काफलडाँडाका जगबहादुर फगामीको संघर्ष:‘वैदेशिक रोजगारमा धोका,‘बाख्रापालनबाट सफलता’
- १८ श्रावण २०८२, शनिबार
- कमल खत्री
- 333 पटक पढिएको
कमल खत्री
म्याग्दी, १७ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफलडाँडाका जगबहादुर फगामीले वैदेशिक रोजगारबाट फर्किएर सुरु गरेको बाख्रापालनबाट आत्मनिर्भर बन्नुभएको छ । रोजगारको शिलसिलामा तीन बर्ष मलेसियामा काम गर्नुभएका फगामीले कम्पनीले पारिश्रमिक नदिएर धोका दिएपछि गाउँ फर्किएर बाख्रापालन सुरु गर्नुभएको थियो ।
‘‘विदेशको ठक्करले गाउँ फर्किएर एउटा बाख्रा किनेर खेती किसानी गरेर परिवार चलाउन थालेको थिए, बाख्राले जुम्ल्याह पाठापाठी जन्माउन थालेपछि बाख्राको संख्या बढ्दै गयो, पछि राम्चे बाबा समूहको ५३ वटा बाख्रा रु २ लाखमा खरिद गरेर बाख्रपालनलाई व्यावसायिक बनाएको हुँ’’– फगामीले भन्नुभयो । उहाँ अहिले गाउँमै उपलब्ध स्रोत, श्रम र सीपको सदुपयोग गर्दै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरणको पात्र बन्नुभएको छ ।
उहाँले विगत ६ बर्षदेखि बाख्रपालनलाई व्यवस्थित र व्यावसायिक बनाउनुभएको हो । फगामीले सञ्चालन गर्नुभएको ‘सुतारे एकिकृत कृषि तथा पशुपंक्षि फर्म’ मा अहिले १५० वटा बाख्रा छन् । फर्ममा रहेका ४० वटा माउ बाख्रा व्याउने छन् । चाडपर्व र विभिन्न पूजाआजामा खसी बोका र पाठापाठीको विक्रि हुने गरेको छ । उत्पादन भएका खसी बोका गोठ र खोरबाटै विक्रि हुने गरेको बाख्रापालक कृषक फगामीले जानकारी दिनुभयो । उहाँका अनुसार, बाख्रापालनबाट मासिक रु ४० हजार देखि ५० हजारसम्म आम्दानी हुने गरेको छ ।
फर्ममा फगामी दम्पतीका साथै छोरा बुहारीले बाख्राहरुको रेखदेख र स्याहार गर्दै आएका छन भने चरनक्षेत्रमा लैजानका लागि एक जनालाई रोजगारि समेत दिईएको छ । हिउँदयाममा बेसीँका फाँटमा खेतवारीमा घाँस खुवाएर मल बनाउने बाख्रालाई जेठ लागेपछि भने ढरुवा, धौलापारा, साँधीखर्क लगायतका लेकाली क्षेत्रका वन जंगलमा चरनका लागि लैजाने गरिएको छ । बाख्रापालनबाट स्वरोजगार र आत्मनिर्भर बन्नुभएका फगामीले बाख्रपालनसंगै भेडापालन गर्ने योजना समेत बनाउनुभएको छ ।
बाख्रपालनलाई थप व्यवसायिक बनाउनका लागि अहिले खोरको क्षमता विस्तार गरिएको छ । आर्थिक बर्ष २०८१/०८२ मा अन्नपूर्ण गाउँपालिकाले पशुपंक्षिको लागि गोठखोर निर्माण योजनाबाट उपलब्ध गराएको अनुदानबाट करिब तीन सय बाख्रापालन गर्न सक्ने क्षमताको खोर निर्माण गरिएको छ । गाउँपालिकाबाट प्राप्त भएको रु १ लाख ६६ हजार अनुदान रकममा आफुहरुले श्रमदान र नगद साझेदारी गरी करिब साढे तीन लाख लगानीमा व्यवस्थित खोर निर्माण गरिएको बाख्रपालनक किसान फगामीका छोरा राजु फगामीले बताउनुभयो ।
छोटो समयमै हुर्कने र अन्य पशुपंक्षिको तुलनामा नगद आम्दानी समेत बढी हुने भएकाले सिंगो परिवारले नै बाख्रापालनलाई अंगालेका छन् । विभिन्न समयमा बाख्राहरुमा आउने रोगको पहिचान गरी उपचार गर्न नसक्दा धेरै क्षति व्यहोरेका फगामी परिवारले हार नखाएर बाख्रापालनलाई निरन्तरता दिएकै कारण अहिले सफलता प्राप्त गरेका हुन् ।
आलुसंगै अन्नबालीको खेती किसानी समेत गर्दै आएपनि घरपरिवारको अन्य आम्दानीको स्रोत नहुँदा समेत बाख्रपालनबाटै भएको आम्दानीबाट परिवारले घरखर्च जुटाउँदै आएको फगामीले बताउनुभयो । उत्पादन भएका खसीबोका र पाठापाठीको उचित बजारको सुनिश्चित हुन सकेमा बाख्रपालनलाई अझै व्यावसायिक बनाउने फगामी परिवारको योजना रहेको छ । रासस

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l