ताकमकोतमा भक्तजन र पर्यटक बढे

  • ९ मंसिर २०७८, बिहीबार
  • 673 पटक पढिएको

म्याग्दी, ८ मङ्सिर । पूर्वाधार निर्माणसँगै धवलागिरि गाउँपालिका–७ स्थित ताकमकोतमा भक्तजन र पर्यटक बढेका छन्। यहाँको प्रमुख शक्तिपीठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। पूजाआजा र अवलोकनका लागि आउने भक्तजन बढेका ताकमकोतका पुजारी हेमनाथ पौडेलले बताए ।


“दुई वर्षअघिसम्म सुनसान हुने गर्दथ्यो”, उनले भने, “अहिले दैनिकजसो भक्तजन आउँछन्।” नजिकका भक्तजन सडकमार्ग भएर गाडीमार्फत र टाढाका हेलिकोप्टर चढेर आउन थालेका उनले बताए। गत हप्ता नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल हेलिकोप्टर चढेर पूजाआजाका लागि परिवारसहित ताकमकोत पुगेका थिए। जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी–देवताको मूर्ति रहेको यहाँ नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ ।

पछिल्लो समय पूजाआजा नभएको र मेला नलागेको समयमा पनि दैनिकजसो भक्तजन आइरहेका पुजारी पौडेलले बताए। ताकम र देवीस्थान हुँदै कोत परिसरमा पुग्ने दुई सडक निर्माण भएका छन्। सडकबाट कोतसम्म पुग्ने पैदलमार्ग निर्माण गरिएको छ। विसं १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोतघरका रूपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायत हातहतियार छन् ।

समुद्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा अवस्थित ताकमकोतबाट गुर्जा, धवलागिरि, निलगिरि, अन्नपूर्ण साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृष्यावलोकन गर्न सकिन्छ। स्वदेश तथा विदेशमा रहेका ताकम र आसपासका गाउँका बासिन्दाबाट चन्दा जुटाएर करिब रु ८० लाखमा दुई वर्षअघि ताकमकोतको कोतघर र अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुनःनिर्माण गरिएको थियो। सोह्रौँ शताब्दीमा निर्माण गएिको ताकमकोत विसं १९९० र २०७२ को भूकम्पका कारण जीर्ण बनेको थियो ।

ताकमकोतको एकीकृत विकास गर्ने उद्देश्यले तयार पारिएको गुरुयोजनानुसार पहिलो चरणमा कोतघर, अन्नपूर्ण–जगन्नाथ मन्दिर, सत्तल र सार्वजनिक शौचालय निर्माण गरिएको पुनःनिमाण समितिका अध्यक्ष तेजिन्द्र थापाले बताए। “रु दुई करोड ५० लाख लागत अनुमान गरिएको गुरुयोजना कार्यान्वयनका क्रममा हालसम्म रु एक करोड ५० लाखभन्दा बढी खर्च भएको छ”, उनले भने, “धवलागिरि गाउँपालिका र पर्यटन मन्त्रालयले पनि लगानी गरेका छन् ।”

पुरातत्व विभागले गत वर्ष विनियोजन गरेको रु ५० लाखबाट ठेक्कामार्फत सुरु गरेको अर्को मन्दिर निर्माण भने अलपत्र परेको छ। तामाले छाउने डिजाइन भएको मन्दिरमा जस्तापाता राखेकाले स्थानीयवासीले विरोध गरेपछि काम छाडेका निर्माण व्यवसायी अधकल्चो मन्दिर छाडेर सम्पर्कविहीन बनेका वडासदस्य देवेन्द्र थापाले बताए ।