डेमोक्रेसीको सुन्दरता : यसरी बने २६ बर्षमा २५ सरकार

  • २३ जेष्ठ २०७४, मंगलवार
  • 2003 पटक पढिएको

जेठ २३ – देशका धेरै जसो नेता डेमोक्रेसी अर्थात प्रजातन्त्रको सुन्दरतामाथि बहस गर्न रुचाउँछन् । तर, प्रजातन्त्रले विकास र समृद्धि कति दियो ? यो विषयमा चाहीँ कम बहस गर्न चाहन्छन् ।

आज देशले ४०औँ प्रधानमन्त्री पाउँदैछ ।

हाम्रो प्रजातन्त्रको अर्को सुन्दरता छ–देशले ०४६ को जनआन्दोलनपछि दुई जर्दन भन्दा बढी सरकार पायो । कैयौ नेता पटक–पटक प्रधानमन्त्री र मन्त्री हुने मौका पाए । भ्रष्टचारको सूचकांक उकालो लागेको लागै छ । तर, पनि हामी यही प्रजातन्त्रको सुन्दरताको ब्याख्या गरिरहेका छौँ ।

तथ्याङ्क हेर्दा लाग्छ प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्मको हाम्रो राजनीतिक अभ्यास सरकार गठन र विघटनका लागि बनेको हो । संसद्मा बहुमतप्राप्त दलको नेता प्रधानमन्त्री चुन्ने व्यवस्था अगालेको पछिल्ला २६ वर्षमा देशले २५ वटा वटा सरकार पाएको छ । सुन्दरता कस्तोसम्म भयो भने–एउटा प्रधानमन्त्री छान्न संसद्मा १८ पटकसम्म चुनाव भयो । ०४६ को जनआन्दोलनपछि सरकार गठनका अपनाइएको संसदीय खेल रोचक छन् ।

गणतन्त्रपछि पनि संसदीय खेलबाट मुक्त हुन सकेनौँ । तर, यो इतिहासमा कसैले पाँच बर्ष सरकार चलाउन पाएनन् । देशमा प्रधानमन्त्री चयन हुँदा होटलमा सांसदलाई जम्मा गरेर ब्लू फिल्म देखाएको चर्चा चल्यो । विपक्षमा भोट दिने आशंकामा सांसद्लाई विदेश घुम्न पठाइयो । पैसा भरिएका सुटकेस बोकेर नेताहरू सांसद किन्न हिँडे । दलहरू पटक–पटक विभाजित भए ।

अबस्था कस्तो सम्म भयो भने ८ सिट भएका लोकन्द्रबहादुर चन्द ८८ सिट भएको एमालेको समर्थनमा प्रधानमन्त्री भएका थिए । । ११ सिट भएका सूर्यबहादुर थापा थापा ८३ सिट भएको कांग्रेस समर्थनमा प्रधानमन्त्री भएका थिए । तर, दुर्भाग्य, यसलाई पनि हामीले प्रजातन्त्रको अभ्यास र सुन्दरताको रुपमा हेर्यौँ ।

प्रजातन्त्रको सुन्दरता हेर्दा हेर्दै ज्ञानेन्द्र शाह आफै सत्ता चलाउन अगाडि आए । लडेर गणतन्त्र आयो । तर, दलहरू चेतेनन् । पहिलो संविधानसभामा तत्कालीन तेस्रो दल एमालेले दुई÷दुईवटा प्रधानमन्त्री पायो, पहिलो र दोस्रो दल पालैपालो प्रतिपक्षमा बसे । पहिलो संविधानसभामा माओवादीले दुई पटक प्रधानमन्त्री पायो ।

दोस्रो संविधानसभापछि पहिलो दल काँग्रेस र दोस्रो दल एमाले मिलेर सरकार बन्यो । दोस्रो दलले प्रतिपक्षमा बस्न मानेन । संविधान बनेपछि काँग्रेसले धोका दिएको भन्दै एमालेले माओवादीको समर्थनमा आफ्ना नेता केपी ओलीलाई प्रधानमन्त्री बनायो । ठूलो दल काँग्रेस विपक्षीमा बस्यो । फेरि एमाले–माओवादी गठबन्धन भत्कियो । काँग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भए । ८२ सिट रहेको माओवादीले २०७ सिट भएको काँग्रेसको समर्थनमा प्रधानमन्त्री पायो ।

