‘मानसीक रोगः नियमित औषधी सेवनले उपचार सम्भब’

  • १७ बैशाख २०७४, आईतवार
  • 2987 पटक पढिएको

म्याग्दी, १७ बैशाख । बेनी नगरपालिका–४ की अलीमायाँ विक झण्डै एक दशक घर छाडेर हिँडीन् । आर्थिक रुपमा विपन्नताको कारण चिन्दा बढ्दै गएपछि उनी मानसीक रोगको शिकार भईन् । मनमा चिन्ता पर्ने, खाना खान मन नलाग्ने, निन्द्रा नपर्ने समस्या बढ्दै गएपछि उनी मानसीक रोगबाट ग्रसित भएकी थिइन् । तिन छोरा र एक छोरी सहितका बालबच्चा छाडेर उनी घरबाहिर मात्रै घुम्ने, घरमा नआउने गर्न थालेपछि उनका आफन्तले ती बालबालिकाहरुलाई संरक्षणको लागि अनाथलयमा राखेका थिए । महिनौँ दिनसम्म पनि घरमा नआउने, बाटोमा गित गाउँदै हिड्न थालेपछि उनी मानसिक रोगबाट पिडित भएको भन्दै आफन्तजनले समेत वास्ता गर्न छाडेका थिए ।


भाग्यबस उनी जिविकोपार्जन शिक्षा तथा विकास समाज (लिड्स)का सामाजिक परिचालकहरुको सम्पर्कमा पुगीन् । मानसीक रोगीको निशूल्क औषधी उपचार तथा संरक्षकहरुको आयआर्जनमा सुधार ल्याउनका लागि कार्यक्रम गरिरहेको लिड्सको सम्पर्कमा आएपछि उनको स्वास्थ्य परिक्षण गरि नियमित औषधी खुवाउन थालिएको थियो ।

लिड्सको सहयोगमा मानसीक रोग बिशेषज्ञहरुसंगको मरामर्शमा निःशुल्क औषधी सेवन गर्न थालेपछि विक घरमै नियमित रुपमा बस्न थालेकी छिन् । ‘‘मेरो स्वास्थ्यमा यसरी सुधार आउला भनेर सोचेकै थिइन्, अहिले उपचार गरि नियमित रुपमा औषधी खान थालेपछि मलाई कुनै समस्या छैन, घरपरिवारसंग राम्रैसंग बसेकी छु, ’’–विकले भनिन् । लामो समयसम्म मानसीक रोगबाट पिडित भएकी विक नियमित रुपमा औषधी खान थालेपछि सामान्य अबस्थामै फर्किएकी छिन् ।

उनी अहिले माफ्नो छोराछोरी, श्रीमानसंग घरपरिवारमा नियमित रुपमा घरभित्रका काम गर्न सक्छिन् । ‘‘ कतिबेला काँही होस आउँथ्यो र आफुलाई के भयो भनेर आफै अचम्ममा पर्थे, गाउँघरमा कतिपयले बौलाही सम्म भनेर गिज्याउने गर्थे, अहिले आफ्नो स्वास्थ्यमा आएको परिवर्तनले म आफै दंग छु,’’– उनले थपिन् । मानसिक रोगको समस्याबाट ग्रसित भएकाहरु अझैपनि सडकपेटीमा भौतारिरहेका देखिन्छन् । तर विकको जिवनमा आएको परिवर्तनले  मानसीक रोगको उपचार सम्भव रहेको प्रष्ट्याउँछ् । विक मात्रै होईन पछिल्ला केही बर्ष यता म्याग्दीका धेरै मानसीक रोगका विरामीहरुको जिवनमा परिवर्तन आएको छ ।
मानसीक रोगबाट पिडित भएकाहरुको विशेषज्ञद्धारा स्वास्थ्य परिक्षण गरि नियमित रुपमा औषधी खुवाउन थालेपछि उनीहरुको स्वास्थ्यमा सुधार आएको हो । विगत ७ बर्षदेखि मानसीक रोगीको निशूल्क औषधी उपचार तथा संरक्षकहरुको आयआर्जनमा सुधार ल्याउनका लागि कार्यक्रम सञ्चालन गरिरहेको लिड्सले म्याग्दीमा करिब एक हजारको हाराहारीमा मानसीक रोगका विरामीहरुको पहिचान भएको जनाएको छ । मानसीक रोगको समयमै उपचार गरि नियमित रुपमा औषधी खाएमा निको हुने बेनी नगरपालिका–२ खबराकी शान्ति किसानको अनुभव छ ।

