दसैँको उल्लाहस छाउँदै, चिटिक्क पर्दै गाउँघर
- ११ आश्विन २०८२, शनिबार
- 179 पटक पढिएको
दसैँ नजिकिएसंगै गाउँघरमा चाडपर्वको रौनक बढेको छ । नेपालीहरुले दसैँ तिहार लगायतका पर्वहरुलाई विशेष महत्व दिने भएकाले रोजगार, व्यवसाय र अवसरका लागि देश विदेशमा पुगेकाहरु समेत गाउँ फर्कन थालेका छन् । अधिकाँश समय सुनसान भएका गाउँघरमा दसैँको आगमन संगै उल्लाहस छाउन थालेको रघुगंगा गाउँपालिका– ७ चिमखोलाका याम रोकाले बताउनुभयो ।
प्रवासमा रहेकाहरुले समेत चाडपर्व मनाउन छुटि लिएर आउने र विद्यालय तथा कार्यालयहरुमा समेत विदा हुने भएकाले अन्य समयको तुलनामा दसैँ तिहारको समयमा गाउँघरमा जमघट बढी हुने उहाँको भनाई छ । रोजगार, शिक्षा लगायतको लागि युवाहरु विदेश र सहरी क्षेत्रमा जाने प्रचलनका कारण पछिल्लो समय म्याग्दीका ग्रामिण भेगमा बुढापाकाहरु मात्रै बसोबास गर्छन् ।
चाडपर्व मनाउन बर्षमा कम्तीमा एक पटक गाउँ फर्कने भएकाले पनि यो समय गाउँघर गुञ्जायमान हुने गर्छ । चाडपर्वलाई लक्षित गरेर गाउँघर सरसफाईले चिटिक्क परेका छन् । परम्परागत ढुङ्गे घरहरुमा कमेरो र रातो माटोले पोतिएका छन भने ढलान, प्लाष्टर गरी निर्माण भएका पक्की घरहरुमा रंगरोगन गरिएका छन् । चाडपर्व मनाउन युरोपियन मुलुकबाट विदामा घर आउनुभएका धवलागिरी गाउँपालिका– ६ का खड्क पुनले लामो समयपछि गाउँ फर्कदा चाडपर्वको रौनकले प्रवासका दुःख र अत्यासलाई मेटाइदिएको बताउनुभयो ।
‘‘प्रवासबाट आएको एक साता भयो, बजारमा किनमेल गरेर बालबच्चा सहित हामी गाउँ आइपुगेका छौँ, हरियाली वातावरण, धान र कोदोको फाँटहरुले मन प्रफुल्ल बनेका छन, गाउँघर यो समयमा धेरै नै सुन्दर बनेका छन’’– उहाँले भन्नुभयो । जिल्लाको अधिकाँश गाउँमा बर्खायामको हिलो र झाडी पन्छाएर गोरटो बाटोहरुलाई मर्मत गरीएको छ । परम्परादेखि नै चाडपर्वको समयमा झारा (श्रमदान) गरेर बाटो सरसफाई र मर्मत गर्ने श्रमसंस्कृति अझै यथावत रहेको छ । सडकमार्गलाई सुचारु गराउन स्थानीय सरकारहरुले बजेट व्यवस्थापन गर्ने गरेपनि गोरेटो बाटोहरु भने श्रमदानबाटै सरसफाई गरिँदै आईएको छ ।
हरेक घरबाट सहभागीता हुने गरी चाडपर्वको पूर्वसन्ध्यामा एक गाउँबाट अर्को गाउँ जाने र गाउँभित्रका गोरेटोबाटो सरसफाई गरिएको रघुगंगा गाउँपािलका– ३ दुलेपानीका युवा होम परियारले बताउनुभयो । ‘‘बर्खायाममा झाडीले बाटो नै ढाकिएका थिए, श्रमदानबाट सरसफाई गरेपछि आवत जावतमा सहज हुने भएको छ’’–परियारले भन्नुभयो । पछिल्लो समय युवाहरु विदेशमा जाने प्रचलनका कारण श्रमदानमा समेत महिलाहरुको सहभागिता बढी हुने गरेको छ ।
दसैँलाई लक्षित गरी गाउँघरमा परम्परागत मेलाहरु समेत आयोजना हुने गर्छ । परम्परागत मनोरञ्जनको माध्ययम बनेको मेलापर्वलाई पछिल्लो समय खेलकुद प्रतिस्पर्धा र कला संस्कृतिको प्रदर्शन गर्ने परम्परा सुरु भएको छ । दसँै तिहारको अवसरमा म्याग्दीका दर्जनौँ गाउँ बस्तीमा मेला पर्व आयोजना भैरहेका छन् । परम्परागत मेला पर्वको निरन्तरता पाउनु सकरात्मक पक्ष भएपनि तिनै मेलापर्वबाट शान्ति सुरक्षामा असर पुग्ने गतिविधि हुने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्री प्रसाद तिवारीले बताउनुभयो ।
जिल्लामा घट्ने कतिपय अपराधिक घटनाको सुरुवात मेलापर्वमा युवाहरुमा हुने मनमुटाम र झैझगडाबाट सुरुवात भएको पाईएकाले निश्चित अवधिका लागि अनुमति लिएर शान्ति सुरक्षालाई असर नपर्ने गरी मौलिक कला संस्कृतिको संरक्षणमा योगदान पुग्ने गरी मेलाहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो । चाडपर्वको समयमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्न र शान्ति सुरक्षालाई मजबुत बनाउनका लागि जिल्ला प्रहरी कार्यालयले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्ने तयारी गरेको जनाएको छ ।