म्याग्दीमा एम्बुलेन्सको अवस्था : विरामी बोक्ने एम्बुलेन्स नै थन्किए

  • ८ आश्विन २०७९, शनिबार
  • धिरन खत्री
  • 579 पटक पढिएको

 

म्याग्दी, ८ असोज । विरामीलाई उपचारका लागि अस्पताल लैजाने भरपर्दो साधन एम्बुलेन्सको उपयुक्त व्यवस्थापन र सञ्चालनको अभाबमा एम्बुलेन्सहरु नै थलिएर थन्काउनुपर्ने अवस्था आएको छ । म्याग्दी सदरमुकाम बेनी स्थित बेनी अस्पताल परिसरमा दुई वटा एम्बुलेन्स अहिले मर्मत सम्भारको अभाबले जिर्ण बनेर थन्किएका छन् । एकातर्फ एम्बुलेन्स नै आफै थलिएर झाडीको बिचमा थन्किएका छन भने अर्कोतर्फ बिरामीहरुले अस्पतालसम्म पुग्न र यहाँबाट रेफर भएर पोखरा लगायतका स्थानका अस्पतालमा जान सार्वजनिक यातायातको भरपर्नुपर्ने बाध्यता आएको छ ।


बेनी अस्पतालमा बिग्रीएर अल्पत्र अवस्थामा रहेका दुई एम्बुलेन्स मध्ये एउटा बेनी अस्पताल मातहत सञ्चालित हो भने अर्को नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मातहत सञ्चालनमा रहेका थिए । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेको सहयोगमा नेपाल रेडक्रस सोसाईटी भुरुङतातोपानी उपशाखाद्वारा संचालनमा रहेको उक्त एम्बुलेन्स दुई बर्ष अगाडी मात्रै जिल्ला शाखालाई हस्तान्तरण गरिएको थियो । एम्बुलेन्सको मर्मत र सञ्चालन खर्च धान्न नसक्ने अवस्था आएपछि जिल्ला शाखालाई हस्तान्तरण गरिएको रेडक्रस उपशाखा भुरुङ तातोपानीका सभापती विष्णुकुमारी गर्वुजाले बताउनुभयो ।


उपशाखाले सञ्चालन गर्दा नै जिर्ण अवस्थामा पुगेको उक्त एम्बुलेन्सलाई जिल्ला शाखाले समेत सञ्चालन गर्ने अवस्था नरहेपछि अहिले अलपत्र परेको हो । बेनी अस्पतालको एम्बुलेन्स तीन बर्ष अघि देखि नै बिग्रीएर जिर्ण अवस्थामा पुगेको छ । मर्मत सम्भार गरेर सञ्चालन गर्ने अवस्थामा समेत नरहेपछि उक्त एम्बुलेन्स झाडीले ढाकिएको अवस्थामा छ । मोना युकेले उपहार दिएको अर्को एम्बुलेन्स भने मर्मत सम्भार गरेर सञ्चालन गर्न सकिने अवस्थामा देखिन्छ । खर्चिलो र पटक पटक बिग्रीन थालेपछि मर्मत र सञ्चालन खर्च धान्न नसक्ने भएपछि उक्त एम्बुलेन्सलाई सञ्चालन बन्द गरिएको नेपाल रेडक्रस सोसाईटी म्याग्दीका सभापति लेखबहादुर हमालले बताउनुभयो । ‘‘रेडक्रस मातहत अर्को एक एम्बुलेन्स सञ्चालनमै रहेको छ, उक्त एम्बुलेन्स मार्फत भरसक उत्कृष्ट सेवा दिने प्रयास गरेका छौँ’’–उहाँले भन्नुभयो । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका सर्वसाधारणको स्वास्थ्य उपचार सेवामा सहज पहुँच बढाउन मोना युकेले विसं २०६९ मा नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखालाई तीनवटा एम्बुलेन्स सहयोग गरेको थियो । त्यसमध्ये जिल्ला शाखा मातहत सञ्चालनमा रहेको एक एम्बुलेन्स दुई बर्ष अघिदेखि नै बिग्रीएर प्रयोगविहिन बनेको छ । मोना युकेले दिएको तीन एम्बुलेन्स मध्ये अहिले एउटा मात्रै सञ्चालनमा रहेको छ । दरबाङ उपशाखा मार्फत सञ्चालन हुँदै आएको मोना युकेको थप अर्को एम्बुलेन्स हाल मालिका गाउँपालिका मातहत सञ्चालनमा रहेको छ भने एम्बुलेन्सको मर्मत सम्भार, व्यवस्थापन तथा सञ्चालन खर्च गाउँपालिकाले नै व्यहोर्दै आएको छ ।

