रितुङ माविमा सञ्चालित देउसीभैलोबाट ४ लाख संकलन

  • ४ कार्तिक २०७४, शनिबार
  • राकेश शर्मा
  • 2453 पटक पढिएको

म्याग्दी, ४ कात्तिक । रघुगंगा–८ कुईनमँगलेमा सञ्चालित रितुङ माविले सञ्चालन गरेको देउसीभैलो कार्यक्रमबाट करिब ४ लाख रुपैयाँ संकलन भएको छ । समुदायस्तरबाट मावि तह सञ्चालन भइरहेको विद्यालयमा कक्षा ११ र १२ समेत सञ्चालन गर्ने उद्देश्यले दीपावलीको अवसरमा देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक खिमबहादुर छन्त्यालले जानकारी दिए ।

वडाको खरिबोट, चौरखानी, ध्यासीखर्क, मँगलेखानी, पात्लेखर्क र दुवाडी क्षेत्रमा खेलिएको देउसीभैलोबाट उक्त रकम संकलन भएको विद्यालयले जनाएको छ । खरिबोट र चौरखानीबाट सबैभन्दा धेरै रकम संकलन भएको विद्यालयका शिक्षक यामबहादुर विश्वकर्माले बताए । कक्षा १० सम्म पठनपाठन हुदै आएको विद्यालयमा कक्षा ११ र १२ पनि सञ्चालनको तयारी भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्यालले जानकारी दिए । सरकारले कक्षा १२ सम्मलाई मावि तह बनाएपछि सोही अनुसार विद्यालयले कक्षा थपको तयारी गरिरहेको जनाएको छ । विद्यालयका दुईसय विद्यार्थी अध्ययनरत छन् ।

 

राकेश शर्मा