अहिले आलोपालो सत्ता साझेदारी अनुसार माओवादीको सर्मथनमा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदैछन् । लोकतन्त्रमाथि रमाइलो गर्ने काँग्रेस यसलाई प्रजातन्त्रको सुन्दरता ठान्नेछ । संसदीय राजनीतिका एक खेलाडी बनिसकेका प्रचण्ड पनि त्यहीँ अर्थमा बुझ्नेछन् ।

यस्ता छन् पछिल्लो २६ बर्षमा सरकार गठन–विघटनका खेल (तलका तस्विर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको बैठक कक्षमा झुण्डिाइएको छ)

१ : कृष्णप्रसाद भट्टराई, १३ महिना
२०४६ सालको जनआन्दोलनपछि काँग्रेस नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार बन्यो । २०४८ को संसदको चुनावसम्म यो सरकार रह्यो । १३ महिनापछि भट्टराई सरकारका ठाँउमा निर्वाचित संसदबाट नयाँ प्रधानमन्त्री चयन भएका थिए ।

२ : गिरिजाप्रसाद कोइराला २ बर्ष २ महिना
०४६ को परिवर्तनपछि ०४८ मा भएको पहिलो आम निर्वाचनमा २०५ सिटमा ११० जितेको काँग्रेससँग स्पष्ट बहुत थियो । तीन स्वतन्त्रलाई प्रवेश गराएर तथा एक उप निर्वाचन जितेर थप बलियो बनेको काँग्रेसका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नीति तथा कार्यक्रम आफ्नै सांसदले भोट नदिएपछि संसदमा फेल भयो । २६ असार ०५१ मा सरकार ढल्यो र मध्यावधी चुनाव घोषणा भयो ।

३ : मनमोहन अधिकारी ९ महिना
मध्यावधी चुनावमा २०५ मा ८८ सिट जितेको एमालले संसदको सवैभन्दा ठूलो दलको रुपमा ०५१ मंसिरमा अल्पमतको सरकार बनायो । तर, ८३ सिछ पाएको काँग्रेसको नेतृत्वमा दर्ता भएको अविश्वासको प्रस्ताव राप्रपा र सद्भावनाले समर्थन गरेपछि पास भयो । २५ भदौ २०५२ मा मनमोहन अधिकारी नेतृत्वको सरकार ढल्यो ।

४ : शेरबहादुर देउवा १ बर्ष ६ महिना
राप्रपा, सद्भावना र स्वतन्त्रको समर्थनमा प्रधानमन्त्री बनेका कांग्रेस नेता शेरबहादुर देउवाविरुद्ध दर्ता गरेको प्रस्ताव पारित गराउन एमालेलाई हम्मेहम्मे परेको थियो तर कांग्रेसका भक्तबहादुर बलायर र अर्जुनजंगबहादुर शाहले नाटकीय रूपमा एमाले प्रस्तावलाई साथ दिएपछि ०५३ फागुननमा देउवा सरकार ढल्यो । उनीहरूलाई गिरिजाप्रसादको आशीर्वादमा स’शील कोइरालाको साथ थियो भन्ने अहिले पनि विश्वास गरिन्छ ।

५ : लोकेन्द्र बहादुर चन्द ७ महिना
राप्रपाको साथ लिएर कांग्रेसले एमालेको सरकार ढालेको थियो तर राप्रपाकै नेतालाई प्रधानमन्त्री बनाएर सरकारमा जान एमाले तयार भयो । जम्मा १९ सिट ल्याएको राप्रपाको पनि ८ सिटको प्रतिनिधित्व गर्ने लोकेन्द्रबहादुर चन्दलाई ०५३ फागुनमा एमालेले प्रधानमन्त्री बनायो । वामदेव गौतम उपप्रधानमन्त्री भए । तर, कांग्रेसले राप्रपाकै थापा समुहको साथ लिएर ०५४ असोजमा सरकार ढालिदियो ।

६ : सूर्यबहादुर थापा ६ महिना
सूर्यबहादुर थापासँग राप्रपाका जम्मा ११ सांसद थिए । तर कांग्रेस, सद्भावना र स्वतन्त्र गरी १०७७ पु¥याएर थापाले सरकार बनाए । तर, प्रमुख सहयोगी कांग्रेसले नै असहयोग गरेपछि थापाले ०५४ चैतमा राजीनामा दिए । यसरी ८८ सिट जित्ने एमालेले ८ सिटका चन्दलाई र ८३ सिट जित्ने कांग्रेसले ११ सिटका थापालाई पालैपालो प्रधानमन्त्री बनाए ।

