म्याग्दीको शैक्षिक अवस्थाबारे अन्तरक्रिया तथा छलफल

  • ९ असार २०७५, शनिबार
  • प्रताप बानियाँ
  • 2583 पटक पढिएको

म्याग्दी, ८ असार । म्याग्दी जिल्लाको शैक्षिक अवस्थाबारे शुक्रबार बेनीमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । उच्च शिक्षामा गुणस्तर सुधार तथा समग्र म्याग्दी जिल्लाको शैक्षिक अवस्थाको विषयमा सरोकारवालाहरुबीच अन्तरक्रिया तथा छलफल गरिएको हो ।

म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा म्याग्दी जिल्लास्थित विभिन्न माध्यमिक विद्यालयका प्रधानाध्यापक, स्रोतव्यक्ति, क्याम्पस सञ्चालक समितिका पदाधिकारी, प्राध्यापकसहित विभिन्न व्यक्तिहरुले भाग लिएका थिए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाले म्याग्दीमा मावि तहको शिक्षाको अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यसैगरी म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पशुपतिनाथ ढकालले नयाँ शैक्षिक पाठ्यक्रम तथा प्लस टुको शिक्षाको अवस्था र पूर्व सहायक क्याम्पस प्रमुख तारानाथ शर्माले म्याग्दीमा उच्च शिक्षाको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमाथि गलेश्वर मावि तोरीपानीका प्रअ रामप्रसाद सुवेदी, स्रोतव्यक्ति दुर्गाराम सुवेदी, डेकबहादुर बानियाँ, लोकदीप बोर्डिङ स्कुलका प्रिन्सिपल ज्ञानेन्द्र सुवेदी, बाँसखर्क माविका मेखबहादुर खत्री, भानु मावि रत्नेचौरका प्रअ भरत खत्री, स्वतन्त्र विद्यार्थी युनियनका सभापति सावित्रा खत्री र उपसभापति ईश्वर सुवेदीले टिप्पणी गरेका थिए ।

शैक्षिक अन्तरक्रिया तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिका लागि समिति र क्याम्पस प्रशासन लागिपरेको बताए । उनले देशभरमा सञ्चालित १५ सय क्याम्पसहरुमध्ये उत्कृष्ट ६० सामुदायिक क्याम्पसभित्र म्याग्दी बहुमुखी क्याम्पस रहेको भन्दै क्युएएको प्रमाणपत्र प्राप्त गर्नतर्फ क्याम्पस लागिपरेको र प्रक्रिया अगाडि बढाइएको बताएका थिए ।

कार्यक्रमका सहभागीहरुले क्याम्पसले उच्च शिक्षातर्फ ध्यान दिनुपर्ने बताउँदै जिल्लाको शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । कुल शैक्षिक प्रगति ३० दशमलब ३२ प्रतिशत रहेको म्याग्दी बहुमुखी क्याम्पसबाट उत्पादित शैक्षिक जनशक्ति सरकारी तथा निजी, बैंक, वित्तीका क्षेत्रमा भूमिका खेलेको बताइएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुवेदीको अध्यक्षता, उपाध्यक्ष सोमनाथ ढुङ्गानाको स्वागत र क्याम्पस प्रमुख टिकाराम सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा सञ्चालक समिति सदस्य दिपक कार्की बिखर्चीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

प्रताप बानियाँ