मालिकाको छापमा निर्माण भएको सामुदायिक भवन उद्घाटन
- १८ भाद्र २०८२, बुधबार
- 3 पटक पढिएको
छाप, १८ भदौ । म्याग्दीको मालिका गाउँपालिका–४ छापमा न्यु सोले आमा समूहको सामुदायिक भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको रु. १० लाख बजेटबाट स्थानीयबासीले श्रमदान गरेर भवन निर्माण गरेका हुन् । भवन निर्माण भएपछि भेला, बैठक, तालिम, गोष्ठि सञ्चालन गर्न सहज भएको उपभोक्ता समितिका अध्यक्ष डम्मर रसाइलीले बताउनुभयो ।
भोजतरेर र सामाजिक कार्यका लागि भवन सहयोगी बनेको छ । छापका करिब ५० घरपरिवार लाभान्वित भएका छन् । सभाहल सहितको भवन करिब एक सय जना क्षमताको छ । नयाँ भवनको परिसरमा रहेको पुरानो भवन भने मालिका गाउँपालिकाको रु. तीन लाख बजेटबाट मर्मत गरिएको छ ।भवनको गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले बुधबार उद्घाटन गर्नुभयो । उक्त कार्यक्रममा प्रदेश सरकारका पूर्व मन्त्री समेत रहेका जुग्जालीले छापका बासिन्दाले भोट माग्ने क्रममा आफूहरुसँग राखेको सामुदायिक भवनको माग पुरा गर्ने प्रतिवद्धता कार्यान्वयन गरेको बताउनुभयो ।
उहाँले आफूहरुको पहलमा सुरु भएको छाप, ओखरबोट लगायत म्याग्दीका दुई हजार दुई सय घरमा केन्द्रिय प्रशारण लाइनको विद्युत विस्तार योजना अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । म्याग्दीमा देखिने र सर्वसाधारणले महशुस गर्ने गरेर विकासका गतिबिधी सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।
मालिका गाउँकार्यपालिकाका प्रवत्ता तथा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष अनुप गौचन र कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले छापबासीको समस्या र आवश्यकता पुरा गर्न पहल तथा समन्वयलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य तथा धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो । स्थानीयबासीहरुले भवनलाई घेराबार र छाप जोड्ने सडक मर्मत गरि यातायात सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।