पर्यटकले मन पराए अर्गानिक खानाका परिकार

  • २१ बैशाख २०८०, बिहीबार
  • धिरन खत्री
  • 313 पटक पढिएको

 

म्याग्दी, २१ बैशाख । म्याग्दीका पर्यटकियस्थलमा पुग्ने पर्यटकले गाउँमा उत्पादित बस्तुको परिकार खाना रुचाउने गर्छन् । पछिल्लो समय अधिकांश पर्यटकियस्थलमा संचालित होटलमा पर्यटकको मुख्य रोजाइ नै अर्गानिक खाना पर्न थालेको हो । पर्यटकको आगमन आवातजावत बढी क्षेत्रका होटलमा बजार केन्द्रित खाना भन्दा फापर र कोदाको पीठाको ढिडो र रोटी, मकै, गहुँ, आलु, गेडागुडी, लोक्कल खशी र कुखुराको सुप, सुकुटी, सिस्नो र लोक्कल सागसब्जी लगायतको अर्गानिक खाना माग बढ्न थालेको हो ।

शहर वा विदेश केन्द्रित ब्यक्तिहरु छुट्टी वा अन्य समयमा शान्त र आनन्द वातावरणमा घुम्ने संख्या बढ्दै गएका छन् । पर्यटकीस्थलमा रहेका होटलमा पुग्ने पर्यटकले गाउँमा उत्पादित बस्तुको बढी परिकार माग गर्ने गरेको अनुभव म्याग्दीको रघुगंगा गाउँपालिका–२ को पर्यटकियस्थलमा रुईसेमा होटल संचालन गर्दै आएकी कमला शाहीले बताउनुभयो ।

पर्यटकको मागअनुसार पर्यटकियस्थलका होटल व्यवसायीले गाउँमा उत्पादित अर्गानिक वस्तुहरु संकलन गरेर पर्यटकको आगमन र अर्डर अनुसार परिकार बनाउन थालेको शाहीले भन्नुभयो । ‘‘अर्गानिक परिकार माग बढेपनि समय अनुसार सबै अर्गानिक बस्तुहरुको उत्पादन कम हुदै गएको छ। समय अनुसार पर्यटकको इच्छा अनुसारको खाना उपलब्ध गराउन कठिनाई हुन्छ ।”– उहाँले भन्नुभयो । यसतर्फ स्थानीय सरकारले ध्यान दिनुपर्छ ।

पछिल्लो समय स्वदेशि तथा विदेशी पर्यटकको माग बढेपछि अर्गानिक वस्तुको लेबलिङ, प्याकेजिङ र यसको महत्वबारे प्रचार प्रसार हुन थालेपछि पर्यटकियस्थलका बासीन्दाले पनि अर्गानिक खान्की बेचेरै राम्रो पैसा कमाउन थालेका छन् । म्याग्दीमा घोडेपानी, मोहरेडाडाँ, रुईसे, टोड्के, झाँक्रीपानी, ढोल्ठान, बेलढुङ्गा,खोपारा लगायतका पर्यटकयस्थलमा पुग्ने पर्यटक स्थानीय परिकारको खाना रुचाउछन् ।

मोहरेडाँडा सामुदायिक लजका प्रमुख नविन पुनले स्थानीय परिकार पर्यटकको रोजाईमा पर्ने गरेको बताउनुभयो । तर भुगोलका कारण पर्यटक आउने समयमा सबै स्थानीय परिकार पाउनाको माग अनुसार उपलब्ध गराउन नसकिएको उहाँको भनाई थियो ।

सदरमुकाम बेनीसंगै सिंगा तातोपानी, बेनी जोमसोम सडक अन्तरगतका होटलमा कालीगण्डकी र म्याग्दी नदीका असला माछाको परिकारसंग ढिडो लगायतको खानाको माग पर्यटकले बढी आउने गर्छ ।

प्रदेश र स्थानीय सरकारले पर्यटन प्रर्वद्धन र स्थानीय रुपमा उत्पादन भएका बस्तुहरुको बजारीकरण गर्नका लागि सुन्दर तथा पर्यटक आकर्षित बस्तीमा होमस्टे अवधारण अघि बढाएपनि प्रभावकारी रुपमा संचालन हुन सकेका छैन् ।

होमस्टे संचालन गरेको क्षेत्रमा बजारबाट आयातित खानाको परिकार बढी पाक्न थालेपछि होमस्टेतर्फ आन्तरिक तथा बाह्य पर्यटकको चाप घट्दै गएको छ। पर्यटकले सुविधासम्पन्न होटल माग अनुसार खाना परिकार पाईने गन्तव्य बढी रोज्न थालेका छन् ।

धवलागिरी लगायतको दर्जनौ हिमाल रहेको म्याग्दीमा पछिल्लो समय विदेशी लगायत स्वदेशी पर्यटकको चाप बढ्दै गएको छ भने होटल क्षमता र सुविधा विस्तारमा होटल ब्यवसायीले ध्यान दिएका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l