रघुगंगा ‘ऊर्जा खोला’को रुपमा रुपान्तरण हुँदै, ५ जलविद्युत आयोजना निर्माणको चरणमा

  • २५ पुष २०७७, शनिबार
  • कमल खत्री
  • 2211 पटक पढिएको

कमल खत्री
बेनी २५ पुस । धौलागिरि हिमालको फेदीमा मुहान रहेको रघुगंगा नदी ‘ऊर्जा खोला’को रुपमा विकास हुन थालेको छ । हिमालको फेदीमा मुख्य मुहान रहेको रघुगंगा र यसमा मिसिन आउने अन्य सहायक खोलाहरुबाट करिब १५० मेगावाट क्षमताको विद्युत उत्पादन लक्ष्य सहित अहिले ५ वटा जलविद्युत आयोजनाहरुले विद्युत उत्पादनको लागि निर्माणको चरणमा प्रवेश गरेका छन भने केहि आयोजनाहरु अध्ययनको क्रममा समेत रहेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भबहादुर भण्डारीले बताउनुभयो ।


‘‘रघुगंगामा मात्रै चार आयोजनाले काम थालेका छन्, रघुगंगाकै सहायक नदि चिमखोलाको बगरखोलामा समेत विद्युत निकाल्नका लागि पूर्वाधार निर्माणको सुरुवात गर्ने जानकारी आएको छ, सबै आयोजनाहरुको निर्माण सम्पन्न गर्ने हो भने, रघुगंगा नदी सुरुङबाटै बग्ने निश्चित छ’’–उहाँले भन्नुभयो । चिमखोलाको बगरखोलामा ५.५ मेगावाट क्षमताको विद्युत उत्पादनका लागि मोना हाइड्रोवर लिमिटेडले विद्युत खरिद विक्रि सम्झौताको चरणमा पु¥याएको छ । रघुगंगाको सबैभन्दा माथिल्लो भागमा समेत विद्युत निकाल्नका लागि अध्ययन भैरहेको छ । त्यसदेखि तल रघुगंगा–७ र ८ को सिमा क्षेत्रमा पर्ने फेदीबाट कालीगण्डकी नदिमा नमिसिँदा सम्मका अधिकाँश सम्भाब्य क्षेत्रमा अध्ययन सहित विद्युत उत्पादनका लागि आयोजनाहरु निमार्ण कार्यमा जुटेका छन् ।

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माणधिन यस नदिनमा २१.३ मेगावाट क्षमताको ठूलोखोला, ३५. ५ मेगाघाट क्षमताको राहुघाट मंगलेले समेत निर्माण कार्य सुरु गरेका छन भने ४८ मेगावाटको अपर राहुघाट जलविद्यूतको समेत ठेक्का लगाएर निर्माण कार्य प्रारम्भ गर्ने तयारी गरिएको छ । रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा संयुक्त ऊर्जा प्रा.लि.ले निर्माण गर्न लागेकोे २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनामा निर्माण पूर्वका कार्यहरुलाई अघि बढाएको छ । आयोजनाको डिजाइन तयार पार्ने काम भैरहेको र आधारभुत पूर्वाधार निर्माणको तयारीमा जुटेको आयोजनाका व्यवस्थापक अनुरोध अधिकारीले जानकारी दिनुभयो ।

‘‘ पहुँचमार्ग र आवास गृह निर्माणका कामले तिब्रता पाएको छ, आयोजनाको लागि आबश्यक नीजि जग्गा प्राप्तीको काम समेत भैरहेको छ, आधारभुत तहका पूर्वाधार निर्माण गरि ठेकेदार कम्पनीलाई परिचालन गर्ने तयारी छ’’– व्यवस्थापक अधिकारीले भन्नुभयो । रघुगंगा नदि स्थित फेदीखोलामा मुहान रहने यस आयोजनामा ३ हजार ३७७ मिटर लामो सुरुङमार्गबाट ल्याईएको पानीलाई छरी स्थित रघुगंगा नदिको किनारमा रहने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिनेछ । आयोजनाले बन्दिघाटसम्म पुगेको सडकको ट्याकलाई छरी हुँदै अगाडी बढाइसकेको छ । यस आयोजनामा करिब ९ किलोमिटर पहुँचमार्ग निर्माण गर्नुपर्ने जनाइएको छ ।

