जङ्गलमा खेर जाने निहुराे घरखर्च चलाउने आम्दानी बन्न थाल्यो

  • १५ श्रावण २०८२, बुधबार
  • 1 पटक पढिएको

दोवाकी निहुरो सङ्कलक मायाकुमारी पुनले प्रतिकिलो रु ६५ देखि ७० मा गाउँबाटै निहुरो बिक्री हुने गरेको बताइन् । ‘कुहिएर खेर गइरहेको निहुरो हाम्रा लागि आम्दानीको स्रोत बनेको छ,’ उनले भनिन्, ‘फुर्सदको समय सदुपयोगका साथै घर खर्च चलाउने आम्दानी जुटाएका छौं ।’​ दोवाका साथै दग्नाम, चिमखोला, पात्लेखेत, मुना र हिदीबाट बेनी आउने गाडीले दैनिक ५०० किलोग्राम निहुरो बेनीमा ल्याउने गरेका व्यापारीले बताएका छन् ।

बेनीका तरकारी तथा फलफूल व्यवसायी देवेन्द्र सुवेदीले गाउँबाट आउने निहुरो बागलुङ, कुश्मा र काठमाडौं पठाउने गरेको बताए । ‘बेनी आइपुग्दा प्रतिकिलो दौडेको मूल्य रु १०० देखि रु १२० सम्म पर्छ,’ उनले भने, ‘गत वर्ष दैनिक एक हजार किलोग्राम निहुरो आउने गरेको थियो । यसपालि गाउँबाट गत वर्षको तुलनामा आधा मात्रै निहुरो आएको छ । माग धान्न सकिएको छैन ।’

समुद्री सतहदेखि एक हजार ५०० देखि दुई हजार ५०० मिटर उचाइको ओसेपिलो ठाउँमा बर्खा याम निहुरो प्राकृतिक रुपमा उम्रन्छ । निहुरोको मुना छिप्पीएपछि सोत्तर हुन्छ । मुना अवस्थाको निहुरोलाई पकाएर तरकारी र अचारका रूपमा प्रयोग गर्न सकिन्छ । यो एक जैविक तरकारी समेत हो । निहुरो टुसा पलाएको चार/पाँच दिनभित्र ठूलो झ्याङ भएको निउरो बन्छ ।

निहुरोमा एन्टीअक्सिडेन्ट पाइने भएकाले औषधीय र पोषणयुक्त तरकारीको रूपमा लिन थालिएको छ । बेनीका होटल व्यवसायी पूर्ण गौचनले पोषिलो, स्वादिलो र स्वस्थकर हुने भएकाले निहुरोको तरकारी र अचार पाहुनाले रुचाउने बताए ।​ स्वास्थ्यकर्मीहरूका अनुसार भिटामिन ‘ए’, ‘बी’ र ‘सी’ पर्याप्त मात्रामा पाइने निहुरोमा आइरनको मात्रा पनि हुन्छ । आँखाको दृष्टि कमजोर भएकाहरूले पनि नियमित खाँदा लाभदायक हुन्छ । मुटु र मधुमेह रोगीहरूका लागि पनि निहुरो निकै उत्तम आहार मानिन्छ । यसको तरकारी खानाले क्यान्सरका बिरामी, भाइरल खोकी, चिसो लाग्दा र फोक्सोका बिरामीलाई फाइदा हुने उपभोक्ताको अनुभव छ ।