बेनी, गोपाल दाई र सिर्जना मःम पसल

  • २८ जेष्ठ २०७७, बुधबार
  • 2381 पटक पढिएको

तारामिलन छन्त्याल

बेनी बजार म्याग्दी र कालीको सङ्गम स्थल हो । काली र म्याग्दीले सप्तरङ्गी भेष बदल्दा बेनी निकै सुन्दर देखिन्छ । बेनीलाई कहिले धौलागिरिले घुम्टो ओढाएर राख्छ त कहिले निलगिरीले  शीतलता प्रदान गर्दछ । कालीगण्डकी आफ्नै भाकामा गीत गाउँछ भने म्याग्दी खोला भाका हालेर  सुसाउँछ । बेनी बजार भने यी दुई नदीको ताण्डव हेर्नमा नै मख्छ । बेनीको सुन्दरताको शब्दमा व्याख्या गर्न सकिदैन । बेनीले थुप्रै आन्दोलन र आँधीवेहरी पचाइसकेको छ ।

बेनी सानो छ, तर सुन्दर छ । कहिले म्याग्दी र कालीको कोलाहलले बेनीलाई निकै सताइरहेको छ । कहिले काली थुनिन्छ र उठिबास लगाउँछ, बेनीलाई कहिले म्याग्दीले धार परिवर्तन गर्छ । बेनी पर्यटकीय नगरी पनि हो । नेवार कला संस्कृतिले बेनीको उचाइ बढाएको छ । बागलुङको पश्चिमी भू–भाग बुर्तिबाङ र ढोरपाटन, पर्वतको केही भू–भाग र मुक्तिनाथ जाने पर्यटकहरू पनि बेनी हुँदै जाने हुँदा यहाँ मानिसहरूको घुइँचो लाग्छ । स्थानीय तह बनेपछि भने गाउँ–गाउँमा सडक, विजुली, बाटो, शिक्षामा सुधार आइसकेपछि भने बेनीको व्यापारमा अलिकति कमी महसुस भएको छ । निकै लामो समय बेनीले यातायातको साधन देखेन । घोडा खच्चड नै ढुवानीको साधन बन्थे । बेनीको विषयमा कयौं गीत बने । बेनी बजार कालीगण्डकी “बेनीको बजार” यहाँको चर्चित गीत हो । ‘बेनी’ शब्द मगर भाषाबाट बनेको हो भन्ने केही विद्धानहरूको भनाई छ । ‘बेणी’ शब्दको मगर भाषामा भाषिक अर्थ ‘दोभान’ वा ‘सङ्गम’ भएको हुनाले बेनी बजारमा म्याग्दी र कालीको सङगम भएको हुनाले पनि यस ठाउँलाई ‘बेणी’ बाट ‘बिनी’ शब्द अपभ्रंश हुँदै ‘बेनी’ भन्न थालिएको हो ।

बेनी बजारमा दुई पाइला हिँड्दा बित्तिकै चोक आउँछ । साना गल्लीहरू बेनी बजारमा छन् । बेनीको मध्यभागमा न्युरोड छ । न्युरोड अन्य रोडहरू भन्दा अलि व्यापारिक रोड पनि हो । न्युरोडको मध्य भागमा सिर्जना मःम तथा रेष्टुरेन्ट लेखिएको बोर्ड छ । त्यहीभित्र छिर्यो भने हामीले गोपाल दाई या भाउजु लक्षु कुमारी पौडेललाई काउन्टरमा देख्न सकिन्छ । भित्र छिर्ना साथ करिव सबै टेवलहररू गेस्टहरूले भरिभराउ नै देखिन्छ । भित्र छिर्न साथ पहिलो डाइनिङ रूममा चार पाँच वटा टेवलले घेरिएको छ भने अझ सानो गल्लीबाट भित्र छिर्दा गाउँले आकारमा बनाइएको सानो खरले छाएको घर आकारको ४ र ५ वटा टाैवा छ । जहाँ ग्राहकहरूले आनन्दमय तरिकाले गफ गर्दै खाजा खाइरहेका हुन्छन् । मःम चाउमिनको मूल्य खासै महङ्गो पनि छैन । मम चाउमिनको मूल्यहरू मूल्य भन्दा पनि गुणस्तरमा विश्वास गर्दछन् गोपाल दाई । भित्र छिर्दा एक जना कर्मचारीले मःम चाउमिनको अर्डर र टेवल सर्भिस गरिरहेका हुन्छन् भने कुकहरूले छुट्टै कोठामा मःम चाउमिन पकाइरहेको हुन्छन् ।