७ : गिरिजाप्रसाद कोइराला ९ महिना
थापासँग समर्थन फिर्ता लिएर कांग्रेसका गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्न चाहन्थे . उनीसँग स्पष्ट बहुमत थिए । तर, त्यतिन्जेलसम्म एमाले फुटिसकेको थियो । वामदेव गौतम नेतृत्वको नेकपा मालेको समर्थनमा राधाकृष्ण मैनाली सरकारमा गए र ३० चैत ०५४ मा कोइराला प्रधानमन्त्री भए । तर, वामदेवको पार्टीसँग गिरिजाप्रसादको सहमति लामो समय टिकेन । ७ पुस ०५५ मा माले बाहिरिएपछि सरकार ढल्यो ।

८ : गिरिजाप्रसाद कोइराला ५ महिना
वामदेव गौतम नेतृत्वको नेकपा मालेले समर्थन फिर्ता लियो । तर, माधव नेपाल नेतृत्वको नेकपा एमालेले समर्थन दिन तत्काल तयार भयो । राजीनामा दिएको २४ घन्टाभित्रै ८ पुस ०५५ मा गिरिजाप्रसाद कोइराला फेरि प्रधानमन्त्री भए । र, उनले कांग्रेसलाई बहुमत दिलाउने र कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउने प्रतिबद्धताका साथ चुनाव घोषणा गरे ।

९ : कृष्णप्रसाद भट्राई १० महिना
कांग्रेसले फेरि १११ सिटका साथ स्पष्ट बहुमत पायो । र, कांग्रेसभित्रकै पूर्वसहमतिअनुसार भट्टराई १३ जेठ ०५६ मा प्रधानमन्त्री भए । तर, कोइरालाले एक वर्ष पनि धैर्य गर्न सकेनन् ‘फ्रान्स भ्रमण गरेपछि राजीनामा दिन्छ’ भन्दा पनि भट्टराईलाई समय दिएनन् । र, रेडियो नेपालबाट पाँच मिनेटको भावुक भाषण गरेर ६ चैत ०५६ मा भट्टराईले राजीनामा दिए ।

१० : गिरिजाप्रसाद कोइराला १५ महिना
भट्टराईलाई राजीनामा गर्न लगाएर ७ चैत ०५६ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । तर, उनलाई विपक्षी भन्दा पनि पार्टीभित्रै असहयोग थियो । त्यसमाथि रोल्पाको होलेरीमा माओवादीले आक्रमण गरेपछि कोइरालाले सेना परिचालन गर्न खोजेका थिए । दरबारले रोकेपछि गिरिजाप्रसादले राजीनामा दिए ।

११ : शेरबहादुर देउवा १४ महिना
गिरिजाप्रसादको राजीनामालगत्तै कांग्रेसकै देउवा ०५८ साउनमा प्रधानमन्त्री भए । उनलाई कांग्रेसभित्रैबाट ठूलो समस्या थियो । माओवादीविरुद्ध लगाएको संकटकाल संसद्बाटै पारित गराउन पहिलो ६ महिना एमालेले पनि समर्थन गरेको थियो । तर, दोस्रोपटक ६ महिना म्याद थप्दा एमालेले मात्र होइन कांग्रेसले पनि समर्थन गरेन । प्रस्ताव विफल भएपछि देउवाले कांग्रेस प्रजातान्त्रिकका नाममा दल खोलेर नयाँ चुनाव घोषणा गरे । तर, घोषित चुनाव माओवादीका कारण हुन नसक्ने भनेपछि राजा ज्ञानेन्द्रले १८ असोज ०५९ मा उनलाई पदच्यूतत गरे ।

१२ : लोकेन्द्रबहादुर चन्द ८ महिना
राजा ज्ञानेन्द्रले देउवालाई ‘अक्षम’ भन्दै लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाए । माओवादीसँग वार्ता गर्न उनलाई खटाए । तर, संविधानसभा चुनाव मागेको माओवादीको एजेन्डालाई समर्थन गर्ने अधिकार चन्दसँग थिएन । शान्ति र वार्तामा प्रगति गर्न नसकेको भनेर ०६० जेठमा उनलाई हटाइयो ।

