उत्कृष्ट यूवा पुरस्कारबाट गायक प्रकाश दुतराज सम्मानित

  • ३० मंसिर २०८०, शनिबार
  • 395 पटक पढिएको

म्याग्दी ३० मंसिर । चर्चित म्याग्देली गायक प्रकाश दुतराज नेपाल जेसीजको उत्कृष्ट यूवा पुरस्कारबाट सम्मानित भएका छन् । बुटवल जेसीजको आतिथ्यतामा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको ५० औँ राष्ट्रिय महाधिवेशनको अवसरमा साहित्य , संगीत तथा संस्कृति क्षेत्रतर्फ उत्कृष्ट युवा पुरस्कार २०२३ बाट सम्मान गरिएको हो ।
गीतसंगीतको माध्यमबाट पहिचान बनाउन सफल म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनका दुतराजलाई कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सम्मानपत्रले सम्मान गर्नुभएको थियो । उत्कृष्ट युवा सम्मानका लागि म्याग्दी जेसीजले दुतराजलाई सम्मान गर्न नेपाल सेसीजलाई सिफारिस गरेको थियो ।
म्याग्दी जेसीजको सिफारिसलाई स्विकार गरि चर्चित राष्ट्रिय कालकार दुतराजलाई सम्मान गर्नुले जिल्लाको सांगीतिक क्षेत्रको समेत गौरव र प्रतिष्ठा बढाएको म्याग्दी जेसीजका शाखा अध्यक्ष सुमन बानियाँले बताउनुभयो । गायक दुतराजको हालै सार्वजनिक भएको रिमै नामक गीत छोटो समयमै करोड क्लवमा प्रवेश गरेको थियो ।
गायक दुतराजको ‘लाहुर जाने रेलैमा’, आरने, बैनी झ्यालैमा, घर कता हो बैनीको, पछ्यौरीको तातो, तिरिरि मुरली बज्यो तारेभीर,फूल लाउँथें शिरमा जस्ता गीतहरु धेरैले रुचाएका सिर्जनाभित्र पर्छन । आफ्नो साँगेतिक यात्रामा नेपाल जेसीजको सम्मानले थप प्रोत्साहन मिलेको गायक दुतराजले बताउनुभयो । म्याग्दी जेसीजको सिफारिसमा यसअघि नेपाल जेसीजले राष्ट्रिय महिला भलिबलका क्याप्टेन अरुणा शाही, कमला पुन, भारोत्तोलनकी खेलाडी तारादेवी पुन लगायतलाई सम्मानीत गरिसकेको छ ।