सिकाई केन्द्रका परिचालकलाई क्षमता विकास तालिम

  • २९ असार २०७५, शुक्रबार
  • प्रताप बानियाँ
  • 1886 पटक पढिएको

म्याग्दी, २९ असार । शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीको आयोजनामा सामुदायिक सिकाई केन्द्र परिचालकहरुका लागि क्षमता विकाससम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको छ । सामुदायिक सिकाई केन्द्रको व्यवस्थापन, सुदृढीकरण र सशक्तिकरण गर्ने उद्देश्यले केन्द्रका परिचालकहरुलाई बेनीमा तालिम प्रदान गरिएको हो ।

तालिम समापत्र सत्रलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले म्याग्दीलाई साक्षर जिल्ला घोषणा गर्ने अभियानमा सामुदायिक सिकाई केन्द्रको भूमिका महत्वपूर्ण रहेको बताए । उनले परिवर्तित सम्बन्धमा स्थानीय तहहरुले सामुदायिक सिकाई केन्द्रलाई कार्यक्रम दिएर सहयोग गर्नुपर्ने भन्दै अनौपचारिक शिक्षा केन्द्र र शिक्षा विकास तथा समन्वय इकाइलाई कार्यक्रम प्राप्त भएको खण्डमा आवश्यक सहयोग गरिने बताए ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले सामुदायिक सिकाई केन्द्रलाई आवश्यक सहयोग गरिने बताउँदै केन्द्रबाट आवश्यक माग आउनुपर्ने बताएका छन् । उनले स्थानीय तहसँग सम्पर्क र समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । नगर शिक्षा अधिकृत विश्वप्रकाश रेग्मीले ओझेलमा परेका सिकाई केन्द्रहरुलाई अगाडि बढाउनका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउँदै कार्यक्रम मागमा आधारित हुने भएकाले कार्यक्रमको प्रस्ताव पेश गर्न आग्रह गरेका थिए ।

स्रोतव्यक्ति दुर्गाराम सुवेदीले सञ्चालन गरेको कार्यक्रममा सहभागी लक्ष्मी सापकोटा र पद्यमा गौतमले सिकाई अनुभव मन्तव्य सुनाएका थिए । तीन दिनसम्म चलेको तालिममा जिल्लास्थित २३ ओटा सामुदायिक सिकाई केन्द्रका २० जना परिचालकहरुको सहभागिता रहेको थियो । तालिमको स्रोतव्यक्तिद्वय सुवेदी र बालकृष्ण पौडेलले सहजीकरण गरेका थिए । तालिममा परिचालकहरुले गीत प्रस्तुत गरेका थिए ।

प्रताप बानियाँ