‘नो मिन्स नो’

  • १८ फाल्गुन २०७३, बुधबार
  • 2225 पटक पढिएको

ft

काठमाडौं । ‘म फूलजस्तै हुँ । सुस्तरी, नरम र कोमल मनोभावको स्पर्शले मेरो विश्वास जित ।
अनि मात्रै तिमी मभित्र पस्न सक्छौ । नभए ‘नो मिन्स नो ।’

कालो र रातो पहिनमा सजिएका २६ युवती मञ्चमा एकनासले उभिएका थिए । उनीहरूले पालैपाले आ–आफ्नो एकल अभिनयमार्फत अंग्रेजी संवादमा माथिका यस्तै भाव अपिल गरिरहेका थिए । महिला माथि हुने हिंसाविरुद्ध रहेक वर्ष नारा, जुलुस र भाषण गरेर खबरदारी गर्ने गरिन्छ । तर, आइतबार बत्तीसपुतलिस्थित शिल्पी थिएटरको मञ्चमा उभिएका २६ युवतीले खुलेर आफ्ना यौनांगका विषयमा कुरा गरे ।

लाज, डर र संकुचित मानसिकतामा हिंसाले बढवा पाउने उनीहरूको बुझाइ छ । त्यसैले जति समाज खुला विचारले सञ्चालित हुन्छ तब मात्रै नारीप्रति हेरिने नजर पनि फराकिलो हुन्छ । उनीहरूले यही मान्यताका साथ शिल्पीमा ‘भजाइना मोनोलग’ थिममा अभिनय पस्केका थिए । ‘हाम्री बहिनी’ ले गरेको कार्यक्रम– अन्तर्गत उनीहरूको अभिनयले सामाजिक चेतनामा इँट्टा थपेको महसुस हुन्थ्यो । नाटक निर्देशन गरेकी थिइन्, विभीषिका भण्डारीले । उनी महिलाको यौनिक अधिकार उसैसँग हुनुपर्छ भन्ने धारणा राख्छिन् । ‘भजाइना मोनोलग’ अमेरिकी लेखक इभ इन्सलरले लेखेकी हुन् ।

यसलाई अन्तर्राष्ट्रिय अभियानकै रूपमा हरेक वर्ष संसारभर मञ्चन गरिँदै आएको छ । ‘भजाइना मोनोलग’ मा हरेक समुदाय, वर्ग र उमेरका महिलाले आफ्नो यौनइच्छा, यौनांगको महत्त्व र अधिकारबारे निर्धक्क भन्ने गर्छन् । गतवर्ष पनि गरिएको नाटकलाई अर्को वर्ष नेपाली भाषामा काठमाडौ बाहिरका जिल्लामा प्रदर्शन गर्ने योजना बनाएको विभीषिकाले सुनाइन् । करिब दुई घन्टा लामो नाटकमा २६ जना युवतीले एकल प्रस्तुति दिएका थिए । घरभित्र, कार्यालय क्षेत्र, अस्पताल, विद्यालय, यातायात क्षेत्र, बाटोलगायतका क्षेत्रमा महिलालाई गरिने यौनर्दुव्यवहारको सन्दर्भहरू उनीहरूको प्रस्तुतिमा थियो । नाटकमा यौनांग सुरक्षित र स्वस्थ्य राख्नसमेत चेतनामूलक जानकारी दिइएको थियो ।

देहव्यापार गर्ने महिलाको समेत यौनअधिकार उनैसँग हुनुपर्ने बोल्ड सन्देश नाटकले दिएको थियो । खचाखच भरिएको दर्शकले उनीहरूको विचारलाई सम्मानका साथ ताली बजाएर समर्थन जनाएका थिए । इच्छाबिनाको सम्बन्धले पीडा र हिंसा दिन्छ भन्ने नाटकको मूल सार थियो । ‘पत्नीले आफ्नै पतिसँग यौनसम्बन्ध राख्दा अनुमति चाहिन्छ’, ‘छोटो स्कट लगाउँदैमा यौनको अपिल गरिएको हुँदैन’, ‘हाँसेर बोलेको भरमा युवतीलाई चरित्रहीनको उपमा दिन पाइँदैन’ जस्ता आवाज नाटकका पात्रले जोडदारका साथ उठाएका थिए । समाजमा संकुचित धारणाले नारी स्वतन्त्रता खुम्चिएको तीतो यर्थाथ नाटकले पस्केको थियो । नाटकमा नीतिका त्रिपाठीको बोल्ड अभिनयले दर्शकको ध्यान तान्यो । उनले बिनालाज र हिचकिचाहट यौन के हो ? यसको महत्त्व र गरिने तरिकासमेत अभिनयमार्फत प्रस्टयाइन् । तीन दिनदेखि मञ्चन गरिएको नाटक आइतबार सकियो ।

-कान्तिपुर