म्याग्दी । बेनी नगरपालिका–३, मरेककी कर्णकुमारी पुर्जा पुनको आँगनमा अहिले ढलान घरमा रङरोगन भइरहेको छ । यो कुनै ऋण वा सहयोगबाट बनेको घर होइन, उनका हातले स्याहार गरेका सुन्तलाका बोटले ठड्याएको सपना हो । ७२ वर्षको उमेरमा पनि कर्णकुमारीको दैनिकी सुन्तलाबारीमै बित्छ । गत वर्ष सुन्तला बेचेर कमाएको रु १५ लाख र आफूसँग भएको केही बचत खर्चिएर थालेको पक्की घर निर्माण यस वर्षको सुन्तला बिक्रीसँगै अन्तिम चरणमा पुगेको छ । यस वर्ष मात्रै उनका बारीमा रु १० लाखभन्दा बढीको सुन्तला फलेको छ ।
दुई वर्षको सुन्तला आम्दानीले उनको घरले आकार लिएको हो । पहिले कच्ची र जीर्ण घरमा बस्दै आएकी कर्णकुमारीका लागि घर निर्माण पहिलो रोजाइ बन्यो । “सुन्तलाबाट आम्दानी हुन थालेपछि सुरक्षित बसोबासको चाहना जाग्यो,” उनी मुस्कुराउँदै भन्छिन् । श्रीमान्को निधनपछि हलगोरु जोत्न र खेताला खोज्न कठिन भएपछि करिब २० वर्षअघि उनले परम्परागत बाली छाडेर सुन्तलाखेती सुरु गरिन् । सुरुवातमा केही बिरुवा रोपेर थालेको यात्राले पहिलोपटक रु एक हजार ६०० आम्दानी दिएको थियो । त्यही आम्दानीले उनलाई आशा दियो । आज उनी रु एक सयदेखि लाखौँसम्मको कमाइ गर्न सक्षम भएकी छन् । अहिले उनको १० रोपनी क्षेत्रफलमा फैलिएको सुन्तलाबगैँचा पहेँलपुर देखिन्छ ।
कुनै वर्ष रोगका कारण सुन्तला सखाप हुँदा निराशा पनि आयो । तर उनले कहिल्यै हरेस खाइनन् । “आफ्ना सन्तानजस्तै गरी सुन्तलाका बोटलाई स्याहार गर्छु,” उनी भन्छिन्, “बूढेसकालमा मलाई खुसी दिने यही बोट बनेका छन् ।” २०६७ सालमा रोजगारीका लागि अफगानिस्तान पुगेका श्रीमान्को आतङ्ककारी आक्रमणमा निधन भएपछि उनको संसार एकाएक उजाडियो । घर व्यवहार धान्न हम्मेहम्मे परे पनि सुन्तलाले उनलाई उठ्न सिकायो । सुन्तलाकै कमाइबाट उनले छोरीहरूको शिक्षादीक्षा, विवाह, घरखर्च र बचतसमेत गर्न सफल भइन् । “मेरो संसार उजाडिएपछि बाँच्न सुन्तलाले नै सिकायो,” उनी भावुक हुँदै भन्छिन्, “यसले मलाई आत्मनिर्भर र आर्थिक रुपमा बलियो बनायो ।”
आज कर्णकुमारी मरेक गाउँमै सबैभन्दा धेरै सुन्तला फलाउने कृषकका रूपमा चिनिन्छिन् । व्यापारीहरू सुन्तला किन्न उनका बगैँचालाई पहिलो रोजाइ बनाउँछन् । उनका लागि सुन्तलाखेती आम्दानीको स्रोत मात्रै होइन, बूढेसकालको सहारा बनेको छ । घरखर्चका लागि श्रीमान् वा सन्तानमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य फलफूल र तरकारीखेतीले गर्न सक्ने उनको विश्वास छ । कर्णकुमारीको जीवनकथा सुन्तलाको मीठासजस्तै आत्मबल, परिश्रम र आशाको स्वाद बोकेको प्रेरक कथा बनेको छ ।