कोरला नाकाको व्यापार मेलामा साढे ५ लाख बढी राजश्व संकलन (फोटो फिचर)

  • ६ कार्तिक २०७६, बुधबार
  • 2393 पटक पढिएको

कमल खत्री
म्याग्दी ६ कात्तिक । नेपाल र चीनबिचको सिमाना कोरला नाकामा सञ्चालन भएको व्यापार मेलाबाट साढे ५ लाख बढी राजश्व संकलन भएको छ । उपल्लो मुस्ताङका स्थानीयलाई लक्षित चिनियाँ भुमिमा सञ्चालन गरिएको अन्तरदेशीय व्यापार मेलाबाट एक सातामा रु ५ लाख ६१ हजार ४ सय ६ राजश्व संकलन भएको मुस्ताङको छोसेर स्थित नेचुङ भन्सार कार्यालयका प्रमुख यादवराज पहाडीले जानकारी दिए । गत असोज २४ गतेबाट व्यापार मेला सुरु गरिएको भएपनि कारोबार भने एक सातामात्रै भएको थियो । चिनियाँ व्यापार मेलामा सिमावर्ती क्षेत्र लोमनथाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीयले मात्रै इलाका प्रशासन कार्यालयले जारी गरेको प्रवेश कार्ड लिएर सामान खरिद विक्रि गर्दैै आएका छन् ।

एक सातासम्मको व्यापार मेलामा ३९ जनाले मात्रै व्यापार मेलाबाट कारोबार गरेको भन्सार कार्यालयले जनाएको छ । व्यापार मेलाबाट आयात हुने सामाग्रीको छोसेरको इलाका प्रहरी कार्यालय र भन्सार कार्यालयको समन्वयमा चेकजाँच र राजश्व अशुली हुने गरेको छ । व्यापार मेलाबाट सामान खरिद गरि आयात गरे अुनसार, पैठारी महशुस रु ३ लाख १३ हजार १२८, मुल्य अभिबृद्धि कर रु २ लाख ७ हजार ३ सय ६६, भन्सार सेवा दस्तुर रु १२ हजार ५ सय, अन्तसेवा शुल्क रु २८ हजार ४ सय १२ संकलन गरिएको कार्यालयका सहयोगी शिवसरण गिरीले जानकारी दिए । चालु आर्थिक बर्षमा यस भन्सार कार्यालयले रु १६ लाख ८८ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । गत असार ७ गतेदेखि १५ गतेसम्म सञ्चालन गरिएको व्यापार मेलामा रु ७ लाख २५ हजार ७ सय ५३ राजस्व संकलन भएको थियो । नियमित सुचारु हुने नाका नभएकाले व्यापार मेलाको समयमा मात्रै यहाँ सामान आयात निर्यात हुने भएकाले राजश्व संकलन सिमिति समयमा मात्रै हुने गर्छ ।

हरेक बर्ष असार र भदौमा गरि दुई पटक कोरला व्यापार मेला सञ्चालन हुँदै आएको थियो । यस पटक भने भदौमा हुने व्यापार मेला ढिला गरि दशैँ पछि सञ्चालन भएकाले लक्ष्य अुनसार कारोबार नहुँदा राजश्व संकलन न्युन भएको हुनसक्ने कार्यालय प्रमुख पहाडीले बताए । ‘‘ मेला १० दिनको भनिएको थियो, तर कारोबार एक सातामात्रै भयो, दशैँ सकिएपछि मेला भएकाले पनि कारोबार सोचेजस्तो भएको देखिएन, आगामी असारमा हुने मेलाबाट राजश्वको लक्ष्य पुर्ति हुने अपेक्षा गरेका छाँै’’– कार्यालय प्रमुख पहाडीले भने । कोरला बन्द नाका भएकाले नेचुङ भन्सारमा जनशक्ति समेत न्युन रहेको छ । नाकाभन्दा करिब १२ किलोमिटर तल रहेको यस भन्सार कार्यालयको जिल्ला सदरमुकाम जोमसोममा समेत सम्पर्क कार्यालय रहेको छ । भन्सारलाई व्यवस्थित बनाउनको लागि कार्यालयले प्रहरी, स्थानीय जनप्रतिनिधि, व्यापारी र स्थानीयबासीसंग अन्र्तक्रिया समेत गर्दै आएको छ ।

