चन्दा सहयोग जुटाएर ऐतिहासिक ताकमकोत मन्दिर पुनर्निर्माण
- ११ आश्विन २०८२, शनिबार
- 195 पटक पढिएको
म्याग्दी । रु एक करोडभन्दा बढी चन्दा सहयोग जुटाएर म्याग्दीको धौलागिरी गाउँपालिका–७ मा रहेको ताकमकोत–अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुनर्निर्माण भएको छ । जगन्नाथ अन्नपूर्ण कोष तथा व्यवस्थापन समितिले धार्मिक र ऐतिहासिक महत्वको पर्यटकीय सम्भावनायुक्त ताकमकोतमा रहेको अन्नपूर्ण–जगन्नाथ मन्दिर पुनर्निर्माण गरेको हो । विसं १२४६ देखि १५४५ सम्म तत्कालीन थापा राजाले राज्य सञ्चालन गरेको ताकमकोतमा विसं १८८२ मा नेपाल एकीकरण हुनुअघि मल्ल राजाहरूले शाषन गरेका थिए । सोह्रौँ शताब्दीमा निर्माण भएको ताकमकोत–अन्नपूर्ण– जगन्नाथ मन्दिर विसं १९९० र २०७२ को भूकम्पले जीर्ण बनेपछि समुदायस्तरबाट आर्थिक सहयोग जुटाएर विसं २०७५ देखि पुनर्निर्माण थालिएको थियो । मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष तेजेन्द्र थापाले पुनर्निर्माणमा रु एक करोड १९ लाख ३१ हजार ८३३ खर्च भएको जानकारी दिए । रु एक करोड १४ लाख पाँच हजार १३८ चन्दा सङ्कलन भएको र रु पाँच लाख २६ हजार ६९५ अपुग भएको थापाले बताए । पुरातत्व विभागको रु ५० लाख बजेटबाट ठेक्कामार्फत रामसिताको मन्दिर निर्माण भएको छ । धवलागिरी गाउँपालिकाको रु तीन लाख ५० हजार बजेट र हाल अमेरिकामा रहनुभएका रघुनाथ सुवेदीको अगुवाइमा दाताको रु २४ लाख ४० हजार सहयोगमा १२ फिट अग्लो हनुमानको मूर्ति राखिएको वडाध्यक्ष अशोक खत्रीले बताए । गण्डकी प्रदेश सरकार र सहरी विकास मन्त्रालयको बजेटबाट सडकदेखि कोत परिसर पुग्ने पक्की पदमार्ग निर्माण भएको छ । गाउँपालिकाको सहयोगमा सत्तल र सार्वजनिक शौचालय निर्माण भएको छ । म्याग्दीको प्रमुख शक्तिपीठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कलानिधि शर्माले बताए । जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी–देवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ ।तत्कालीन राजाले कोतघरको रूपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन् । समुद्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा अवस्थित ताकमकोतबाट गुर्जा, धवलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छे शृङ्खलाका साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृष्यावलोकन गर्न सकिन्छ । धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले मन्दिर पुनर्निर्माण र थप पूर्वाधार विस्तारसँगै ताकमकोत पर्यटकीयस्थलको रुपमा विकास भएको बताए । ताकमकोतको विकास र प्रवद्र्धनका कार्यक्रमलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए ।