कृष्ण विश्वकर्माले औंल्याए एकीकृत समाजवादीका ९ गल्ती

  • १२ फाल्गुन २०८१, सोमबार
  • 1 पटक पढिएको

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्णकुमार विश्वकर्माले पार्टी निर्माणमा देखिएका गल्तीहरुलाई बुँदागत रुपमा प्रस्तुत गरेका छन् ।

ललितपुरको जाउलाखेलमा सम्पन्न केन्द्रीय समिति बैठकमा उनले पार्टीले गर्दै आएका गल्तीहरुलाई ९ बुँदामा उल्लेख गरेका छन् । लिखित प्रस्ताव नै तयार पारेका विश्वकर्माले नेकपा एमालेबाट विद्रोह थाले यता भएका गल्तीहरुतर्फ पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

मन्त्री बन्न रुवाबासी

केपी शर्मा ओली नेतृत्वबाट वाम आन्दोलन अगाडि बढ्न नसक्ने निष्कर्ष सहित विद्रोह गरिएपनि एकीकृत समाजवादीभित्र मन्त्री बन्ने रुवाबासी चल्नुलाई विश्वकर्माले पहिलो गल्ती भनेका छन् । ‘जब हामी सरकारमा कति, कुन र को को भनेर संख्या, मन्त्रालय र मन्त्री छान्नतर्फ लाग्यौं, त्यही दिनबाट हाम्रो क्रान्तिकारी छबिमाथि प्रश्न उठ्यो’ उनले लेखेका छन्, ‘… त्यसमाथि बन्न (मन्त्री) लुछाचुडी र छोड्दा रुवाबासीको खुला दृश्यले आमबौद्धिक जगत र जनतामा हाम्रो विद्रोह पनि सत्ताकै निम्ति थियो भन्ने स्थिति बन्यो ।’

एमसीसीमा बेइमानी

दोस्रो गल्ती एमसीसीमा पार्टीले दोधोरे नीति लिनु भएको उनको तर्क छ । सडकमा विद्रोह गर्ने अनि सदनमा व्याख्यात्मक टिप्पणी भनेर अनुमोदन गर्ने शैलीले राम्रो सन्देश नगएको विश्वकर्माको विश्लेषण छ ।

चुनावी त्रुटि

स्थानीय, प्रदेश र संघको चुनावमा कांग्रेस र माओवादीसँग गठबन्धन गर्नु गल्ती भएको उनले उल्लेख गरेका छन् । ‘जम्मा १९ क्षेत्रमा (प्रतिनिधि सभातर्फ) उम्मेदवार बनाएर बाँकी सबैमा कांग्रेस–माओवादीको मतदाता बनाइयो । क्षेत्र पहिचानमा कुनै वैज्ञानिक विधि बनाइएन, नेतामुखी अभिमानमा सीमित भयो’, उनलले लेखेका छन् । ३ प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल बन्न नसक्दा उत्पन्न निराशा चिर्नेगरी नेतृत्वले योजना नल्याएको विश्वकर्माको बुझाइ छ ।

सत्तादेखि सत्ता

विद्रोह गरेर बनेको पार्टीमा सत्तादेखि सत्तासम्मको राजनीतिक प्रवृत्ति देखिएको उनको बुझाइ छ । ‘… कुनैपनि हालतमा सरकार बाहिर बस्न सक्दैन भन्ने मानक तयार गर्नै खालको पार्टी निर्णयहरुले हाम्रो विद्रोही–क्रान्तिकारी पहिचान सत्तालिप्सामा टुंगिदै थियो । सडक र संघर्ष भुल्दै सदनमा हाम्रो आवाज सुनिन छोड्यो । सरकारमा गएका मन्त्रीहरु पनि खाली नाम दर्ज मात्र गर्न गए–आए’, विश्वकर्माको निष्कर्ष छ ।

विधिमा पार्टी नचल्नु

पार्टी पंक्ति परिचालनमा विधि नहुनु अर्को समस्या भएको उनको निष्कर्ष छ । विधि बमोजिम पार्टी नचल्दा गुटबन्दी मौलाएको विश्वकर्माले लेखेका छन् ।

वर्गीय एजेण्डाबाट बिमुख

देशमा ठूलो निराशा भएपनि पार्टीले वर्गीय एजेण्डा उठाउन नसकेको सुझावपत्रमा उल्लेख गरेका छन् । ‘पार्टी छ, तर सडकमा निस्कदैन । निस्कन तयार जनसंगठनलाई रोक्छ । सदनमा शून्य उपस्थिति छ । जनताको सवालमा कुनै विषय राख्दैन’, उनले लेखेका छन् ।

म्याण्डेटमा अलमल

गत असारमा दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएपछि पनि पार्टीमा अलमल रहेको उनले उल्लेख गरेका छन् । ‘महाधिवेशनले फरक निर्णय गर्छ । तर त्यसलाई गुमनाम गराइन्छ । पास भएको कार्यक्रम, विधान र म्याण्डेटलाई अनुकुलतामा प्रयोग गरिन्छ’, विश्वकर्माको सुझावपत्रमा लेखिएको छ ।

समाजवादी मोर्चाको भ्रम

पार्टी निर्माणमा अर्को समस्या समाजवादी मोर्चा बनिरहेको उनले उल्लेख गरेका छन् । सत्ता बाहिर हुँदा मात्र खोजिने समाजवादी मोर्चाका कारणले पनि पार्टीमा आकर्षण आउन नसकेको उनको निष्कर्ष छ ।

अन्यायपूर्ण निर्णय

पार्टी नेतृत्वबाट भएको गल्ती औल्याउने क्रमको अन्तिममा भने आफैमाथि भएको अन्यायबारे विश्वकर्माले कुरा उठाएका छन् । गत १४ माघको अपानिबाट युवा संघ नेपालको अध्यक्षबाट उनी र अनेरास्ववियूको अध्यक्षबाट आरती लामा पदमुक्त भएका थिए । विश्वकर्माले अपानिबाटै कसैलाई बर्खास्त गर्ने निर्णय पक्षपातपूर्ण व्यवहार भएको उल्लेख गरेका छन् ।

‘युवा संघ र अनेरास्ववियूलाई अपानिबाटै हटाउनुपर्नै के मापदण्ड हो ? कृपया यस बैठकबाट सबैमा प्रष्ट पार्न जरुरी पनि छ’, उनको प्रश्न छ ।यद्यपि विश्वकर्माले उठाएका प्रश्नहरुको जवाफ नदिइ केन्द्रीय कमिटी बैठक सकिएको छ । onlinekhabar बाट साभार