                                   यस्ता सामाग्री खरिद विक्रि हुन्छन्
नेपाल–चिनको बन्द नाका कोरलामा बर्षको दुई पटक व्यापार मेला मार्फत दुई देशका सिमावर्ती बस्तीका नागरिकहरुले आफ्ना आबश्यकता अनुसारका समाग्रीहरु खरिदविक्रि गर्दै आएका छन् । खासगरि व्यापार मेलाबाट दैनिक उपभोग्य सामाग्रीहरुको खरिदविक्रि हुने गरेको छ । व्यापार मेलामा अधिकाँश बस्तु चिनबाट उपल्लो मुस्ताङबासीले आयात गर्ने गरेका छन् । बर्षभरी आबश्यक पर्ने दैनिक उपभोग्य बस्तु, खाद्यान्न, लत्ताकपडा, निर्माण सामाग्री, विद्यूतिय उपकरण लगायतका सामाग्री व्यापार मेलाबाट खरिद गरि ल्याउने गरिएको छ । हिउँदभर पुग्ने गरि सामाग्री भण्डारण गर्नुपर्ने भएकाले यो व्यापार मेला उपल्लो मुस्ताङबासिको लागि अत्यन्तै उपयोगी हुने गरेको छ ।


                                                           यस्तो त राजश्व संकलनको अबस्था
कोरला नाका सञ्चालनबारे चिनीयाँ पक्षसंग औपचारिक सम्झौता भएसंगै सरकारले समेत यो नाका र भन्सार कार्यालयप्रति चासो बढाएको छ । बर्षको दुई पटक मात्रै नाका खुल्ने भएकाले यहाँ हुने व्यापार कारोवार सिमित छ । उपल्लो मुस्ताङको छोसेरमा रहेको नेचुङ भन्सार कार्यालयले हरेक बर्ष राजश्व संकलनलाई बढाउँदै लगेको छ । नाकामा हुने अन्तरदेशिय व्यापार मेलामा कारोबार र कारोबारकर्ता बढेसंगै राजश्व संकलन समेत बढ्दै गएको कार्यालयले जनाएको छ ।

आर्थिक बर्ष २०७२/७३ मा रु २ लाख ९० हजार लक्ष्य राखिएकोमा रु ३ लाख ७२ हजार २ सय राजश्व अशुली भएको थियो । आ.ब.२०७३/७४ मा रु ६ लाख ९० हजार लक्ष्य रहेकोमा रु ६ लाख ९० हजार ४ सय ४३, अब.व. २०७४/७५ मा ९ लाख ९० हजार लक्ष्य रहेकोमा रु १२ लाख ४८ हजार २ सय १ राजश्व अशुलि भएको थियो भने गत आ.व. २०७५/७६ मा रु १२ लाख ५० हजार लक्ष्य राखेकोमा रु १४ लाख ८६ हजार २ सय २७ राजश्व संकलन भएको कार्यालय प्रमुख पहाडीले जानकारी दिए ।

                                                                नाका काट्न प्रवेशकार्ड अनिवार्य
चिनियाँ भुमिमा हुने व्यापार मेलामा जान प्रवेसकार्ड अनिवार्य गराइएको छ । लोमनथाङमा रहेको इलाका प्रशासन कार्यालयले उपलब्ध गराउने बोर्डर पास लिएर मात्रै स्थानीयबासी व्यापार मेलामा जाने गर्छन् । उपल्लो मुस्ताङबासिलाई लक्षित गरि आयोजना हुने व्यापार मेलामा प्रवेशको लागि सहज बनाउनको लागि इलाका प्रशासन कार्यालयले प्रवेश पास दिने प्रवन्ध मिलाउने गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए । उनले यस पटक विविध कारणले समयमै हुन नसकेको मेलालाई दुई पक्षबिच वार्ता गरि सुचारु गराईएको समेत जानकारी दिए । यस व्यापार मेलामा उपल्लो मुस्ताङबासी बाहेक अन्यलाई प्रवेश दिने गरिएको छैन् ।
तस्बिरः मुस्ताङ लोवा /कमल खत्री