दुई युवा वेपत्ता घटना : बाइकको फ्युल ट्यांकी र एउटा जुता भेटियो

  • १७ भाद्र २०८२, मंगलवार
  • 7 पटक पढिएको

म्याग्दी, १७ भदौ । म्याग्दी सदरमुकाम बेनीमा शनिवार रातीदेखि सम्पर्क विहिन बनेका दुई युवाको कालीगण्डकी नदीमा गोताखोरको तालिमप्राप्त टोलीबाट खोजी गरिएको छ । शनिवार राती करिब ११ बजेदेखि एकैसाथ वेपत्ता भएका रघुगंगा गाउँपालिका– २ भगवतीका कुमार रिजाल र बेनी नगरपालिका– ६ जामुनाखर्कका हरिप्रसाद शर्मा (रिजाल) दुर्घटनामा परेको आशंकमा खोजी गरिएको हो ।

प्रहरी र वेपत्ता युवाहरुका आफन्तजनले कालीगण्डकी नदी किनारमा खोजी गर्दा रिजालद्धयको अवस्था पत्ता लाग्न नसकेपछि सशस्त्र प्रहरी बलको गोताखोर टोलीले कालीगण्डकीमा खोजी गर्न थालेको हो । रिजालद्धय सवार मोटरसाइकल बेनीमा नवनिर्मित चक्रपथतर्फ मोडिएको र उक्त समयमा कालीगण्डकी नदी किनारमा निर्माण गरिएको चक्रपथबाट मोटरसाइकल कालीगण्डकी नदिमा खसेको दृष्य सिसी टिभिमा कैद भएपछि उनीहरु दुर्घटनामा परेर वेपत्ता भएको अनुमान गरिएको छ ।

मंगलवार विहान दुर्घटना भएको अनुमान गरिएको सडकछेउमा एउटा जुता र हेलमेटको भाइजर फेला परेको थियो भने साँझ बेनी नगरपालिका–१ थाङ्नेबगर स्थित कालीगण्डकी नदी किनारमा पल्सर १५० सिसी मोटरसाइकलको फ्युल ट्यांकी फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।

वेपत्ता भएका युवाहरुको खोजी गर्ने क्रममा फेला परेका प्रमाणहरुको भेरीफाइ गरी उनीहरुको खोजीलाई थप निरन्तरता दिने प्रहरीले जनाएको छ । 

वेपत्ता भएका कुमार शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीमा सहयोगी कर्मचारीको र हरी निजी पसलमा रोजगारमा आबद्ध थिए । वेपत्ता हुने साँझ दुबै जनाले बेनीको बैँक रोडमा रहेको एक होटलमा खाना खाएपछि मोटरसाइकल चढेर निस्कीएका उनीहरु आफ्नो कोठामा नपुगेको र मोवाइल फोन समेत एकैसाथ बन्द (स्विचअफ) भएपछि आफन्तले खोजविनका लागि प्रहरीमा निवेदन दिएका थिए ।

बेपत्ता भएको समयमा सम्भावित ठाउँका सिसी क्यामेराले देखाएको दृष्यको आधारमा रिजालद्धय चढेको मोटरसाइकल म्याग्दी र कालीगण्डकी नदी किनारमा निर्माण भएको मोटरबाटोतर्फ मोडिएको थियो भने सोही समयको केहि मिनेटमा कालीगण्डकी नदीमा मोटरसाइकल खसेको पर्वत बेनीकाे एक घरकाे सिसी टिभीमा भिडियो कैद भएको थियो ।