पुख्र्यौली नाच जोगाउँदै नयाँ पुस्ता

  • १९ चैत्र २०८२, बिहीबार
  • 1 पटक पढिएको

बेनी, १९ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलाका १३ बर्षिय अमन पराइ पुन पुख्र्यौली नाचमा सहभागी हुन थाल्नुभएको छ । चिमखोला स्थित अमर माविमा कक्षा ७ मा अध्ययनरत पुनले गाउँमा आयोजना हुने पुख्र्यौली नाचहरुमा मारुनीको भूमिकामा सहभागी हुने गर्नुभएको छ । गाउँमा अग्रज कलाकारहरुबाट नाच्न सिक्नुभएका उहाँले पुख्र्यौली समूहसंगै जोडिएर आफ्नो कलाकारितालाई अगाडी बढाउनुभएको छ ।
चिमखोलाको पुख्र्यौली समूहमा अहिले चार जना नयाँ कलाकारहरु जोडिएका छन् । अमन संगै ११ बर्षका नविन पुन, १० बर्षका आर्नल पहरे पुन र १६ बर्षका रोहन गर्बुजाले पुख्र्यौली नाचमा मादले र मारुनीको भूमिकामा नाच्न थाल्नुभएको छ । गाउँमा पुख्र्यौली नाच्ने युवायुवति नहुने र बुढापाका मात्रै हुन थालेपछी आफुहरु पनि समूहमा मिसिएर नाच देखाउन थालेको पुख्र्यौली समूहका मादले रोहन गर्बुजाले बताउनुभयो ।
……मेरो बुबा पनि पुख्र्यौली नाच्नुहुन्छ, उहाँकै प्रेरणाले म पनि मादले बनेर नाच्न थालेको हुँ, आफ्नो पुर्खाहरुले सुरु गरेको संस्कृतिलाई निरन्तरता दिन पाउँदा गौरवको अनुभूति हुने गरेको छÚÚ– उहाँले भन्नुभयो । यहाँ नयाँ कलाकारहरुले फुर्सदको समयमा विद्यालयमा समेत पुख्र्यौली नाचको अभ्यास गर्दै आएका छन् । पुन मगर समुदायमा पुख्र्यौली मादले मारुनी नाच मौलिक संस्कृतिको रुपमा रहेको छ । पछिल्लो समय युवायुवतीहरु रोजगारका लागि विदेश पलायन हुने भएकाले गाउँमा पुख्र्यौली नाच पुस्तान्तरण हुन सकिरहेको छैन् ।
जिल्लाका ग्रामीण भेगमा पुन मगर समुदायको बसोबास रहेको गाउँहरुमा बुढापाकाले पुख्र्यौली नाचलाई धानेका छन् । गाउँमा हुने उत्सव, मेला पर्व र पुजाआजामा पौढ र बुढापाकाहरुले नै पुख्र्यौली देखाउने गर्छन् । पुख्र्यौली नाचका लागि कम्तीमा ४/४ जना मादले र मारुनीसंगै सोरठी भाकामा गीत गाउन १५ जना बढी कलाकारहरु आबश्यक पर्छ । एउटा पुख्र्यौली नाचका लागि एकै पटक धेरै जना आबश्यक पर्ने र नयाँ युवायुवतीहरुहरुको अभाब देखिन थालेपछि विद्यालय तहबाटै नयाँ कलाकारहरुलाई पुख्र्यौली नाचको कला सिकाउन थालिएको चिमखोलाका अग्रज कलाकार गम पुन मगरले बताउनुभयो ।