३ बर्षभित्रमा विद्युत उत्पादन गर्ने लक्ष्य सहित निर्माण कार्यमा जुटेको यस आयोजना सम्पन्न गर्न करिब ३ अर्ब ६० करोड लागत अनुमान गरिएको आयोजनाका आवासीय इन्जिनियर पवित्रमान बोहोराले जानकारी दिनुभयो । विद्युतगृह, अडिट, आवास लगायतको लागि ३४ रोपनी जग्गा प्राप्ती भैसकेको र बाँकी रहेको जग्गा प्राप्तीको काम अघि बढाईएको छ । यस आयोजनाको आउटलेटबाट निस्कने पानीलाई समेत प्रयोग गरि पुनः जलविद्युत निकाल्नका लागि अपर ठुलोखोला जलविद्युतको समेत अध्ययन भैरहेको छ ।

रघुगंगा नदिको चिमखोलामा तुँदी पावर कम्पनीले ३५.५ मेगाघाट क्षमताको राहुघाट मंगले जलविद्युत आयोजनाको पूर्वाधार निर्माण सुरु गरेको छ । हालै आयोजनाको बाँधस्थल बन्दीघाँटीमा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बाँधतर्फको पूर्वाधार निर्माणको शुभारम्भ गर्नुभएको यस अयोजनालाई ४० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । कुल साढे ५ अर्व लागत अनुमान रहेको आयोजनाको बाँध, पावर हाउस र पेनस्टक पाईप निर्माणको रामेछाप शेर्पा कन्स्ट्रक्सन र टनेल निर्माणको साउथ एसियन इन्फ्रास्ट्रक्चरले ठेक्का लिएको छ ।

सुरुङ ठेकेदार कम्पनीले अडिट रहने घ्याँसीखर्कमा क्याम्प निर्माण गरि अडिट टनेलको तयारी गरेको छ । बाँधतर्फको ठेकेदार कम्पनीले बन्दीक्षेत्रमा क्याम्प र क्रसर उद्योगको पूर्वाधार निर्माण गरिरहेको छ । टुँडी पावर कम्पनीले भने चिमखोलाको सिस्नेरीमा आवासगृह (क्याम्प) निर्माणको तयारी गरेको कम्पनीका आवासिय ईन्जिनियर प्रकाश तिमल्सिनाले जानकारी दिनुभयो । बन्दिघाटको मुहानदेखि ५ किलोमिटर लामो सुरुङमार्ग हुँदै ल्याईने पानीलाई चिमखोलाको मलाङ स्थित विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिनेछे । आयोजनाले पूर्व तयारीको काम सकेर निर्माणको चरणमा प्रवेश गरेको छ । ठेकेदार कम्पनीहरु समेत कार्यक्षेत्रमा परिचालन भैसकेका छन् । आयोजनाको आउटलेट, इनलेट र अडिटको दायाँ र बायाँ तर्फ दुई ठाउँ गरि चारतर्फबाट सुरुङ निर्माण गरिनेछ । तुँदी पावर कम्पनीले नै यस आयोजनाको पावर हाउसबाट निस्केको पानी र चिमखोलाको बगरखोलाबाट आउने पानीलाई उपयोग गरि ४८ मेगावाटको अपर राहुघाट जलविद्यूत आयोजना निर्माण गर्ने भएको छ ।

विद्युत विकास विभागबाट अनुमति लिइसकेको यस आयोजनामा चिमखोलाको पुछारमा रहने बाँधबाट ल्याइने पानी दग्नामको पुछारमा रहने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गर्ने गरि तयारी भएको ईन्जिनियर तिमल्सिनाले बताउनुभयो । उहाँका अनुसार, ५ किलोमिटर लामो सुरुङमार्ग रहने यस आयोजनाको सुरुङ र विद्युतगृह निर्माणको ठेक्का हाइ हिमाल हाइड्रोपावर कन्ट्रक्सन प्रा.लिले ठेक्का लिइसकेको छ । रघुगंगा नदिमा यस अघि नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ । वडानम्बर ४ दग्नाम र वडा नम्बर ५ को सिमा क्षेत्र बुग्लमा बाँध रहने यस आयोजनाको वडा नम्बर ३ पिप्लेको तिल्केनी चौरमा विद्युतगृह रहने गरि निर्माण कार्यलाई अघि बढाईएको छ ।

