म्याग्दी जेसीजद्धारा गलेश्वरमा भक्तजनलाई निःशुल्क पानी वितरण र सरसफाई
- १४ श्रावण २०८२, मंगलवार
- 1 पटक पढिएको
म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा साउन महिनाको दोस्रो सोमबार पूजाआजाका लागि आएका भक्तजन र तिर्थालुहरुलाई म्याग्दी जेसीजले निःशुल्क खानेपानी वितरण गरेको छ । साउन महिनाको सोमबार गलेश्वरमा हजारौँ भक्तजनहरु आउने र बर्त बसेर मन्दिरको दर्शन गर्न आउने भएकाले भक्तजनका सहजताको लागि खानेपानी वितरण गरिएको म्याग्दी जेसीजले जनाएको छ । गलेश्वर मन्दिर परिसरमा म्याग्दी जेसीजका पदाधिकारी, पूर्व पदाधिकारी तथा सदस्यहरु स्वयमसेवकको रुपमा परिचालन भएर भक्तजनहरुलाई खानेपानी वितरण गरेको म्याग्दी जेसीजका सह कोषाध्यक्ष एवं कार्यक्रम संयोजक तेजिन्द्र बहादुर खत्रीले जानकारी दिनुभयो । म्याग्दी जेसीजले भक्तजनहरुलाई ५० कार्टुन बढी खानेपानी वितरण गरेको जनाएको छ ।
यसैबिच सोमबार नै म्याग्दी जेसीजले गलेश्वर मन्दिरमा सरसफाई समेत गरेको छ । दिनभर आएका हजारौँ भक्तजनहरुका कारण मन्दिर परिसरमा जम्मा भएका फोहोरजन्य सामाग्रीहरुलाई म्याग्दी जेसीजले सरसफाई गरी हटाएको म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्ति क्षत्रीले जानकारी दिनुभयो । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक कार्यमा सक्रिय म्याग्दी जेसीजले धर्म, संस्कृति र सेवाको कामलाई समेत प्राथमिकता दिँदै गलेश्वरमा निशूल्क खानेपानी वितरण र सरसफाई कार्यक्रम गरेको शाखा अध्यक्ष घर्ति क्षत्रीले बताउनुभयो ।