मःम र चाउमिन यहाँको स्पेशल खाजा भएपनि थुप्पा र सेकुवा विभिन्न किसिमको अर्डर अनुसारको खाजा र खानाहरू उपलब्ध हुन्छ । मःम चिनियाँ तिब्बतीहरूको खाना हो । यसको बिस्तार  नेपालमा पनि हुन गयो र हाल यसको विस्तार विश्व बजारभरि नै फैलिएको छ । सिर्जना मःमको स्वाद एउटै किसिमको हुन्छ  । करिव दुई तीन बर्षपछि मःमको स्वाद गर्दा पनि क्वालिटीमा कुनै किसिमको फरक आउदैन् । त्यसैले सिर्जना मःमलाई मःम किङ्को उपमाले बेनीमा चिन्ने गरिन्छ । सिर्जना मःमको त्यस्तो खाले भद्दापनको बिज्ञापन पनि देखिदैन । केवल सिर्जनाको बिज्ञापन नै ग्राहक हुन एकले अर्कालाई भनेर नै यहाँको व्यापारमा बृद्धि भएको हो । म्याग्दी जिल्लामा रहेको व्यक्ति काठमाडौं पोखरा जस्ता सहरमा बसोबास गरेपनि बेनी आउँदा  सिर्जना मःम पसेकै हुन्छन् । मिक्स मःम र चाउमिन यहाँको थप विशेषता हो । ‘सिर्जना’ गोपाल दाइको छोरीको नाम हो । यसै नामलाई उनले रेष्टुरेन्टको नाम बनाए । यसै मःम चाउमिन बेचेर गोपाल दाइले छोरी सिर्जना पौडेललाई बिबिए पढाएका छन् । कान्छा छोरा सच्चिन पौडेल पिएन क्याम्पसमा ल पढिरहेका छन् भने जेठा छोरा टेकप्रसाद पौडेल जापानमा अध्ययन र जागिर गरिरहेका छन् ।

कहिलेकाहीँ यसै मःम बेचेको पैसाबाट दिन दुःखी मृगौला पीडितहरूलाई सहयोग गरिरहेका हुन्छन् । यही सानो झुपडी जस्तो रेष्टुरेन्टबाट आठ जना कर्मचारी पालिरहेका छन् । उनको रेष्टुरेन्टमा काम गर्ने कामदारहरूसँग पारिवारिक सम्बन्ध कायम राखेका छन् । उनको भान्सामा जे पाक्छ त्यही खाना गोपाल दाइहरूको परिवारले पनि त्यही खाना खाने गर्दछन् । सिर्जना मःमको व्यापारलाई न त नाकाबन्दीले असर गर्यो, न त कोरोना भाइरसले नै असर गर्यो । करिव १५ बर्ष सम्म निरन्तर सेवा दिइरहेको छ । सिर्जना मःम रेष्टुरेन्टमा स्वाद लिन देशको सामान्य मानिसदेखि विशिष्ट व्यक्तिहरूको आगमन हुने गर्दछ । गोपाल दाई होटेल व्यवसायिक समिति बेनी म्याग्दीको २०७२ सालमा अध्यक्ष समेत भएका थिए । सो समयमा उनले होटेल व्यवसाय क्षेत्रलाई बैधानिकता र बैधता बनाउनुको साथै कयौं सकारात्मक काम गरेका थिए । हाल पनि उधोग वाणिज्य सङ्घ म्याग्दीको दुई कार्यकाल सदस्य भएर व्यवसायिक हकहितमा आवाज उठाइरहेका छन् । गोपाल दाई व्यवसाय सँगै सहयोगी पनि उत्तिकै छन् र कतिपय बिषयबस्तु चित्त नबुझ्दा उनले सामाजिक सञ्जालमा पोखिरहेका हुन्छन् । मःम, चाउमिन बेचेर निरन्तर राज्यलाई कर तिरिरहेको गोपाल दाइले राज्यबाट भने केही पनि नलिएको स्वीकार्छन् । फुर्सदको समयमा काम गर्ने कामदारहरूलाई मःम चाउमिन बनाउन सघाइरहेका हुन्छन् । उनका छिमेकी युवा व्यवसायी कृष्णराज पौडेलले गोपाल दाइलाई सामाजिक अभियन्ता र इमानदार व्यवसायीको रूमा लिने गर्दछन् ।