१३ : सूर्यबहादुर थापा १२ महिना
माओवादीसँगग वार्ताको जिम्मा राजाले सूर्यबहादुरलाई दिएका थिए । तर, यसपालि चन्दको पाला भन्दा अघि प्रगति हुन सकेन । आफुले बनाएका दुवै सरकार असफल भएपछि राजाले थापालाई हटाएर प्रधानमन्त्री पदका लागि ०६१ जेठमा खुला आह्वान गरे ।

१४ : शेरबहादुर देउवा ७ महिना
प्रधानमन्त्रीका लागि एमालेका तत्कालीन महासचिव माधव नेपालदेखि लक्ष्मणसिंह खड्कासमेतले दरबारमा आवेदन दिए । तर, राजाले आवेदन नै नगरेका कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए । गिरिजाप्रसाद कोइरालाको कांग्रेस सरकारमा गएन तर एमाले गयो । २९ जेठ २०६१ मा ज्ञानेन्द्रबाट प्रधानमन्त्री भएका देउवालाई८ महिनापछि १९ माघ २०६१ मा ज्ञानेन्द्रले नै हटाए र आफै सत्ताको कमान्ड लिए ।

१५ : ज्ञानेन्द्र शाह १४ महिना
शान्ति स्थापना गर्न नसकेको भनेर ज्ञानेन्द्रले देउवालाई दोस्रोपटक बर्खास्त गरे । र, आफै मन्त्रिपरिषद्को अध्यक्ष भए । उनले पूर्वप्रधानमन्त्रीहरू कीर्तिनिधि विष्ट र डा. तुलसी गिरीलाई उपाध्यक्ष बनाएर दलहरूलाई पूर्ण रुपमा बाहिर राखे । तर, मूलधारका राजनीतिक दल र विद्रोही माओवादीले दिल्लीमा १२ बुदे सम्झौता गरेपछि नेपालमा आन्दोलन भयो । र, ज्ञानेन्द्रको मन्त्रिपरिषद्सँगै २४० वर्ष लामो राजसंस्थाको अन्त्य भयो ।

१६ : गिरिजाप्रसाद कोइराला २ बर्ष ५ महिना
०६२÷६३ को जनआन्दोलन सफल भएपछि गिरिजाप्रसाद कोइराला फेरि प्रधानमन्त्री भए । उनले पहिले दरबारमै गएर राजासँग र पछि पुनस्र्थापित संसद्का अगाडि सिंहदरबारमा शपथ खाए । उनको नेतृत्वमा माओवादी पनि सरकारमा सहभागी भयो । ०६४ चैतको चुनावमा पराजयपछि ०६५ भदौमा उनले सरकार छाडे ।

१७ : प्रचण्ड ९ महिना
संविधानसभाको पहिलो निर्वाचनपछि सबैभन्दा ठूलो दल तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डले एमाले र मधेसीहरूको समर्थनमा सरकार बनाए । तर, प्रधानसेनापतिलाई बर्खास्त गर्ने सरकारको निर्णय राष्ट्रपतिले खारेज गरिदिएपछि प्रचण्डले राजीनामा दिए ।

१८ : माधवकुमार नेपाल २१ महिना
प्रचण्डको राजीनामालगत्तै कांग्रेसलगायतका दलहरूको समर्थनमा तेस्रो दल एमाले नेता माधव नेपाल प्रधानमन्त्री भए । विपक्षी माओवादीको लगातार असहयोग र आन्दोलनपछि उनले एक वर्षपछि राजीनामा दिए । तर, असारदेखि माघसम्म नयाँ प्रधानमन्त्री बनाउन संसद्मा १७ पटक चुनाव भयो । तर, एमालेले ‘नो भोट’ मान्यता राखेपछि देशले सात महिनासम्म कामचलाउ सरकारमै चित्त बुझाउनुप¥यो ।