बेलायतमा रहनुभएका स्थानीय दुत गर्बुजाले २० वटा मादल उपलब्ध गराएपछि यहाँ नयाँ पुस्ताले विद्यालयमै फुर्सदको समयमा पुख्र्यौली नाच सिक्दै आएका छन् । ……चिमखोला संस्कृतिमा धनि छ, यहाँबाट सुरु भएको थाली नाच अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चर्चामा छ, पुख्र्यौली नाच पनि हाम्रो गाउँमा प्रख्यात छ, पुर्खाहरुले जोगाउँदै ल्याएको पुख्र्यौली नाचलाई पनि संरक्षण गर्दै निरन्तरता दिन हामी लागिपरेका छाँैÚÚ– उहाँले भन्नुभयो । पुख्र्यौली समूहमा युवायुवतीको खाँचो भइरहेको समयमा विद्यालयका विद्यार्थीहरु नै पुख्र्यौलीमा आकर्षित भएपछि पुख्र्यौली नाचलाई जगेर्ना गर्दै पुस्तान्तरण हुनेमा आसा पलाएको छ ।
ग्रामीण भेगमा मेलापर्व, विवाह, क्षवरलगायतका धार्मिक, साँस्कृतिक कार्यक्रमदेखि सार्वजनिक कार्यक्रममा अतिथिको स्वागतमासमेत पुख्र्यौली नाचलाई प्रदर्शन गर्ने चलन छ । पुख्र्यौली नाचमा सुरुमा नाच देखाउनुअघि सोरठी भाकामा सरस्वती जगाउने गरिन्छ । मादलको तालमा सोरठीको भाकाको कम्पनले नाच्ने कलाकारदेखि हेर्ने दर्शक सम्म काम्ने यो नाचको अनौठो विशेषता रहेको छ । देवी देवतालाई पुकारेर सरस्वती जगाउँदा सरस्वती जागेर कामेकालाई मादलकै तालले फेरि सामान्य अवस्थामा फर्काउने गरिन्छ ।
पुख्र्यौली नाचको लागि गाइने ख्याली र सोरठी भाकामा देविदेवताका कथादेखि मायाप्रेम र सदभाव संगै अधिकार र जिम्मेवारीका कुराहरुलाई टुक्का गीतमार्फत गाउने गरिन्छ । जिल्लामा पुख्यौली नाच लोकप्रिय मौलिक संस्कृतिको रुपमा रहेपनि युवायुवतीको अभाब र बाह्य संस्कृतिको प्रभावले मौलिक संस्कृति हराएर जाने जोखिम बढ्न थालेकाले यसको संरक्षणका लागि समूदाय स्तरमा जागरणको अभियान थालिएको नेपाल मगर संघ म्याग्दीका अध्यक्ष खम थापा मगरले बताउनुभयो । युवायुवतीले पुख्र्यौली नाच र सोरठी गाउन सिके पनि उनीहरु विदेश पलायन हुने भएकाले ज्येष्ठ नागरिक नै संस्कृति जगेर्नामा अग्रसर बन्नुपरेकाले नयाँ पुस्तालाई पुख्र्यौलीको संस्कृति हस्तान्तरण आबश्यक रहेको उहाँको भनाई छ ।


पुख्र्यौली नाचमा मादलेको भूमिकामा पुरुष नै हुन्छन् भने पुरुष नै महिलाको भेषमा सजिएर मारुनी बन्ने गर्छन् । महिलाले सोरठी र ख्याली भाका गाउँदा मादले र मारुनीले गीतको भाकामा मादलको ताल मिसाएर नाच देखाउने गरिन्छ । मारुनी बन्ने पुरुष महिलाले लगाउने चोली, गुन्यू, पटुका, घल्याङ, पछ्यौरा, माला, हातमा रैयाले सिँगारिएर मारुनी बन्छन् भने सोही अनुपातमा शिरमा फेटा/टोपी, भोटो, खादी, भाङ्ग्रा पहिरिएर कम्मरमा मादल भिरेर मादले बन्ने गर्छन् । पछिल्लो समय अध्ययन,रोजगार , व्यापार व्यवसाय लगायतको कारण गाउँ छाडेर देश तथा विदेशमा पुगेका म्याग्दीका पुन मगर समुदायले गाउँ र टोल स्तरमा रहेको पुख्र्यौली नाचलाई विस्तार गर्न भूमिका खेलेका छन् ।