२०२५ साल ३ महिना १८ गते मालिका गाउँपालिका वडा नं. ७ बिममा जन्मिएका हुन् । समय उमेर परिवेशसँगै मान्छेमा परिवर्तन आउनु स्वभाविक नै हो । भनिन्छ उमेरमा कवि र कम्युनिस्ट हुन्छ भनिन्छ । उनी कवि भएनन् कम्युनिस्ट   विचारधारा भने बोकिरहे । गोपाल दाइमा सानैदेखि बर्णबिभेद र वर्गसङ्र्घको गहिरो छाप पर्यो । समाजमा हुने अन्याय विभेद, छुवाछुत र हुँदा खाने हुनेखानेको टकराव समाजमा व्याप्त थियो । समाजको असमानताको अनुभव गहिरोसँग महसुस गरेका गोपाल दाईले, सामाजिक न्यायको लागि आफुलाई कम्युनिस्ट आन्दोलनमा सामेल गरे । २०४३ सालमा गोपाल दाई करिब १७ र १८ बर्षको उमेर समूहको थिए । त्यतिबेला पञ्चायतहरूको दबदबा थियो । कम्युनिस्ट विचारधारा हुनु फलाम चपाए सरह थियो । सो समयको कम्युनिस्ट आन्दोलन मुख्यतया बर्ण विभेद, पञ्चायत, निर्दल केही दलहरू एकात्मक राज्यसत्ता र राजा विरोधी आन्दोलन पनि थियो । तर केही कम्युनिस्ट विचारधारा बोकेका नेताहरू राजाको नै शिरमा बिन्ती चढाएर कम्युनिस्ट आन्दोलनमाथि नै उपहास गरिरहेका थिए । गोपाल दाइको कथा अलि रोचक छ । तत्कालिन समयको संसदीय चुनावमा मालेबाट हरि बहादुर पुनको जनपक्षीय उमेदवारी थियो । बैशाख ३१ गते चुनाव थियो, जवानीको जोसमा रहेको गोपाल दाई बिमबाट वुथ खर्च लिन बेनी आएका थिए । सोही मौका छोपी भिमप्रसादका समर्थकहरूले गोपाल पौडेललाई नियन्त्रणमा लिई कुटपिट गरि भिमप्रसाद गौचनको घरमा लगे । अब आइन्दा भिमप्रसादको बिरोध नगर्ने उर्दी जारी गर्दै, एउटा कोठामा थुनेर चाँपी लगाएर बैशाख २७ थुनेर राखिएको थियो । बेलुका गोपाल पौडेलले जुक्ति निकाले र सिरकको खोल निकालेर झ्यालमा बाँधे र त्यसै खोलको सहारामा भुइँतलामा झरेर भागे । बैशाख ३१ गते बिमको मतदान केन्द्रबाट ३१ गते मतदान गरे । मतदानको सुरक्षार्थ सोही दिन बेनी बजारतर्फ झरिरहेको थिए तर कथाले अर्कै मोड लियो । जव उनीहरू सिगा पुगेका थिए । भिमप्रसादको समर्थकहरू एकाएक वेनीबाट सिगातर्फ आइरहेका थिए र उनका समर्थकहरूले मतपत्र लिएर आइरहेको माथि जाइलागे । उनीहरूकै कुटपिटबाट बिमको उनको सहकर्मी हिरा पुनको ज्यान गयो । गोपाल पौडेल खोलामा हाम फालेर बाँच्न सफल भए । मतपत्रहरू खोलामा बगाइयो र भिमप्रसादहरूले आफ्नो चाहनाहरु पुरा गरे । जुन कहालीलाग्दो सिगा काण्डको प्रत्यक्षदर्शी गोपाल पौडेल पनि एक थिए ।

