अन्नपूर्ण पदमार्गमा ‘फुच्चे गुराँस’ पर्यटकका लागि आकर्षण

  • १८ भाद्र २०८२, बुधबार
  • कमल खत्री
  • 1 पटक पढिएको

म्याग्दी, १८ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा ढकमक्क फुलेका ‘फुच्चे गुराँस’ पर्यटकहरुको लागि आकर्षण बनेको छ । हिमाल, तालतलैया, झरना र मनोरम प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस पदमार्गको हुमखोलादेखि सुनखोलासम्मको क्षेत्रमा प्रशस्त मात्रामा जमिनकै सतहमा ढकमक्क फुल्ने गुराँस पाइने गर्छ । गुलाबी रङको रङ्गीविरङ्गी फुच्चे गुराँसको फूल अहिले अन्नपूर्ण आधार शिविर जाने पर्यटकका लागि नयाँ आकर्षण बनिरहेको छ ।
जेठदेखि भदौ सम्मको याममा यो पदमार्गको दायाँ बायाँका पाखा र खर्कमा फुलेका फुच्चे गुराँसको फूलले लोभ्याउने गरेको छ । नेपालमा पाईने गुराँसका ३३ प्रजाती मध्ये सानो आकारमा फुल्ने यो गुराँसलाई रैथाने प्रजाति मानिएको छ । अन्नपूर्ण प्रथम हिमाल जाने ‘मौरिस हर्जोग’ पदमार्गमा समुद्री सतहदेखि २ हजार ८८३ मिटर उचाइमा रहेको हुमखोलादेखि ३५ सय मिटर उचाइसम्मको क्षेत्रमा रोडोडेन्ड्रन कोवानियनम र रोडोडेन्ड्रन लोन्डेसी प्रजातिका फुच्चे गुराँसको नाम दिइएको फूल फुल्ने गरेको छ ।


जमिनमै स–साना बुक्यान बनेर फुल्ने यि प्रजातिका गुराँसका बोट तीन मिटर उचाईसम्मका हुने गर्छन् । बेलायती बनस्पती विज्ञहरुको टोलीले अध्ययन गरेर पत्ता लगाएको नेपालमा मात्रै फुल्ने दुई प्रजातिका गुराँसका फूलहरु अन्नपूर्ण पदमार्गमा प्रशस्त मात्रामा फुल्ने यस पदमार्गका अभियान्ता समेत रहनुभएका पर्यटन व्यवसायी तेज गुरुङले बताउनुभयो । उहाँका अनुसार, हिउँदयाममा लाग्ने डढेलोको कारण मासिँदै गएको फुच्चे गुराँसको महत्व उजागर भएपछि पछिल्लो समय संरक्षणमा चासो बढेको छ ।
वनस्पतिविद् कमल मादेनले सन २०१९ मा अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा रोडोडेन्ड्रन कोवानियनम ,रोडोडेन्ड्रन ल्वोन्डेसी र रोडोडेन्ड्रन लेपिडोटम गरी तीन प्रजातिका नयाँ र रैथाने गुराँसका फूलहरु फुल्ने गरेको पहिचान गर्नुभएको थियो । यस अघि रैथाने प्रजातीको गुराँसको रुपमा पहिचान नहुँदासम्म बुकी फूलको रुपमा चिन्ने गरिएकोमा पछिल्लो समय भने यसलाई फुच्चे गुराँसको उपनाम दिइएको छ ।


‘रोडोडेन्ड्रन्स अफ नेपाल’ पुस्तकमा उल्लेख भएअनुसार, रोडोडेन्ड्रन ल्वोन्डेसी म्याग्दीका साथै डोल्पा, मुस्ताङ, मनाङ र लम्जुङ जिल्लामा समेत भेटिएको छ । रोडोडेन्ड्रन कोवानियनम प्रजातीको गुराँस भने म्याग्दीसंगै मुस्ताङ, मनाङ र रसुवा जिल्लामा मात्र अहिलेसम्म फेला परेको छ । नेपालमा मात्रै रेकर्ड भएका यि दुबै प्रजातिका फुच्चे गुराँसका फूल म्याग्दीमा फुल्ने गरेको छ ।


खासगरी लालीगुराँस फागुन देखि चैत बैशाखमा फुल्ने भएपनि फुच्चे गुराँस भने जेठदेखि भदौसम्म फुल्ने गर्छ । अन्नपूर्ण आधार शिविर जाने यस पदमार्गको छेउछाउमा फुलेका फुच्चे गुराँसका फूलहरुसंग पर्यटकहरु तस्बिर, भिडियो खिचेर रमाउने गर्छन। पहिलो पटक अन्नपूर्ण प्रथम हिमाल पुग्ने मौरिस हर्जोग पदमार्गको भ्रमणमा पुग्नुभएका बेनीका खम थापा मगरले फुच्चे गुराँसको अवलोकन गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।


‘‘जमिनकै सतहमा फुल्ने गुराँस अन्यत्र कतै देखेको थिइन, स–साना बोटहरुमा ढकमक्क फुलेका फूलहरुको दृष्य लोभलाग्दो हुँदो रहेछ, पदमार्ग वरपर झाडी फडानी गरेर फुच्चे गुराँसलाई संरक्षण गर्न सकेमा यसले पर्यटकहरुलाई नयाँ आकर्षण थप्ने देखिन्छ’’– थापाले भन्नुभयो । अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्ने मौरीस हजोग पदमार्गमा फुतफुते झरना, पच्चकुण्ड ताल संगै फुच्चे गुराँस स्वदेशी तथा विदेशी पर्यटकका लागि थप आकर्षण बनेको छ ।


यस पदमार्गमा गुराँस प्रजातीकै रातो, गुलाबी फूलका साथै सेतो र बैजनी रंग भएका फूलहरु समेत भेटिने गरेको छ । म्याग्दीमा अन्नपूर्ण आधार शिविर जाने पदमार्गका साथै चक्रिय धौलागिरी पदमार्गको सल्लाघारीदेखि इटाली आधार शिविर र धौलागिरी आइसफल पदमार्गको कछुवाओढार क्षेत्रमा समेत फूच्चे गुराँस भेटिएको छ । नेपालमा मात्रै अभिलेख भएका दुर्लभ प्रजातिका रैथाने फूलहरु संरक्षणको अभाबमा मासिँदै गएका छन् । यि फूलहरुको संरक्षण र प्रचार प्रसार गर्न सके यसले पर्यटकीय आकर्षण बढाउन टेवा पु¥याउने देखिन्छ ।            

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l