राहुघाटको करिब ३० प्रतिशत पूर्वाधार निर्माण सकिएको छ । तीन वर्षअघि ठेक्का सम्झौता भएको आयोजनामा पिप्ले, अधेरीखोला र तिल्लेकीको अडिटबाट मुख्य सुरुङ खन्ने कार्यले तिब्रता पाएको रघुगंगा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिनुभयो । ५०० मिटर बढी मुख्य सुरुङ खनिसकिएको छ ।२०७२ मा पुरानो ठेक्का तोडेपछि रोकीएको राहुघाटको २०७४ मंसिर ५ गते छ अर्ब रुपैयामा सम्झौता गरेको भारतीय ठेकेदार कम्पनी जयप्रकाश एशोसियट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । भारतीय एक्जिम बैङ्कको ४४ मिलियन डलर सहुलीयत ब्याजदरको ऋणमा राहुघाट निर्माण हुन लागेको हो । आयोजनाको छ किलोमिटर २०० मिटर सुरुङ र एक किलोमिटर पेनस्टक पाइप रहने छ ।
                                                आयोजनासंगै सामुदायिक विकासका अपेक्षा
रघुगंगाको विकट क्षेत्रमा जलविद्युत आयोजनाहरुको निर्माण सुरु भएसंगै सामुदायिक विकासमा साझेदारीको अपेक्षा गरिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम हुँदै चिमखोला जोड्ने अजिङ्गर भीरमा सडक निर्माणमा स्थानीय तहलाई तुँदी पावर कम्पनीले सहकार्य गरेको छ । विगतमा संघिय, प्रदेश र स्थानीय तहको साझेदारीमा सडक निर्माण सुरु गरि अक्करे भीरमा पुगेर रोकिएको कामलाई यस बर्ष रघुगंगा गाउँपालिका र तुँदी पावर कम्पनीले सहकार्य गरेका छन् ।

गाउँपालिकाको ४, ७ र ८ नम्बर वडाको गौरवको योजनाको रु १ करोड ५० लाख बजेटबाट सडक निर्माण भैरहेको सो योजनामा कम्पनीले समेत स्थानीय तहकै हाराहारीमा लगानी गर्ने गरि काम गरिरहेको छ । गाउँपालिका र कम्पनीको सहकार्यमा अक्करे भिरमा सडक निर्माणको कामले तिब्रता पाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँले गाउँपालिकामा निर्माणधिन सबै जलविद्युत आयोजनाहरुले गाउँपालिकासंग आबश्यक समन्वय गर्न नसकेको बताउँदै गाउँपालिकाले त्यसतर्फ ध्यान दिएको बताउनुभयो । चिमखोलाका युवा मेजन थापाले गाउँमा जलविद्युत आयोजनाहरु भित्रिएसंगै विकास र रोजगार सिर्जनाको अपेक्षा गरिएको बताउनुभयो । उहाँले स्थानीयबासीसंग आयोजनाहरुले आबश्यक समन्वय गर्न नसकेको गुनासो गर्दै आयोजना र स्थानीय तहहरुले समेत आबश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

                                     दर्जनबढी जलविद्युत निर्माणधिन
म्याग्दीमा विभिन्न नदिहरुमा १ दर्जनबढी जलविद्युत आयोजना निर्माणधिन अबस्थामा रहेका छन् । दुई मेगावाट क्षमताको तातोपानी साना र पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजना निर्माण भइसकेका छन् भने नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छ । रघुगंगा नदिका निर्माणधिन चार जलविद्यूत बाहेक जिल्लामा ३८ मेगावाटको निलगिरि खोला र ६२ मेगावाट क्षमताको निलगिरिखोला क्यास्केट, १४ मेगावाटको घारखोला, २५ मेगावाटको दरवाङ म्याग्दीखोला निर्माणाधीन छन् । त्यसैगरि कालिगण्डकी, म्याग्दी र रघुगंगाका साथै सहायक नदिनहरुबाट समेत विद्युत उत्पादनको लागि पूर्वाधार निर्माणका लागि अनुमति लिएको आयोजनाहरुले समेत निर्माणको सुरसार गर्न थालेका छन् । जिल्लामा उत्पादन हुने विद्युतलाई राष्ट्रिय ग्रीडमा जोड्नका लागि दाना–खुर्कोट २२० केभी क्षमताको कालिगण्डकी करिडोर प्रसारण लाइन तयार भएको छ भने १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट सबस्टेसन र प्रसारण लाइन निर्माणको चरणमा रहेको छ ।

              समृद्द साप्ताहिकमा प्रकाशित 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l