समय बदलियो । पारिवारिक सिमारेखा, बाध्यता, जिम्मेवारी  बहन गर्नुपर्ने भयो । सोही अनुरूप गोपाल दाइले गाउँमै केही समय शिक्षण पेसा अङ्गाले । गाउँमा शिक्षाको ज्योती छरे । तर वर्गीय मुक्तिको आन्दोलनमा भने समाहित भइरहे । पार्टीको निर्देशन बमोजिम काम गरिरहे । नेपाल कम्युनिस्ट आन्दोलनको समस्या भनेको विभाजन र एकता नै हो । नेतृत्वहरू स्वार्थ मिल्दा मिलिहाल्ने नमिल्दा विभाजन हुनुले पनि नेपाली जनताहरू आजित भएका छन् । तत्कालिन मालेहरू एमालेमा समाहित भए । पार्टीमा विचार सङ्घर्ष हुनु स्वभाविक नै हो । तर देशमा ‘महाकाली सन्धि’ भयो । पार्टीमा महाकाली सन्धिको पक्ष र विपक्षमा मतदान भयो । सोही सन्धिको अल्पमत पक्षधरहरूले पार्टी विभाजन गरे । जसको नेतृत्व सिपी मैनाली र बामदेव गौतमले गरेका थिए । गोपाल दाई विभाजित पार्टीमा समाहित भए । नेकपा माले बन्यो हाल पनि नेकपा मालेको नेतृत्व सिपी मैनालीले गरिरहेका छन् । म्याग्दीबाट मालेमा समाहित हुनेहरूको सङ्ख्या ठुलो नै थियो । माले म्याग्दीमा लिड गर्ने नेताहरू निलबहादुर पुन, चन्द प्रकाश बाँनिया, खुमनाथ सुबेदी, भुपेन्द थापा, हरिकृष्ण श्रेष्ठलगयातले नेतृत्व गरिरहेका थिए । सो पार्टीमा गोपाल दाइहरूले महाकाली सन्धिको विरोध गर्दै पार्टीमा समाहित भएर समाजवादी आन्दोलनमा लागिरहे । एकातर्फ देश जनयुद्वको भुमरीमा थियो भने अर्काेतर्फ देशमा महाकाली सन्धि भएको थियो । सोही समयको बावजुद देशमा २०५६ सालको आम निर्वाचन भयो । नेकपा माले पार्टीले म्याग्दीको जल्दा बल्दा युवा नेता निल पुनलाई चुनावमा उठायो । त्यो समयमा गोपाल दाई अखिल नेपाल जनसांस्कृतिक महासङ्घ म्याग्दीका अध्यक्ष भए । निल पुनलाई जिताउन पुरै म्याग्दी घुमे गाए गीत– “गाउँ गाउँबाट उठ”, “सहिदको रगतको हो यो रातो रङ राष्ट्रघाती यो हातले नछोऊ हाम्रो झन्डा” जस्ता प्रगतिवादी गीत गाए गाउँ–गाउँको जनतालाई सचेत गराएर चुनाब प्रचार प्रसार गरिरहे । नेकपा एमालेबाट म्याग्दीमा नरदेवी पुनलाई उम्मेदवार गराएको थिए । उनको समर्थनमा एमालेको तर्फबाट पुर्वसांसद माननीय नवराज शर्माहरूले गरिरहेको थिए तर सो निर्वाचन कम्युनिस्टहरूको फुटको कारण काङ्ग्रेसको हातमा पुग्यो र नारायणसिंह पुन विजय भए । अन्ततः नेताहरूको स्वार्थ नमिल्दा फुट्ने र मिल्दा जुट्दा रहेछन् भन्ने प्रमाणित भयो । पुनः बामदेब गौतमहरू एमालमै विलिन भए । उनको जिल्ला स्थित नेताहरू भुपेन्द्र थापा, हरिकृ्ष्ण श्रेष्ठ लगायतका जिल्ला नेताहरू एकतामा समाहित भए भने निलबहादुर पुन, चन्द्रप्रकाश बाँनिया र गोपाल दाइहरूको समूह स्वतन्त्र वामपन्थी भए ।

