सिङ्गाका महिला नौमती पञ्चेवाजा सहमूहलाई तालिम संगै बाजा हस्तान्तरण
- २२ चैत्र २०८२, आईतवार
- 33 पटक पढिएको
म्याग्दी , २२ चैत । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलाहरुलाई ‘परम्परागत पञ्चेबाजा’ को सिप संगै पञ्चेबाजाका सामाग्री हस्तान्तरण गरिएको छ। शिवालय सामुदायिक सिकाई केन्द्रद्धारा वडाभित्रका महिला र आमा समूहका प्रतिनिधिहरुलाई एक महिने पञ्चेबाजा बजाउने तालिम प्रदान गरिएको हो ।
सिङ्गाको राक्सेमा पाँच बर्षदेखि पञ्चेबाजा बजाउन सुरु गरेका महिलाहरुलाइ क्षमता अभिबृद्धी र नयाँ सदस्यहरुलाई बाजा बजाउने सिप विकास गर्न सञ्चालित तालिम समापन समारोहमा रु २ लाख बराबरको पञ्चेबाजा हस्तान्तरण गरिएको हो । परम्परागत संस्कृतिको संरक्षण र महिलाहरुलाई व्यावसायिक रुपमा बाजा बजाउने पेशामा क्रियाशिल बनाउन कर्नाल, नरसिङ्गा दमाहा, झ्याली, ट्याम्को, ढोलकी, सहनाई लगायतका पञ्चेबाजाका सामाग्री खरिद गरी सहयोग गरिएको सिकाई केन्द्रका अध्यक्ष भरतप्रसाद शर्माले जानकारी दिनुभयो ।
१६ जना महिलाहरुले सहभागिता जनाउनुभएको बाजा प्रशिक्षणमा चर्चित पञ्चेबाजा बाधक प्रकाश परियार र सतप्रसाद नेपालीले पञ्चेबाजा बजाउने सिप सिकाउनुभएको थियो । चालु आर्थिक बर्ष २०८२÷०८३ मा वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाले रु १ लाख ५० हजार र गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको रु १ लाख ७० हजार अनुदान रकमबाट नौमती बाजा संरक्षण तथा सिप विकासको तालिम सञ्चालन संगै बाजाका सामाग्री खरिद गरी उपलब्ध गराएको सिकाई केन्द्रका सामाजिक परिचालक सीता थापा कुँवरले जानकारी दिनुभयो ।
तालिममा सहभागी महिला समूहलाई पञ्चेबाजाका सामाग्री हस्तान्तरण गर्दै बेनी नगरपालिकाका उपमेयर ज्योती लामिछाने पौडेलले परम्परागत पञ्चेबाजा बजाउने सिपलाई व्यावसायिक रुपमा उपयोगमा ल्याउन सकेमा परम्परागत संस्कृतिको संरक्षण र महिलाहरुको आयआर्जनमा समेत टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष अर्णबहादुर खड्काले वडाभित्र पञ्चेबाजा बजाउने समूह नहुँदा विवाह, छेवर, ब्रतबन्धलगायतका शुभ कार्यहरुमा पञ्चेबाजा बजाउननका लागि बाहिरबाट टोली ल्याउनुपर्ने बाध्यता हटाउन र महिलाहरुको आयआर्जन बढाउनका लागि तालिम संगै पञ्चेबाजा हस्तान्तरण गरिएको बताउनुभयो ।
‘‘हरेक शुभ कार्यहरुमा पञ्चेबाजा बजाउने प्रचलन रहिआएको छ, हाम्रो वडाभित्र पञ्चेबाजा बजाउने समूह नहुँदा बाहिरबाट बाजा बजाउने टोली खोज्नुपर्ने बाध्यता छ, महिला पञ्चेबाजा समूहमा बाधकहरु अपुग भएको समस्यालाई तालिमबाट उत्पादन भएका नयाँ सदस्यहरुले पूर्ति गर्ने विश्वास लिएका छौँ’’–वडा अध्यक्ष खड्काले भन्नुभयो ।
परम्परागत रुपमा पञ्चेबाजा पुरुषले बजाउने भएपनि पछिल्लो समय महिलाहरुले समेत पञ्चेबाजा बजाउन सुरु गरेका छन् । नेपाली धार्मिक एवंम साँस्कृतिक बाजाको रुपमा रहेको पञ्चेबाजा विवाह, छेवर, ब्रतबन्ध, चौरासी पूजालगायत अतिथिहरुको स्वागत सत्कारमा समेत बजाउने गरिन्छ । तालिम समापन समारोहमा तालिममा सहभागी मैना केसी, वडा सदस्य पवित्रा किसान र प्रशिक्षक सतप्रसाद नेपालीले मन्तव्य राख्नुभएको थियोे भने सामाजिक परिचालक सीता थापा कुँवरले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