सञ्चालनमा पाँच एम्बुलेन्स :

म्याग्दीमा हाल पाँच वटा मात्रै एम्बुलेन्स सञ्चालनमा रहेका छन् । काठमाण्डौस्थित भारतीय दूतावासले वि.स. २०७४ मा रेडक्रस सोसाईटी जिल्ला शाखा र अन्नपूर्ण गाउँपालिकालाई एक÷एक वटा एम्बुलेन्स उपलब्ध गराएको थियो । दूतावासले दिएको दुई एम्बुलेन्स सहित बेनी अस्पतालको एक, धवलागिरि गाउँपालिकाको एक र मालिका गाउँपालिका मातहत सञ्चालित एक गरि जम्मा पाँच वटा एम्बुलेन्सले मात्रै सेवा दिँदै आएका छन् । सदरमुकाम बेनीबाट सेवा दिने बेनी अस्पताल र रेडक्रस सोसाईटी मातहतका दुबै एम्बुलेन्स समेत जिर्ण अवस्थामा पुग्न थालेको र विरामीहरुले आफुहरुले भनेको समयमा सेवा पाउन नसकेको गुनासो गरेका छन् ।

बेनी अस्पतालको एम्बुलेन्स चलाउँदै आउनुभएका चालक गोपी गौतमले १६ मोडलको गाडी भएको र पटक पटक समस्या आउने र गाडीको वायरिङको समस्या भएकाले हरेक पटक बेनी–पोखरा आवत जावत गर्दा मर्मत गरिरहनुपर्ने झण्झट रहेको बताउनुभयो । भएका एम्बुलेन्सहरु पनि जिल्लाको ग्रामिण भेगमा पुग्न सक्ने अवस्थामा नरहेकाले जिल्लामा सवारी दुर्घटना तथा सर्वसाधारण नागरिक विरामी पर्दा नीजि बोलेरो संगै जिप, ट्याक्सी लगायतका साधनको भरपर्नुपर्ने बाध्यता रहेको छ ।

बेनीदेखि थप उपचारको लागि पोखरा, काठमाण्डौ लैजानुपर्ने विरामीहरुलाई एम्बुलेन्सको अभाबमा पटक पटक जोखिम मोलेर अन्य सवारी साधनबाट लैजानुपर्ने बाध्यता रहँदै आएको छ । ६ वटा स्थानीय तह र ४५ वटा वडाहरु रहेको जिल्लामा धवलागिरि गाउँपालिका–१ गुर्जा बाहेक अन्य सबै वडामा कच्ची सडक सञ्जालले जोडिएको छ । तर, आपत विपतको समयमा ती सडकमा एम्वुलेन्स पुग्दैनन् । सडकको अवस्था जिर्ण र एम्बुलेन्सको अवस्था नाजुक बनेपछि सर्वसाधारणले उपचारका लागि एम्बुलेन्सको प्रयोग गर्ने अवसरबाट बञ्चित हुनुपरेको गुनासो गर्दै आएका छन् ।

अक्षयकोष कहाँ परिचालन हुन्छ ?

म्याग्दीमा एम्बुलेन्स सेवा सञ्चालनका लागि तीन वटा एम्बुलेन्स सहयोग गरेको मोना युकेले करीब रू. ११ लाखको अक्षयकोष समेत स्थापना गरेको थियो । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेले वि.स. २०७१ मा रू. १० लाख ८० हजार २८० को एम्बुलेन्स सेवा अक्षयकोष स्थापना गरेको थियो । उक्त अक्षयकोषको रकमलाई ग्रिन डेभलपमेन्ट बैँकको बेनी शाखामा राखिएको र कोषको व्याज रकमबाट एम्बुलेन्सको बिमा खर्च भुक्तानी गरिँदै आइएको रेडक्रस जिल्ला शाखाका सभापति हमालले बताउनुभयो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l