रूमका ३३८ घरमा खानेपानी सुविधा विस्तार
- १७ श्रावण २०८२, शुक्रबार
- 137 पटक पढिएको
म्याग्दीकाे मालिका गाउँपालिका-२ मा यस वर्ष निर्माण भएका तीन वटा खानेपानी आयोजनाबाट ३३८ परिवार लाभान्वित भएका छन् । नेपाल स्वास्थ्यका लागि पानी ९नेवा० र मालिका गाउँपालिकाको आर्थिक एवं प्राविधिक सहयोग तथा उपभोक्ताहरुको श्रमदानमा खवाङ्ग शेरेधारा, धुल्वाङ र घाङलेपानी खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना निर्माण भएको हो ।
कूल रु एक करोड ७१ लाख ७१ हजार ८५१ को लागतमा निर्माण भएका योजनाबाट ३३८ वटा धाराबाट घरघरमा खानेपानी वितरण गरिएको मालिका गाउँपालिका-२ का वडाध्यक्ष उदयकुमार बुढाथोकीले बताए । खानेपानी योजना निर्माणमा नेवाले रु ८० लाख ७० हजार २१० र मालिका गाउँपालिकाले रु ४२ लाख ९१ हजार ९० लगानी गरेका छन, भने उपभोक्ताहरुले रु ४७ लाख नौ हजार सात सय ५१ बराबरको श्रमदान गरेका थिए ।
मालिका गाउँपालिकाको १, २ र ३ नम्बर वडामा आर्थिक वर्ष २०८१/०८२ मा सात वटा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना निर्माण भएका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । वडा नम्बर १ निस्कोटमा एक सय २५ र वडा नं ३ को डाडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ दुई सय २५ घरपरिवार, पात्लेका एक सय २२ र लुुम्पीपारका ५३ परिवार लाभान्वित भएका उनले बताए ।