संरक्षक समाज म्याग्दीकी कोषाध्यक्ष समेत रहेकी किसानले आफुलाई नियमित रुपमा टाउको दुख्ने, रिंगटा लाग्ने जस्ता समस्याले पाँच बर्षदेखि सताएपनि लिड्स मार्फत विशेषज्ञ डाक्टरहरुसंग स्वास्थ्य परिक्षण, परामर्श र नियमित औषधी सेवन गरेपछि भने पहिलेको समस्या हटेको बताउँछीन् । औषधी उपचारले मानसीक रोगका विरामीहरुको जिवनमा पनि चमत्कारिक परिवर्तन ल्याईदिन सक्छ भन्ने अर्का उदाहरण हुन बागलुङ नगरपालिका–४ का हरिनारायण शर्भा । २०६३ सालमा रोजगारिको शिलसिलामा मलेसीया पुगेका शर्मा राम्रो आम्दानी  नभएपछि मानसीक रोगको शिकार भएका थिए । आफन्तको सहयोगमा स्वदेश फर्किएका शर्मा मानसीक सन्तुलन गुमाएकै कारण पटक पटक घर छाडेर हिड्ने गर्थे ।
पछि लिड्सको सम्पर्कमा आएर घरपरिवारको निगरानीमा नियमित रुपमा औषधी सेवन गरेपछि उनको स्वास्थ्यमा चमत्कारिक परिवर्तन आएको छ । ‘‘ पहिले कर्यौ पटक घर छाडेर यत्रतथ भौतारिएँ, अहिले नियमित रुपमा औषधी खाएको छु, स्वास्थ्यमा पनि कुनै समस्या छैन, एउटा हार्डवेयरमा काम गर्छु, त्यसैबाट घरखर्च चलाएको छु,’’– शर्माले भने । उनले मासिक रुपमा फलोअप र औषधीको लागि पोखरा गईरहनुपर्ने समस्याले झण्झट भएको बताउँछन् । मानसीक रोगका विरामीहरुले पटक पटक स्वास्थ्य परिक्षण गराउनुपर्ने र नियमित जसो औषधी सेवन गर्नुपर्ने भएकाले सो सम्बन्धित सेवा कम्तीमा जिल्ला अस्पतालबाटै उपलब्ध हुनुपर्ने माग समेत गर्दै आएका छन् ।

नियमित रुपमा औषधी सेवन र पारिवारीक तथा सामाजिक रुपमा उचित वातावरण सृजना गर्न सकेमा मानसीक रोगका विरामीको स्वास्थ्यमा पनि सुधार ल्याउन सकिने मानसीक रोग विशेषज्ञहरु बताउँछन् । पछिल्लो समय मानसीक रोगका विरामीहरु बढ्दो क्रममा देखिएका छन् । पारिवारीक बिचलन, आर्थिक विपन्नता, सामाजिक रुपमा उचित वातावरण तयार नहुनु लगायतको कारण मानसिक रोगका विरामीहरुको सख्ंया बढ्दै गएको देखिएको लिड्का कार्यकारी निर्देशक पदमराज श्रेष्ठले बताए । ‘‘ मानसीक रोगको समस्या जटिल बन्दै गएपछि हामीले निशुल्क हेल्थ क्याम्पहरु राख्न थाल्यौँ, संगै सामाजिक परिचालकहरु लाई गाउँगाउँमा परिचालन ग¥र्यौ, त्यसक्रममा सामान्यदेखि जटिल सम्मका मानसीक रोगबाट पिडित भएकाहरुको पहिचान गरी उपचार गर्न थालेका हौँ, सुरुदेखि नियमित रुपमा औषधी खाएकाहरुको स्वास्थ्यमा अहिले धेरै सुधार आएको छ,’’– लिड्सका कार्यकारी निर्देशक श्रेष्ठले भने ।
उनका अनुसार, म्याग्दी र बागलुङमा लिड्सको सम्पर्कमा मात्रै करिब २ हजार ३ सय मानसीक रोगका विरामी छन् । ‘‘ हाम्रा सामाजिक परिचालहरु समुदायमै पुगेर पहिचान गरेकाहरुको तथ्याङ्क मात्रै हो यो, धेरैले त अझै रोगलाई लुकाउने र कतिपयले उपचार गरेपनि निजि स्वास्थ्य संस्थाबाट औषधी खाने भएकाले बास्तविक विरामीहरुको तथ्याङ्क आएको छैन,’’– उनले थपे । लिड्सका सामाजिक परिचालक प्रतिक्षा पुर्जाले उच्च ओहोदाकै व्यक्तिहरुले अहिलेपनि मानसीक रोगलाई लुकाउने गरेको बताउँछीन् । उनले अझै पनि आफुमा रहेको स्वास्थ्य समस्याबारे शिक्षीत व्यक्तिहरु नै खुलेर कुरा गर्न नमान्ने समस्याले यस्ता समस्याहरुबारे आबश्यक जनचेतना फैलाउन आबश्यक रहेको बताउँदै विरामीहरुलाई समयमै उपचार गराउनतर्फ सबैले सहयोग गर्नुपर्ने बताइन् ।
म्याग्दी र बागलुङका मानसीक रोगका विरामीहरुको उपचारको क्षेत्रमा क्रियाशिल रहेको लिड्सले सन २००९ देखि २०१२ सम्म विरामीहरुलाई औषधी उपचार गर्दै आएको थियो भने २०१४ देखि हालसम्म विरामीका अभिभावकहरुलाई आयआर्जनको लागि समुह मार्फत सहयोग गर्दै आएको छ । आगामी जेठदेखि नै सो कार्यक्रमको समयाबधि सकिने भएकाले लिड्सले संरक्षक समाज मार्फत उनीहरुका आफन्तहरुलाई संगठीत बनाएको छ । अरुको साहारा आबश्यक पर्ने विरामी तथा अपांगता भएका व्यक्तिहरुको उपचारमा कुनै पनि अभाब सृजना नहोस भन्ने उदेश्यले संरक्षक समाज गठन गरिएको संरक्षक समाज म्याग्दीका अध्यक्ष निशा महत जिसीले बताईन् ।

उनले मानसीक रोगका विरामीहरुको उपचार सम्भव हुने भएपनि औषधी उपचार महंगो पर्ने भएकाले जिल्ला स्तरमै सर्वसुलभ तवरले स्वास्थ्य परिक्षण र औषधी उपलब्त्र गराउनुपर्ने बताउँछीन् । मानसीक रोगका विरामीहरुले अहिले स्वास्थ्य परिक्षण, फलोअप र औषधी लिनका लागि पोखरा जानुपर्ने बाध्यता रहेको छ । औषधी महंगो पर्ने र नियमित रुपमा औषधी खाईरहनुपर्ने भएकाले संरक्षक समाजले विपन्न बर्गका व्यक्तिहरुलाई पनि औषधी किन्न रकम अभाब नहोस भन्ने उदेश्यले संरक्षक कृषि सहकारी स्थापना गरि सकिएको छ भने त्यसबाट मानसीक रोगका विरामीका संरक्षकहरुलाई बचत तथा ऋणको सुविधा संगै आयआर्जनको क्षेत्रमा सहयोग पु¥याउन लागिएको जिसीले जानकारी दिईन् ।