आयमा वृद्धि र जीवनमा समृद्धिका लागि सहकारीमा लाग्यौ : युवा महिलाहरु

  • १९ मंसिर २०७४, मंगलवार
  • 1725 पटक पढिएको

पर्वत, १८ मंसिर   महिलाहरुलाई आयआर्जनमा अगाडि बढाएर आयमा वृद्धि र जीवनमा समृद्धि बनाउने योजनाका साथ आफुहरु सहकारी अभियानमा जुटेको पर्वतका युवा महिलाहरुले बताएका छन् ।   महिला शसक्तिकरणका लागि उनीहरुलाई आर्थिक रुपमा सबल र सक्षम बनाउन जरुरी छ भन्ने कुरा हामीले बुझेर नै महिलालाई आर्थिक रुपमा सबल बनाउनका लागि सहकारी अभियानलाई मुख्य आधार बनाएको उनीहरुको भनाइ छ ।   युवा महिला शसक्तिकरण परियोजना अन्तरगत पर्वतको कुश्मामा सञ्चालित २ दिने तालिमको समापनका क्रममा सहभागी युवा महिलाहरुले यस्तो बताएका हुन् ।

समाजमा अहिले पनि महिलाहरुलाई आर्थिक स्रोतको भण्डारेका रुपमा लिइदैन, सम्पत्तीको संरक्षण महिलाले गरेपनि त्यसको अग्राधिकार पुरुषमा हुने गरेको छ, तालिमका सहभागी भीमकुमारी परियारले भन्नुभयो, महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउनका लागि आयआर्जन गर्न र वचत गरी स्वावलम्बी बनाउनका लागि सहकारी नै उपयुक्त र भरपर्दो माध्यम रहेछ । आफ्नो नाममा रहेको सम्पत्ती परिचालनका लागि परिवारका पुरुषलाई सोध्नु पर्ने समस्याको अन्त्यका लागि पनि महिलाहरुको नेतृत्व र क्षमता विकास आवश्यक रहेको परियारको भनाइ छ ।

समृद्धिका लागि थुप्रै योजनाहरु आएपनि महिलाहरुको नीति निर्माणका सवालमा महिलाहरुलाई सहभागी गराउने अवस्था नरहेको भन्दै सहभागीहरुले सहकारीमार्फत महिलाहरुलाई आत्मनिर्भर बनाउदै उनीहरुलाई नेतृत्व विकासमा समेत समान सहभागिता गराउनका लागि अग्रसर हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आइतवार र सोमबार सञ्चालित तालिममा पर्वतको फलेवास नगरपालिका र व्यादी गाउँपालिकाका विभिन्न समुह र सहकारी संस्थामा आवद्ध १६ देखि ३५ वर्ष उमेर समुहका २५ जना युवा महिलाहरुको सहभागिता रहेको छ ।   आयआर्जन बढाउन, त्यसबाट प्राप्त भएको पैसालाई वचत गर्न तथा समन्वय गरेर एक आपसमा सहयोगी भावनाको विकास गर्दै नेतृृत्व विकास, क्षमता विकास र आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सहकारी उपयुक्त देखिएकाले युवा महिलाहरुलाई सहकारीमा आवद्ध गराउने अभियान सञ्चालन गरिएको इन्प्रेड नेपालका कार्यक्रम संयोजक टुकप्रसाद शर्माले जानकारी दिनुभयो ।

तालिम समापनका क्रममा तालिमका प्रशिक्षक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले युवा महिलाहरुले समाजमा महिलाहरुलाई आर्थिक तथा सामाजिक रुपमा सक्षम बनाउदै अगाडि बढ्नका लागि आफुले सिकेको ज्ञान र शिपलाई प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको थियो ।

इन्प्रेड नेपाल पर्वतले प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरेको युवा महिला शसक्तिकरण परियोजना अन्तरगत सञ्चालित तालिममा सहकारीको ऐतिहासिक विकासक्रम, सहकारीमार्फत सञ्चालन गर्न सकिने व्यवसायिक कार्यहरु, सहकारीमा वचत र वचतको महत्व, सहकारीका मूल्य मान्यता र सिद्धान्त लगायतका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी र डिभिजन सहकारी कार्यालयका सहकारी निरिक्षक होमनाथ ढकालले सहजीकरण गर्नु भएको कार्यक्रम संयोजक शर्माले जानकारी दिनुभयो ।