देशमा जनयुद्व उत्कर्षमा पुग्ने अवस्थामा थियो । गोपाल दाइलाई स्वतन्त्र भईरहन मन लागेन । २०५८ र ०५९ सालतिर उनी माओवादीको कम्युनिस्ट आन्दोलनलाई सहयोग गरेपनि भुमिगत भएनन् । गाउँघरमा आउने कार्यकर्ताहरूलाई भात खुलाए । राति–राति मसाल जुलुस बाले, भित्ते लेखन लेखे, जनतालाई सचेत बनाए । गाउँघरमा माओवादीको सुराकीको पनि बिगबिगी थियो । सुराकीबाट बच्न निकै मुस्किल थियो । एकदिन उनी माओवादीलाई सघाएकै आरोपमा उनलाई पुलिसले पक्राउ गर्यो । बेनी जिप्रकामा लियो, कुटपिटको त लेखाजोखा नै भएनन् । अन्ततः ६ महिनाको तारिखमा छोडिदियो । केही समयमा बेनी आक्रमण भयो । लगत्तै माओवादी आन्दोलनले एउटा उत्कर्ष रूप लियो र १२ बुँदे सम्झौता भयो । माओवादी आन्दोलनकै भरमा २०६२÷०६३ सालको आन्दोलन ऐतिहासिक आन्दोलन भयो । जुन आन्दोलनले सदियौैदेखि जरो गाडेको एकात्मक राज्यसत्ताको अन्त्य गर्दै देश गणतन्त्र, सङ्घीयता, समानुपातिक सहभागिता, नयाँ संविधान देशले पायो । माओवादी देशकै ठूलो पार्टी भयो । पुष्पकमल दाहाल दुईपटक प्रधानमन्त्री भए, बाबुराम भट्टराई पनि एकपटक प्रधानमन्त्री भए । देशको परिस्थिति बदलिएसँगै नेताको जीवन शैलीमा परिवर्तन आयो तर जनताको अवस्था जहाँको त्यही भयो । कार्यकर्ताहरूमा निराशा पैदा भयो । पार्टीमा अन्तरसङ्घर्ष हुन थाल्यो । नेताहरू बीचमा बिचार मिल्न छाड्यो र अन्ततः मोहन बैद्यको नेतृत्वमा माओवादी पार्टी विभाजन भयो ।

पार्टी विभाजन हुँदा म्याग्दीमा मोहन बैद्य पक्षधरको सङ्ख्या ठूलो थियो । विचार आस्था नमिलेपछि पुनः गोपाल दाई मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीमा सामेल भए । कम्युनिस्ट पार्टीहरूले संगठन प्रमुख माने पनि विचारमा बहस गर्छन् । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य सत्तामा लिप्ट स्वार्थ प्रवृत्ति नभए पनि कार्यदिशामा प्रष्ट नभएपछि पार्टीभित्र विचारसङ्घर्ष देखा पर्यो । पार्टीका तत्कालीन सचिव विप्लवको नेतृत्वमा क्रान्तिकारीले विचारधारात्मक सङ्घर्ष चलाए । अन्ततः मोहन बैद्य, बादल लगायतमा देखिएको अकर्मण्यताले पार्टी फुट्यो र पार्टीभित्र रहेका देशभरका क्रान्तिकारीहरु विप्लवले चलाएको वैचारिक शिविरमा जोडिएर उनकै नेतृत्वमा नयाँ पार्टी बन्यो । भग्नावेशमा पुगेको क्रान्तिको झण्डालाई उठाए । देशभरका क्रान्तिकारी नेता कार्यकर्ता, जनता, सहिद, वेपत्ता परिवार खुशी भए । केही कार्यकर्ताहरुलाई यसले खुशी र निराशा दुवै पैदा गर्नु स्वभाविक नै थियो । त्यसको शिकार गोपाल दाई पनि भइरहे । हाल गोपाल दाई कम्युनिस्ट विचारधारा अङ्गाल्दै स्वतन्त्र वामपन्थी भइरहेका छन् । गोपाल दाईहरू लडेर, सङ्घर्ष गरेर, देशमा ठूला–ठूला परिवर्तन भए । राजतन्त्र हट्यो, स्थानीय तह बन्यो तर देशको इमान्दार सिपाहीलाई कम्युनिस्ट विचारधारा बोकेकै आधारमा पटक–पटक पुलिसले धरपकड गरिरह्यो । यो लोकतन्त्र माथिको उपहास थियो । गोपाल दाइले एमालेको झोला बोके, मालेको झोला बोके, माओवादीको झोला बोके, बैद्यको झोला बोके तर उनको पीडा सुन्ने कोही भएनन् ।

लेखमा उल्लेख गरिएका बिचार  लेखकका निजी धारणा हुन ।