अन्तरपुस्तामा पुख्र्यौली संस्कृति

‘बालबालिकादेखि वृद्धवृद्धा सम्म सक्रिय’ (फाेटाे कथा)

  • २८ बैशाख २०८१, शुक्रबार
  • 564 पटक पढिएको

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका १० बर्षका सायुज फगामी पुख्र्यौली नाचमा मादले बनेर नाच्नुहुन्छ । वडा अध्यक्ष समेत रहनुभएका ओमप्रसाद फगामीबाट मादल बजाएर नाच्न सिक्नुभएका सायुज विगत एक बर्षदेखि पुख्र्यौली नाच समूहमै आबद्ध हुनुभएको छ ।

गाउँमा हुने हरेक सार्वजनिक तथा साँस्कृतिक कार्यक्रममा प्रस्तुत गरिने पुख्र्यौली नाच र प्रतियोगिताहरुमा समेत उहाँले मादले बनेर सहभागी हुने गर्नुभएको छ ।


सायुज मात्रै होइन भुरुङकै ९ बर्षका कुशल फगामी पनि पुख्र्यौली नाचमा मारुनी बनेर सहभागी हुने गर्नुभएको छ । भुरुङ तातोपानीको पुख्र्यौली समूहमा मादले र मारुनीको भूमिकामा रहेका दुई बाल कलाकारहरुको छमछमी नाचले धेरैको ध्यान तान्ने गरेको छ । पुख्र्यौली नाच पुन मगर समुदायको मौलिक संस्कृतिको रुपमा चिनिन्छ । पुख्र्यौली नाचमा अहिले बालबालिका, युवायुवति, पौढ देखि बृद्धबृद्धा सम्मका चार पुस्ता सहभागी हुने गर्छन् । पुख्र्यौली नाचलाई अन्तरपुस्ता हस्तान्तरण गरेर संरक्षण गर्न यहाँ, स्थानीयबासी, अग्रज कलाकार, वडा कार्यालयहरु र अन्नपूर्ण गाउँपालिकाले सक्रियता बढाएका छन् ।


पुर्खाहरुले सिर्जना गरेको मौलिक संस्कृति लोप भएर जाने अवस्था आएपछि आफुले समेत मादले मारुनी नाच सिकेर संरक्षणमा जुटेको भुरुङ तातोपानीका वडा अध्यक्ष फगामीले बताउनुभयो । ‘‘पुराना कलाकारहरु सकिदै जाँदा पुख्र्यौली पनि हराएर जाने अवस्था आउन थालेको थियो, हामीले नै नसिके भोलिका पुस्तालाई कस्ले सिकाउँछ भनेर पुख्र्यौली सिकेका हौँ, अहिले नयाँ पुस्तालाई पनि सिकाउन थालेका छौँ’’–वडा अध्यक्ष फगामीले भन्नुभयो ।
अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ, दाना, नारच्याङ, लेकगाउँ, पाउद्धार, स्वाँत, खिबाङ, शिख, हिस्तान, औल, रिम, घराम्दीलगायतका बस्तीमा पुख्र्यौली नाच प्रचलनमा रहेको छ ।

