ष पद खाली भएको महासंघमा यो पहिलो घटना हो । पदमुक्त भएका श्रेष्ठ जिल्ला नगरतर्फको उपाध्यक्षमा ५५ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी दिनेश श्रेष्ठले ४८ मत ल्याएका थिए ।

कान्तिपुर दैनिकबाट