१९ :  झलनाथ खनाल ७ महिना
माओवादी र एमालेबीच आलो–पालो प्रणालीअन्तर्गत ६/६ महिना सरकार चलाउने सहमति भएपछि २०६७ माघमा झलनाथ खनाल प्रधानमन्त्री भए । तर, खनाललाई एमालेकै माधव नेपाल र ओली समूहले लगातार असहयोग ग¥यो । सरकारबाट फिर्ता आउन ओली र माधव नेपालले बैठकमा मात्र होइन सार्वजनिक रूपमा पटकपटक चेतावनी दिएपछि खनालले ०६८ भदौमा राजीनामा दिए । कांग्रेस र माओवादीको विवादबीच तेस्रो दल एमालेले दुई–दुईपटक प्रधानमन्त्री पद पायो ।

२० : बाबुराम भट्टराई १८ महिना
मधेसीको समर्थनमा एमाओवादी नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री भए । तर, उनलाई पार्टीभित्रकै वैद्य समूहले सार्वजनिक रूपमै असहयोग ग¥यो । दलहरूबीच संघीयतालगायत संविधानका मूलभूत विषयमा सहमति हून नसकेपछि १५ जेठ ०६५ मा संविधानसभा विघटन भयो । प्रधानमन्त्री भट्टराईले ७ मंसिरका लागि चुनाव आह्वान गरे । तर, चुनाव हुन सकेन ।

२१ : खिलराज रेग्मी ११ महिना
कुनै दलले अरू दलको नेतृत्व स्वीकार गर्न नसक्ने अवस्था भएपछि प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा पूर्वकर्मचारीहरू मन्त्री रहेको चुनावी सरकार बन्यो । ०६९ फागुनमा बनेको सरकारले ७ मंसिर ०७० मा निर्वाचन गरेर २६ माघ ०७० मा बिदा लियो ।

२२ : सुशील कोइराला २३ महिना
संविधानसभाको दोस्रो निर्वाचनपछि सबैभन्दा ठूलो दल कांग्रेस सभापति सुशील कोइराला एमालेको समर्थनमा प्रधानमन्त्री बने । ०७२ असोज ३ मा संविधान जारी भयो । लगत्तै उनको ठाँउमा नयाँ प्रधानमन्त्रीका रुपमा ओली आए ।

२३ : केपी ओली ९ महिना
संविधान जारी भएपछि माओवादीको समर्थनमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भए, ०७२ असोज २४ मा । तर, उनले भद्र सहमति कार्यन्वयन गरेको भन्दै माओवादीले समर्थन फिर्ता लियो र संसदमा अविश्वासको प्रस्ताव दर्ता गरायो । ०७३ साउन ९ मा उनले राजीनामा गरे । ओलीको कार्यकाल झन्डै १० महिना रह्यो ।

२४– प्रचण्ड, १० महिना
ओली सरकार ढलेपछि काँग्रेस–माअ‍ोवादी गठबन्धनमा प्रचण्ड नेतृत्वको सरकार बन्यो, १९ साउन २०७३ मा । १० महिनाको आफ्नो कार्यकालपछि प्रचण्डले ०७४ जेठ ९ मा राजीनामा गरे । काँग्रेस–माअ‍ोवादी गठबन्धन हुँदा नै आलोपालो सरकारको नेतृत्व गर्ने भन्ने थियो । स्थानीय तहको चुनावपछि प्रचण्डले काँग्रेस सभापति देउवालाई सत्ता छाड्ने सहमति थियो । त्यहीँ अनुसार बैशाख ३१ को पहिलो चरणको चुनावपछि प्रचण्डले राजीनामा गरेका थिए ।

२५–शेरबहादुर देउवा
काँग्रेस सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री हुादेछन् । माओदीसहित राप्रपा, संघीय समाजवादी फोरम, राजपालगायतका दलहरुको समर्थनमा देउवा प्रधानमन्त्री बन्दैछन् । संविधान अनुसार माघ ७ भित्र चुनाव भए देउवाको कार्यकाल करिव ९ महिनाको हुनेछ ।

विकल्प के ?
संसदमा हुने अंकगणित र नेताहरुको महत्वकांक्षाले पटक पटक सरकार बदलिएका छन् । यस्तो ठाँउमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चयनको संवैधानिक व्यवस्थाले पटक–पटक सरकार फेरिने रोगबाट बच्न सकिन्छ । तर, संविधान बनाउने बेला यो विषयमा सहमति जुटेन । संविधानसभाबाट बनेको संविधानले पनि संसदबाट प्रधानमन्त्री चयन गर्ने विकल्प समात्यो । जसको मार अहिले पनि देशले भोगिरहेको छ ।

source; ratopati