भुरुङ तातोपानीका बाढी पिडितलाई सहयोग प्राप्त हुन थाल्यो

  • ६ जेष्ठ २०७५, आईतवार
  • सन्तोष गौतम
  • 1483 पटक पढिएको

म्याग्दी, ६ जेठ । अन्नपूर्ण गाउँपालिका २ भुरुङ्गतातोपानीमा एक हप्ता अघिको बाढीबाट पिडित भएकाहरुको लागि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुन थालेको छ ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन र वडा अध्यक्ष ओमप्रकाश फगामीको नाममा भुरुङ तातोपानीका पिडित र सम्भावीत विपद्को व्यवस्थापन तथा राहतका लागि सहयोग जुटाउन गरिमा विकास बैंकको पोखरेबगर शाखामा खोलीएको खातामा हालसम्म ४६ हजार रुपैया जम्मा भैसकेको छ ।

बाढी प्रभावीत क्षेत्रको स्थलगत अनुगमनमा जानुभएका प्रदेशसभा सदस्य बिनोद केसीले गत सोमबारनै दश हजार उपलब्ध गराउनुभएको थियो । मातृभुमि सेवा समाज अन्नपूर्ण गाउँपालिका ६ घारले कोषाध्यक्ष भक्तबहादुर, सदस्य ठगराज र राजाराम बरुवाल मार्फत पन्ध्रहजार रुपैया खातामा उपलब्ध गराएको छ ।

हाल ईजरायल निवासी अन्नपूर्ण गाउँपालिका ३ दानाकी ललिता तिलीजाले दश हजार सहयोग गर्नुभएको छ । टिम्स कार्यालय पोखराले दश हजार रुपैया सहयोग घोषणा गरेको छ भने भुरुङ्ग तातोपानीका बिरु गुरुङले एक हजार पचास रुपैया सहयोग गर्नुभएको छ ।

घारखोला जलविद्युत आयोजनाले बाढीको जोखिममा रहेको बस्ती संरक्षण र पिडितको राहतका लागि दुई लाख रुपैया सहयोग गर्ने प्रतिवद्धता जनाएको वडा अध्यक्ष फगामीले जानकारी दिनुभयो ।

गाउँपालिकाले बाढी पन्छाउन र पिडितको खाना व्यवस्थापनका लागि हालसम्म एक लाख पचास हजार रुपैया खर्च गरिसकेको छ । तारजाली ग्याविन लगाउन पहल गरिएको छ । बैशाख ३० गते अपराहन्न बस्ती माथिको खोल्साबाट आएको बाढीले ४ घर पूर्ण र १३ घरमा आंशिक गरि करिब एक करोड रुपैयाको क्षत्ती गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष पुनले राहत र विपद् व्यवस्थापनका लागि सहयोग गर्न आव्हान गर्नुभएको छ । कार्यपालिकाको बैठक बसेर गाउँपालिकाले समेत पिडितको राहत तथा विपद् व्यवस्थापन कोषका लागि बजेट बिनियोजन गर्ने तयारी गरेको छ ।

सन्तोष गौतम