भगवती–बेगखोला सडक स्तरोन्नति सुरु

  • १५ श्रावण २०८२, बुधबार
  • 45 पटक पढिएको

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको भगवती–बेगखोला सडक स्तरोन्नति आजदेखि सुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत सञ्चालित योजनाको निर्माण कम्पनीले डोजर र मजदुर परिचालन गरेर भगवतीबाट बेगतर्फ सडक स्तरोन्नति थालेको हो । गण्डकी प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा आर्थिक वर्ष २०८१/८२ मा एक/एक वटा सडक योजनालाई बहुवर्षीय ठेक्का लगाउन छनोट गरेको थियो ।

म्याग्दी १(१) बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीको सिफारिसमा गलेश्वर–  पिप्ले– भगवती हुँदै बेग र भगवती–सिजलगाउँ– साझपानी –बयारीगाउँ –बेग सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले रु पाँच करोड बजेटको स्रोत सुनिश्चितता गरेको थियो । गत असार ९ गते पूर्वाधार विकास कार्यालय र हिमालयन कन्सट्रक्सनबीच रु दुई करोड ८२ लाखमा ठेक्का सम्झौता भएको थियो । ठेक्का अवधि १८ महिना छ । कम्पनीका सञ्चालक निरज भण्डारीले पर्याप्त मजदुर र उपकरण परिचालन तथा निर्माण सामग्री जुटाएर निर्धारित समय अगावै सम्पन्न गरिने बताउनुभयाे। 

भगवतीको जैसीखोरदेखि सिजलगाउँ हुँदै बेगतर्फ एक किलोमिटर ४०० मिटर ढलान र ‘प्रिमिक्स’ कालोपत्र हुने पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले बताउनुभयाे । यसअघि गलेश्वर–पिप्ले–भगवती–बेग सडक अन्तर्गत पिप्ले–भगवती खण्डमा करिब छ किलोमिटर सडक कालोपत्र भएको थियो । १५ वर्षअघि ट्याक खुलेको यो सडक चारदेखि पाँच मिटर फराकिलो छ । गलेश्वरदेखी पिप्ले, भगवती हुँदै बेग सम्मकाे सडकलाइ स्तरीय बनाउने याेजना अन्तगर्त याे सडकलाइ प्राथमिकतामा राखेर याेजना अघी बढाइएकाे प्रदेश सभा सदस्य भण्डारीले बताउनुभयाे ।

योजनामार्फत कम्तीमा सात मिटर फराकिलो, पर्खाल र नाली निर्माण गरिने भएको छ । यो सडकबाट रघुगङ्गा गाउँपालिका–१ बेग र २ नम्बर वडा भगवतीका बासिन्दा लाभान्वित हुने गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयाे ।