लगडाउनले नछोएको गाउँ : कृषि खेतीमा ब्यस्त

  • २ जेष्ठ २०७७, शुक्रबार
  • 2205 पटक पढिएको

 

म्याग्दी, २ जेठ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चैत ११ गेतेदखि जारी लकडाउनका कारण गाउँमा फर्कीएकाहरु कृषि कार्यमा संलग्न छन् । फुर्सदीलो समयमा सहरबाट गएकाहरु खेति किसानी र विकासको काममा संलग्न भएका छन् । सामाजिक दुरि कायम गरेर खेतिबाली भित्र्याउने र बर्खेबाली लगाउने काममा कृषकहरु व्यस्त छन् ।

पहाडी क्षेत्रमा हिउदे गहुँ, जौ, उवा, केराउ, तोरी भित्र्याउने तथा मकै, सिमि, भटमास बाली लगाउने चटारो छ । अर्म पर्म गरेर कृषि कार्यलाई निरन्तरता दिएका छन् । लकडाउनले आवत जावत बन्द भएपनि कृषकहरुको दैनिकिमा परिवर्तन आएको छैन् । कतिपयले लकडाउनको सदुपयोग गरेर बर्षौदेखि बाँझिएका खेतबारीमा फलफुलका बिरुवा लगाउने तयारी समेत गरेका छन् ।


कोरोनाको त्रास र बन्दाबन्दीको समयमा गाउँको बसाई शान्त र सुरक्षित बनेको छ । गाउँमा उत्पादन बढाउने अवसर पनि देखिएको छ । अर्कोतर्फ ब्यवसायिक तरकारी खेति र पशुपालन गर्ने कृषकहरु भने बन्दाबन्दीका कारण समस्यामा परेका छन् ।

पशुपंक्षिपालक कृषकहरुलाई दानाको अभावका साथै दूध, चिज, कुखुरा, अण्डा र बंगुर बिक्री नहुँदा चिन्ता थपिएको छ । लकडाउनका कारण बजारका होटल हरु बन्द भएपछि बंगुरका लागि दानाको अभाव भएको छ ।

गाईभैसी पालेका कृषकहरुले गाईभैसीको दूध दुहेर गाईभैसीलाईनै खुवाउन बाध्य छन् । कुखुरापालक कृषकहरु अण्डा र मासुको मूल्य घट्ने तथा लागत बढ्ने समस्याका कारण मर्कामा परेका छन् । ठूलो मात्रामा ब्यवसायिक तरकारि खेति गरेका कृषकहरुलाई पनि बजारकै समस्या रहेको कृषकको गुनासो छ ।

विपद्ले मानिसलाई दैनिक उपभोगका लागि आवश्यक खाद्यान्न र तरकारी आफै उत्पादन गर्नुपर्छ भन्ने पाठ सिकाएको छ । नेपालमा परम्परागत रुपमा चलिरहेको कृषि क्षेत्रको रुपान्तरणका लागि लागि बजार, बिउ, मल, प्राबिधिक सेवा विस्तारमा ध्यान दिनुपर्ने देखिन्छ ।