वीरेन्द्रचोक टोल विकास संस्थाबाट छ जनालाई नागरिक सम्मान
- २१ भाद्र २०८२, शनिबार
- 1 पटक पढिएको
म्याग्दी, २१ भदौ । म्याग्दी सदरमुकाम बेनीमा सामाजिक तथा राजनीतिक क्षेत्रमा योगदान पु¥याएका विभिन्न क्षेत्रका छ जनालाई नागरिक सम्मान गरिएको छ । सदरमुकाम बेनीमा रहेको वीरेन्द्रचोक टोल विकास संस्थाले शनिवार एक समारोहको आयोजना गरी समाजमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरेको हो ।
सम्मानीत हुनेमा कृष्णगण्डकी जेष्ठ नागरिक सेवा केन्द्रका संस्थापक चन्द्रप्रसाद श्रेष्ठ, शताब्दी पूरुष भैरबहादुर हुमेन, अग्रज लोकगायिका धनकुमारी थापा, समाजसेवी पुण्यबहादुर शाक्यसंगै राजनीतिककर्मी समेत रहनुभएका पूर्वराज्यमन्त्री भिमप्रसाद गौचन र राजनीतिक आन्दोलनहरुमा योगदान पु¥याउनुभएका ओमबहादुर खत्री रहनुभएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा, विरेन्द्रचोक टोल विकास संस्थाका अध्यक्ष महेन्द्र श्रेष्ठलगायतले दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गर्नुभएको थियो । सामाजिक, राजनीतिक र कला संस्कृतिको क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुको योगदानको कदर गर्न नागरिक स्तरबाट सम्मान गरिएको टोल विकास संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
उक्त अवसरमा सम्मानीत व्यक्तिहरुले आफुहरु जीवनको संघर्षमय अवस्था पार गर्दै समाजका लागि समेत निस्वार्थ भएर लागेको बताउँदै नागरिक सम्मानले आफुहरुको जीवनमा हौँसला र उत्साह थपिएकोमा जोड दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता शर्माले समाजमा योगदान दिने हरेक नागरिकको मुल्यांकन समाजले नै गर्नुपर्ने बताउँदै यस्ता कार्यक्रमले अन्य व्यक्तिहरुलाई समेत सामाजिक गतिविधि र अभियानमा लाग्न प्रेरणा दिने बताउनुभयो ।