म्याग्दीका ग्रामिण क्षेत्रमा वन्यजन्तुको चोरी शिकारी, मासुका लागि बादरको शिकार,
- २८ पुष २०८१, आईतवार
- 63 पटक पढिएको
म्याग्दीका ग्रामिण क्षेत्रमा वन्यजन्तुको चोरी शिकारी बढेको छ । वनजङ्गल विस्तार भएसँगै वन्यजन्तु र पंक्षीहरु आहराको खोजीमा मानव वस्ति वरपर आउने, खेतीबाली नोक्सानी पार्ने र मानिसहरुले वन्यजन्तु मार्ने क्रम बढेको हो । म्याग्दीमा बन्यजन्तुको चोरीशिकारीको विषयमा सर्वेक्षण गर्नुभएका त्रिभुवन विश्व विद्यालयका लेक्च्रर विश्वनाथ रिजालले तरकारीको लागि मासु उपभोग गर्न देखि औषधी, मासु तथा अंगहरु बिक्रीका लागि वन्यजन्तुको अबैध चोरीशिकार भएको पाइएको बताउनुभयो ।
“जनचेतनाको कमी, सुरक्षा, गरिबी, बेरोजगारी र सरोकारवाला निकायको समन्वयको अभाव वन्यजन्तु र चोरी शिकारी बढ्नुको प्रमुख कारण हुन,” रिजालले भन्नुभयो “औषधी र भान्साको सब्जीकै लागि वन्यजन्तुको शिकार गरेको भेटियो ।” अन्तराष्ट्रिय प्राइमेटोलोजिकल समाजको सहयोगमा रिजालले १० महिनाअघि धवलागिरी गाउँपालिकामा वन्यजन्तुको चोरीशिकारको विषयमा अध्ययन गर्नुभएको थियो ।
सो अध्ययनको प्रतिवेदन बेनीमा सरोकारवालाहरुलाई जानकारी गराउनुभएको हो । सबै भन्दा बढी पहरे बाँदर चौध प्रतिशत, रातो बाँदर १३ प्रतिशत, कालिज १३ प्रतिशत, रतुवा १० प्रतिशत, मृग नौ प्रतिशत र चिरकालिज सात प्रतिशत शिकार भएको सर्वेक्षणको नतिजामा उल्लेख छ । बाँदरको मासु औषधी हुने गलत बुझाईका कारण अधिक शिकार हुने गरेको रिजालले बताउनुभयो । पासो थाप्ने, डडेलो लगाउने, गुुलेली, वन्दुुक आदी हातहतियारको प्रयोग गरेर वन्यजन्तु र पंक्षीहरुको शिकार हुने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । रेविज, मंकिपक्स, वर्ड फ्लूूू, इबोला भाइरस, जापानिज इनसेफलाइटिसलगायत दुई सय भन्दा बढी पशुबाट मानिसमा सर्ने रोगहरु छन् ।
पशुुबाट मानिसमा सर्ने रोगलाई जुुनोटिक भनिन्छ । वन्यजन्तुको चोरीशिकारीका कारण पर्यावरणीयका साथै जुनोटिक रोगको जोखिम देखिएको छ । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले वन्यजन्तुको चोरीशिकारीको अवस्था भयाबह रहेको बताउदै यसतर्फ संवेदनशिल हुन सुरक्षा निकाय र डिभिजन वन कार्यालय तथा मातहतका निकायलाई आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले वन कर्मचारी र प्रहरीलाई चोरी शिकारी हुने ठाउँ पहिचान गरेर निगरानी बढाउन निर्देशन दिनुभयो ।
डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख बिष्णुप्रसाद अधिकारीले वन्यजन्तुको चोरी शिकार नियन्त्रणका लागि निगरानी बढाउनुका साथै समुदाय स्तरमा सचेतनामुलक कार्यक्रम गरिने बताउनुभयो । जिल्लाका लेकाली भेगमा जङ्गल बाक्लिएसँगै वन्यजन्तु बस्ती तथा झाडीतिर आउने भएकाले सिकारीले कालिज, बँदेल, मृग, घोरल, जरायो, रतुवालगायत वन्यजन्तुको सिकार गरी सुकुटी बनाएर स्थानीय बजारमा बिक्री गर्ने गरेका छन् । सिकार खेल्न स्थानीयवासी आफ्नो छुट्टै समूह बनाइ एक÷दुई हप्तासम्म जङ्गलमै बस्ने गर्दछन् । हिउँदको समयमा वन्यजन्तुको शिकार गर्न सजिलो हुने भएकाले उनीहरू मौका छोपी जङ्गल जान थालेको स्थानीयवासीको भनाइ छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित पक्षी तथा वन्यजन्तुको सिकार गर्नेलाई पाँच वर्षदेखि १५ वर्षसम्म कैद र रु. ५० हजारदेखि रु. एक लाखसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान छ ।