यस क्षेत्रमा बच्चा जन्मिएको छैटौँ दिनमा गरिने छैटी, भात खुवाउने दिन, छेवर, गुनिउचोली, विवाह लगायतका संस्कारजन्य कार्यक्रममा सोरठी भाकामा पुख्र्यौली नचाउने चलन रहेको छ । कतिपय ठाउँहरुमा मृत्यु संस्कारमा समेत सोरठी भाकामा दुख, पीर, वेदना , जीवन भोगाई र संघर्षका गीत गाएर सान्त्वना दिने प्रचलन समेत रहेको छ ।
आफ्ना पुर्खाहरुले चलाउँदै आएको पुख्र्यौली संस्कृतिको मौलिकता मासिने डरले अन्नपूर्ण गाउँपालिकाका स्थानीय पुख्र्यौली सोरठी भाका र मादले मारुनी नाचको संरक्षणमा जुटेका छन् । यहाँ बृद्धबृद्धादेखि बालबालिकासमेत पुख्र्यौलीमा सहभागी हुने गर्छन् । नयाँ पुस्तालाई पुरानो संस्कृति दिनकै लागी पुराना कालकारहरु पुख्र्यौली नाच्ने र गाउनेमा कम्मर कसेर लागेको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका पुराना कलाकार चन्द्रप्रसाद फगामीले बताउनुभयो ।
‘‘ मैले पनि अग्रजहरुबाट सिकेको हुँ, बुढ्यौली लाग्यो तर पुख्र्यौलीको माया लाग्छ, कतै युवाहरुलाई सिकाउन सकिएन भने हराएर जाने त होइन भन्ने चिन्ताले अझैपनि मादले बनेर नाच्ने गर्छु, सोरठी र सिरफुले पनि गाउन सक्छु ’’–फगामीले भन्नुभयो । नारच्याङका वडा सदस्य समेत रहनुभएका लेकगाउँका युवा श्याम पुर्जाले आधुनिक सूचना प्रविधिको पहुँच र आयातिय संस्कृतिको कारण स्थानीय स्तरमा रहेका पुख्र्यौली संस्कृति ओझेलमा परेकाले आफु समेत पुख्र्यौली नाचमा सहभागी हुन थालेको बताउनुभयो ।
उहाँले पछिल्लो समय विभिन्न सार्वजनिक कार्यक्रमदेखि मेला, महोत्सव र साँस्कृतिक कार्यक्रमहरुमा पुख्र्यौलीलाई प्राथमिकता दिन थालेको जानकारी दिनुभयो । अन्नपूर्ण गाउँपालिका– १ दोबाका पुराना कालकार गम बहादुर पुर्जाले ठाउँ अनुसार गीतको भाका र नाचको ताल फरक फरक पर्ने भएपनि पुख्र्यौली संस्कृति मौलिक जीवन्त संस्कृतिको रुपमा रहेको बताउनुभयो । ‘‘ यो नाच र गीतको इतिहास लामो छ, एक पुस्ताबाट अर्को पुस्तामा हुँदै आजसम्म जीवन्त रहेको पुख्र्यौलीलाई आगामी पुस्तामा समेत पु¥याउन जरुरी छ’’– उहाँले भन्नुभयो ।
दोबा पुख्र्यौली समूहका अर्का कालकार पदमबहादुर पुर्जाले पुख्र्यौलीमा मादले–मारुनी नाच नयाँ पुस्ताले सिक्न थालेपनि सोरठी भाकामा गीत गाउने सीप भने अझै नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेको बताउनुहुन्छ । ‘‘ सोरठी गाउन स्वर मात्रै दिएर हुँदैन, गीतका कथा र भाकाहरु पनि गाउन जान्ने हुनुपर्छ, त्यसको लागी धेरै मेहनत गर्नुपर्छ, अहिलेसम्म युवा पुस्ता नाच्न सक्ने भएका छन, गाउन भने पुरानै कलाकारहरु जुट्नुपर्छ’’–पुर्जाले भन्नुभयो । कला संस्कृतिको क्षेत्रमा पुख्र्यौली नाच आफैमा अनौठो संस्कृतिको रुपमा रहेको छ ।
यो नाचको सुरुवातमा मादलको तालमा सरस्वती जगाउने गरिन्छ । यसरी देवी देवतालाई सम्झेर सरस्वती जगाउँदा धेरै जसोको सरीरमा सरस्वती चढेर काप्ने गर्छन् । ‘‘पहिले दरदेउतालाई बर्नाउँदा देउताले छुनेहरु आफ्नै काप्न थाल्छन, मादलको २२ ताल बजाएर देउतालाई बाचा फुकाएपछि स्वतस्फुर्त उनीहरु सामान्य अवस्थामा आउँछन’’– पुराना कलाकार चन्द्रप्रसाद फगामीले भन्नुभयो । पुख्र्यौलीमा कम्तीमा ४÷४ जना मादले र मारुनी नाच्ने गर्छन ।
पुरुषको पोशाक लगाएका मादले कम्मरमा मादल भिरेर मादल बजाउँदै नाच्छन भने महिलाको पुख्र्यौली भेषभुषामा सजिएका पुरुष नै मारुनी बनेर नाच्ने गर्छन् । पुख्र्यौलीमा मुख्य गीत निकाल्ने गिताङ्गेले पुराना राजा रानी र देवी देवताका कथा संगै माया, प्रेम र आफ्नो पुर्खाका दुःख–सुखलाई समेटेर सोरठी गीत गाउने गर्छन भने महिलाहरुको समूहले लामो स्वरमा हाइ भरेर साथ दिने गर्छन । पुख्र्यौली नाचमा मादले, मारुनी, सोरठी गाउने र हाइ मार्नेलगायतको भूमिकामा कम्तीमा २० जना बढी सहभागी हुने गर्छन् ।
मौलिक चिनारीको रुपमा रहेको पुख्र्यौली संस्कृतिको संरक्षणमा जागरण ल्याउन पहल थालेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनले बताउनुभयो । ‘‘ यो बर्ष भुरुङमा पालिका र वडा कार्यालयको समन्वयमा पुख्र्यौली नाच प्रतियोगिता नै सम्पन्न गरेका छौँ, यसले पुख्र्यौलीको विविधताको एक अर्कामा सिकाई संगै नयाँ पुस्तामा संस्कृतिको सिप विकासमा सघाएको हामीले विश्वास लिएका छौँ, यस्ता कार्यक्रमलाई हामीले आगामी बर्षमा समेत निरन्तरता दिनेछौँ’’–गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो । गाउँपालिकाले नीति तथा कार्यक्रममा नै मौलिक कला, संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राखेर कला र संस्कृतिको विकास, प्रवद्र्धन र प्रचार प्रसारमा जुट्ने तयारी गरेकाे प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयाे ।